पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले पनि आफूलाई दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नरोकेको बताएकी छन्।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले संविधानका विभिन्न धाराले कहींकतै दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नसक्ने नभनेको भन्दै पार्टीको सदस्यताबाट बन्चित गर्नुपर्ने कुनै कारण नभएको बताइन्।
उनले भनिन्, ‘संविधानका विभिन्न धारा मर्म र भावना कहिँकतै पनि म दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नसक्ने अवस्था छैन्। यो छर्लङग भएको विषय हो। त्यसैले मलाई पार्टीको सदस्यताबाट बञ्चीत गर्नुपर्ने कुनै कुरा छैन।’
यस्तै, उनले राजनीति व्यक्ति भएकाले राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीति दलमा आवद्ध भइ देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै आश्चर्यको विषय नभएको पनि बताइकी छन्।
उनले भनिन्, ‘वास्तवमा मेरो पार्टी सदस्यता नविकरण भइसकेकाले यसलाई विवादमा पर्नुपर्ने विषय नै होइन। म एक राजनीति व्यक्ति भएकाले राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीति दलमा आवद्ध भइ देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै आश्चर्य मान्नुपर्ने विषय होइन। यो कुनै पदमा महत्कांक्षी र आशा ममा छैन। किनकी मैले आफ्नो नाम इतिहासमा लेखिसकेको छु। मेरो उद्देश्य पार्टीका सदस्य बन्ने र पार्टीलाई सवल र सुदृढ बनाउने र देश र जनताको सेवा गर्ने हो।’
मूलुकको एक जिम्मेवार नागरिक भएको नाताले आफ्नाबारे उठेको चासो र सरोकारलाई थप स्पष्ट पार्नु दायित्व भएको पनि उनको भनाई छ।
पार्टीका कतिपय निर्णय अपरिपक्व
यस्तै उनले संवैधानिक अधिकार र स्वतन्त्रतालाई संकुचन गरेर पार्टीमा गरिएका अपरिपक्व निर्णयले दुःखी तुल्याएको बताएकी छन्।
उनले पार्टीको लोकतान्त्रिक मूल्य मान्यता समेतलाई नजर अन्दाज गरी राजनीतिमा संलग्न हुन पाउने स्वतन्त्रलाई नियन्त्रण गरिएको भन्दै यस्तो निर्णयले निराश बनाएको बताइन्।
उनले भनिन्, ‘पार्टीको लोकतान्त्रिक मूल्य मान्यता समेतलाई नजरअन्दाज गरी राजनीतिमा संलग्न हुन पाउने मेरो संवैधानिक अधिकार र स्वतन्त्रलाई संकुचन वा नियन्त्रण हुनेगरी गरिएका अपरिपक्क निर्णयले मलाई दुःखी तुल्याएको छ। यसप्रकारको निर्णयले पार्टीको सान र प्रतिष्ठालाई गिराउने छ।’
आवेग र उत्तेजनाका भरमा गरिएका यस्ता निर्णयले सत्यलाई अस्थाइ रुपमा प्रभावित तुल्याउन सकिएताप नि वास्तविकतालाई छोप्न नसक्ने पनि उनको भनाई छ।
पूर्ण पाठ
नेकपा (एमाले) मा मेरो संलग्नता र पार्टी सदस्यताको नवीकरणको विषयलाई लिएर विगत केही समयदेखि घनिभूत ढङ्गले आम सञ्चार जगतले चासो राखिरहेकोमा मेरो ध्यान गम्भीर रूपमा आकर्षित भएको छ । मुलुकको एक जिम्मेवार नागरिक भएको नाताले मेरा बारेको चासो र सरोकारलाई थप स्पष्ट पार्नु आफ्नो दायित्व ठानेको छु ।
देशको राष्ट्रपतिको भूमिकालाई सफलतापूर्वक पूरा गरी एक नागरिकको रूपमा रहँदै आएको केही महिनापछिदेखि नै आमसञ्चार माध्यम, पार्टीका नेता तथा कार्यकर्ता र सर्वसाधारणबाट मेरो भावी राजनीतिक यात्राको बारेमा चासो व्यक्त हुँदै आएको थियो । विगत एक वर्षदेखि त व्यापक रूपमै मेरा बारेमा आमसञ्चार माध्यमले सरोकार राखेको पनि सबैलाई अवगतै छ ।
राष्ट्रपतिको कार्यकाल सकिएपछि आफूले मुलुकको सामाजिक, आर्थिक र राजनीतिक विषयका साथै अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा अध्ययन तथा चिन्तन–मनन् गर्दै आएको र आफ्नो राजनीतिक यात्रालाई पार्टीमा आबद्ध भएर अगाडि बढाउने/नबढाउने भन्ने विषयमा उपयुक्त समयमा जानकारी गराउने कुरा गर्दै आएको थिएँ । जब म पार्टीमा आबद्ध बनेर नै अगाडि बढ्ने टुङ्गोमा पुगेँ, तब मैले पार्टीको सदस्यता विधिपूर्वक नवीकरण गरेँ ।
मैले यो विषय सार्वजनिक नगरिरहेकै अवस्थामा पार्टी कार्यालय, नेता, कार्यकर्ता र शुभेच्छुकको हवाला दिँदै मेरो पार्टी सदस्यता नवीकरणका बारेमा सञ्चार माध्यमले बाहिर ल्याए । अब यस्तो परिवेशमा मेरो पार्टी सदस्यता नवीकरणको विषयमा चुपचाप रहनु उपयुक्त हुँदैनथ्यो । सदस्यता नवीकरण गर्नुको औचित्य पनि नेकपा (एमाले)मा आबद्ध भएर अगाडि बढ्नु नै थियो । यसै विषयलाई मध्यनजर गर्दै मैले २०८२ साल असार १४ गते जननेता मदन भण्डारीको ७४औँ जन्मजयन्तीको अवसर पारेर आयोजित कार्यक्रममा आफूले नेकपा (एमाले)को सदस्यता नवीकरण गरेको सार्वजनिक गरीकन पार्टी परिवारको सदस्य भएर राजनीतिमा क्रियाशील हुने सङ्कल्प गरेको कुरा सबैलाई जानकारी गराएको थिएँ ।
हालैका दिनमा नेकपा (एमाले)को केन्द्रीय कमिटीसहितका उपल्ला संरचनामा मेरो पार्टी सदस्यता नवीकरणको विषयमा छलफल भएको कुरा सञ्चार माध्यमका समाचार, पार्टीका नेता तथा कार्यकर्ताका अन्तरवार्ता र सामाजिक सञ्जालबाट थाहा पाएँ । मेरो पार्टी सदस्यताको विषयमा पार्टी केन्द्रीय कमिटीको बैठकको अघिल्लो दिन नेकपा (एमाले)को केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र मेरा बीचमा सौहार्दपूर्ण वातावरणमा छलफल समेत भएको थियो । त्यसो त यसभन्दा पहिले पनि पार्टी सदस्यता नवीकरण र पार्टीमा मेरो जिम्मेवारीको विषयमा पार्टीका नेताहरूसँग पटक पटक कुरा हुँदैआएको थियो । मैले पार्टी अध्यक्षसँगको पछिल्लो भेटमा आफूले विधिसम्मत ढङ्गले पार्टी सदस्यता नवीकरण गरेको र यसकै आधारमा पार्टीमा आवद्ध भएर कार्य गर्ने विषयमा समेत छलफल गरेको थिएँ । यसको भोलिपल्ट पार्टी केन्द्रीय कमिटीले मेरो सदस्यता नवीकरण नगरेको कुरा पार्टीले गरेका निर्णयहरूबारे जारी गरेको विज्ञप्तीबाट थाहा पाएँ । वास्तवमा मेरो पार्टी सदस्यता नवीकरण भैसकेकाले यसलाई विवादमा पार्नुपर्ने विषय नै होइन ।
म एक राजनीतिक व्यक्ति भएकाले नै राष्ट्रपति निर्वाचित भएको र राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीतिक दलमा आबद्ध बनी देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै अनौठो र आश्चर्य मान्नुपर्ने विषय होइन । यो संवैधानिक अधिकार मात्र होइन, बरु म राजनीति गरेर, पार्टीको नेता भएर नै राष्ट्रपतिमा निर्वाचित भएको हुँ र आफ्नो बाँकी जीवन पनि राजनीतिमा लगाएर नै देश र जनताको सेवामा समर्पित हुने निर्णयमा पुगेको हुँ । कुनै पदप्रति लालसा, महत्वाकाङ्क्षा र आशक्ति म मा छैन । किनकी, मैले राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेकै छु । मेरो उद्देश्य भनेको पार्टीको सदस्य बन्ने, पार्टीलाई सबल, सुदृढ र एकताबद्ध बनाउने र राजनीति मार्फत देश र जनताको सेवा गर्ने नै हो । अनि मुलुक र जनतालाई समृद्ध र सुखी बनाउने अभियानलाई अगाडि बढाउने नै हो ।
नेपालको संविधानले आस्थाको अधिकार र राजनीतिक दलमा आबद्ध हुने अधिकारलाई मौलिक हकको रूपमा प्रत्याभूति गरेको छ । संविधानका विभिन्न धारा, मर्म र भावना कहिँ कतैबाट पनि म दलमा आबद्ध भएर राजनीतिमा संलग्न हुन नसक्ने अवस्था छैन । यो घाम जत्तिकै छर्लङ्ग भएको विषय हो । जनताको बहुदलीय जनवादले संवैधानिक सर्वोच्चता र विधिको शासनलाई गहिरोसँग आत्मसात गरेको सन्दर्भमा यस सिद्धान्तको प्रतिकूल हुने गरी पार्टी सदस्य हुनबाट मलाई बञ्चित गर्नुपर्ने कुनै कारण छैन ।
यस सन्दर्भमा, नेपालको संविधान, ऐन कानुन र पार्टीको लोकतान्त्रिक मूल्यमान्यता समेतलाई नजरअन्दाज गरेर राजनीतिमा संलग्न हुन पाउने मेरो संवैधानिक अधिकार र स्वतन्त्रतालाई सङ्कुचन वा नियन्त्रण हुने गरी गरिएका अपरिपक्व निर्णयले मलाई दुःखित तुल्याएको छ । यस प्रकारका निर्णयले पार्टीको साख र प्रतिष्ठालाई गिराउनेछ । आवेग र उत्तेजनाका भरमा गरिएका यस्ता निर्णयले सत्यलाई अस्थायी रूपमा भ्रमित तुल्याउन सकिएता पनि वास्तविकतालाई सधैँ छोप्न सकिँदैन । विषद् छलफल गरिकन विवेकसम्मत ढङ्गले निर्णय लिनु पर्दछ भन्ने जबजको पार्टी निर्माणसम्बन्धी अवधारणाको मर्म पनि यही हो । पार्टी निर्माणसम्बन्धी जनवादी केन्द्रीयताको वैज्ञानिक सिद्धान्त प्रतिकूल हुनेगरी गरिएको निर्णय वैध र परिपक्व हुनै सक्दैन ।
म राष्ट्रपति हुँदा नै पार्टी सदस्य भएको पैँतिस वर्ष भइसकेको थियो । अहिले पार्टी सदस्य भएको पैँतालिस वर्ष बितिसकेका छन् । त्यसैले, पार्टीप्रतिको आस्था र विचार, सिद्धान्त एवं नीतिहरूप्रति प्रतिबद्ध हुँदा हुँदै मलाई पार्टी सदस्य हुनबाट बञ्चित गर्न कदापि मिल्दैन । यो पार्टी बनाउन म लगायत हजारौँ नेता, कार्यकर्ता र सदस्यको रगत, पसिना, मिहिनेत लागेको छ । यो कुरा म यहाँ कुनै भावनामा बगेर गरिरहेको छैन । बरु हाम्रो पार्टीका असल परम्परा, मूल्य एवं आदर्शलाई आधार मानेर बहुत शान्त र गम्भीर भएर म यी कुराहरू राखिरहेको छु । यस आधारमा, जबजले अगाडि सारेको पार्टी निर्माणसम्बन्धी अवधारणाको निष्ठापूर्वक रक्षा गर्न म देशभरका सबै एमाले पङ्तिमा आग्रह गर्दछु । मेरो यो आग्रह र सङ्कल्प अन्तरआत्माको आवाज हो, आफ्नो निर्णयबाट म विचलित हुने छैन । त्यसैले, म सम्पूर्ण पार्टी पंक्तिलाई निर्धक्क, ढुक्क र दृढ भएर पार्टीका मूल्यहरूलाई आत्मसात गर्दै पार्टी निर्माणमा सक्रिय हुन समेत हार्दिक आव्हान गर्दछु ।
जननेता मदन भण्डारीद्वारा प्रतिपादित नेपाली क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज)प्रतिको नेकपा (एमाले)का नेता, कार्यकर्ता र आम सदस्य एवम् सम्पूर्ण जनसंगठनमा आबद्ध सबैको गहिरो आस्था, विश्वास र निष्ठाले नै आज हाम्रो पार्टीले यो सफलता हासिल गरेको हो । नेपाली माटोको सुवासमा विकसित भएको जबजको मार्गदर्शनमा नै एमाले निर्णायक राष्ट्रिय शक्ति बन्ने र मुलुकमा दिगो राजनीतिक स्थायित्व कायम भएर समाजवादको आधार निर्माण हुनेछ । हामी ऐतिहासिक सफलतातर्फ उन्मुख बनिरहेको यस्तो महत्वपूर्ण घडीमा पार्टीलाई वैचारिक रूपले थप सशक्त, सांगठनिक ढङ्गले अझ एकताबद्ध र सुदृढ बनाउनुपर्ने दायित्व हाम्रै हो । यसका निम्ति हामी सबैको निष्ठायुक्त र निस्वार्थ प्रयास अहिलेको आवश्यकता हो । यसो हुन सक्दा नै जननेता मदन भण्डारीको विचारलाई कार्यान्वयन गरेर देशलाई समुन्नत बनाउन सकिनेछ ।
विद्यादेवी भण्डारी
पूर्वउपाध्यक्ष, नेकपा (एमाले)