Sunday 15th February 2026

पशुपतिनाथ मन्दिर सहित देशभरका शिवालयमा महाशिवरात्रि विधिपूर्वक मनाइँदै


महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा–आराधना तथा दर्शन गरी श्रद्धापूर्वक मनाइँदैछ। विशेष गरी पशुपतिनाथ मन्दिर क्षेत्रमा बिहानैदेखि भक्तजनको उल्लेख्य भीड लागेको छ।

पशुपति क्षेत्र विकास कोषका अनुसार बिहान ४ बजेदेखि नै मन्दिरका चारवटै ढोका खोलिएको छ। साधुसन्त तथा दर्शनार्थीको घुइँचो लागिरहेको छ भने यस वर्ष ८ लाखभन्दा बढी भक्तजनले दर्शन गर्ने अनुमानका साथ व्यवस्थापन मिलाइएको जनाइएको छ।

सुरक्षा र ट्राफिक व्यवस्थापन कडा

पशुपति क्षेत्र आसपास सवारी आवागमनमा विशेष व्यवस्थापन गरिएको छ। कोषका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र ट्राफिक प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। भीड नियन्त्रण, हराएका व्यक्तिको खोजतलास, आपत्कालीन उद्धार तथा शङ्कास्पद गतिविधि निगरानीका लागि सिसीटिभी क्यामेरा तथा मोबाइल गस्ती बढाइएको छ।

मन्दिर प्रवेशका मुख्य नाका तथा परिसर वरिपरि पैदलमार्गको व्यवस्था गरिएको छ भने आपत्कालीन सवारीका लागि छुट्टै मार्ग निर्धारण गरिएको छ। कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाष जोशीका अनुसार भक्तजनका लागि चारवटा छुट्टाछुट्टै लाइनमार्फत दर्शनको व्यवस्था मिलाइएको छ। सुरक्षा, स्वास्थ्य, सरसफाइ र ट्राफिक व्यवस्थापनमा विशेष ध्यान दिइएको जनाइएको छ।

वैकल्पिक मार्गको तयारी

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय ले दर्शनार्थीलाई सहज आवत–जावतको वातावरण मिलाउन विशेष ट्राफिक योजना लागू गरेको छ। गौशाला क्षेत्रमा अत्यधिक भिडभाड भएमा वैकल्पिक मार्ग प्रयोग गर्ने तयारी गरिएको छ।

तिनकुने–सिनामंगल, बौद्ध–गौरीघाट, पुरानो बानेश्वर–गौशाला–मित्रपार्कतर्फ आउने मालवाहक सवारीसाधनलाई निषेध गरिएको छ। बागमती करिडोर तथा जोरपाटीबाट चाबहिल हुँदै आउने सवारीका लागि गुहेश्वरीपारी पार्किङ व्यवस्था गरिएको छ। आवश्यक परेमा चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर–मैतीदेवी, सिफल चौर–जय बागेश्वरी लगायतका क्षेत्रबाट डाइभर्सन गरी वैकल्पिक मार्गबाट सञ्चालन गरिने योजना रहेको कोषले जनाएको छ।

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्र भक्तजनले भरिभराउ बनेको छ भने धार्मिक आस्था र भक्ति भावले सम्पूर्ण वातावरण ओतप्रोत बनेको छ।


सम्बन्धित शीर्षकहरु

कुवेतस्थित किराती समुदायको साझा संस्था किरात राई यायोक्खा कुवेत को अध्यक्षमा मोहन छिरिङ राई निर्विरोध निर्वाचित भएका छन्। साथै संस्थाको…

निर्वाचन आयोगले सार्वजनिक गरेको अनौपचारिक नतिजाले Bangladesh Nationalist Party (BNP) लाई सरकार गठनका लागि आवश्यक १५० भन्दा बढी सिट प्राप्त…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार भने कि इरानमा शासन परिवर्तन "हुन सक्ने सबैभन्दा राम्रो कुरा" हुनेछ, जब उनले दोस्रो विमान…

प्रतिकृयाहरू
...