Tuesday 12th May 2026

लुम्बिनीमा चैत्र पूर्णिमा मेला पाँच दिनसम्म मनाइँदै


धार्मिक तथा सांस्कृतिक सम्पदास्थल लुम्बिनीमा चैत्र पूर्णिमा मेला पाँच दिनसम्म मनाइँदैछ ।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–३ स्थित बुद्धजन्मस्थलमा परम्परागत चैत्र पूर्णिमा महोत्सव एवं रुमिन्देइमाई मेला यही चैत २९ गते शुक्रबारदेखि सुरु भएको हो । यो मेला वैशाख २ गतेसम्म जारी रहने छ ।

बर्सेनि लाग्ने यो महोत्सव तथा मेला बुद्ध धर्मावलम्बीका लागि मात्र नभई विभिन्न धर्म एवं समुदायलाई समेत आकर्षित गर्ने एक विशेष अवसर पनि हो । यस मेलाले श्रद्धा, सांस्कृतिक विविधता र आध्यात्मिक ऊर्जाको सङ्गमका रूपमा काम गर्ने गरेको बौद्ध भिक्षु विवेकानन्द पाण्डेले बताए ।

इसापूर्व ६२३ मा लुम्बिनीस्थित बगैँचामा माता मायादेवीको कोखबाट सिद्धार्थ गौतम ९बुद्ध०को जन्म भएको विश्वास गरिन्छ । बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाणको सम्झनामा मनाइने यो विशेष दिन हो । यो अवसरमा स्थानीय हिन्दू र बौद्ध धर्मावलम्बी विशेष पूजा, ध्यान र दान–धर्मका कार्यमा समर्पित देखिन्छन् ।

मेलामा विशेष किसिमको धार्मिक तथा सांस्कृतिक नृत्य हुनुका साथै कथा सुन्ने, कडाही चढाउने र अन्य धार्मिक अनुष्ठान गर्ने गरिन्छ । मेलामा स्वास्थ्य शिविर र पिउने पानीको व्यवस्था पनि छ । बौद्ध भिक्षु धम्म सिद्धीले लुम्बिनीमा चैत्र पूर्णिमा मेलाको अनुभवलाई अत्यन्त धार्मिक, शान्त तथा प्रेरणादायक बताए ।

सो अवसरमा विशेषगरी मायादेवी मन्दिर क्षेत्रमा भक्तजनको भीड देखिन्छ । स्थानीयले यो मन्दिरलाई समयमाई वा रूमिन्देइमाई स्थानको रूपमा पुज्ने गर्छन् । “विशेष भव्यता र व्यवस्थापनका साथ अहिले पाँच दिनसम्म मनाइने यो मेला पहिला १५ दिनसम्म मनाइन्थ्यो”, पर्यटन व्यवसायी हुसेनी लोधले भने ।

अभियानकर्ता मेघनाथ आचार्यका अनुसार यो मेलाले पर्यटनमा केही सुधार ल्याएको छ । यातायात र हस्तकला बिक्रीमा वृद्धि भएको छ । वैशाख पूर्णिमाका अवसरमा लुम्बिनी विकास कोषले लाखौँ खर्च गरेर मनाउने बुद्धजयन्ती तथा लुम्बिनी महोत्सवभन्दा स्वःस्फुर्त लाग्ने यो मेलामा बढी धार्मिकता र रौनकता देखिन्छ ।

यद्यपि लुम्बिनीमा भीड व्यवस्थापन, पार्किङ समस्या, शौचालय, खानेपानीको र धुलाम्मे मेलास्थलमा परिवर्तन देखिएको छैन । तर पनि रुमिन्देइमाई र बुद्धजन्मस्थलप्रति स्थानीयको श्रद्धा र लगाव कायमै देखिन्छ । इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रमुख तथा प्रहरी निरीक्षक दीपक मगराठीका अनुसार मेलास्थलमा शान्ति सुरक्षाको प्रबन्ध पर्याप्त छ ।

लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरामुद्दीन खानले भने, “चैत्र पूर्णिमा महोत्सव लुम्बिनीको अन्तरराष्ट्रिय पहिचान बलियो बनाउने अवसरमात्र नभई धर्मिक आस्था, सांस्कृतिक ऊर्जा र पर्यटनको समुचित मिश्रण पनि हो ।” उहाँले भविष्यमा अझ प्रभावकारी व्यवस्थापन र स्मार्ट मेला प्रणाली लागू गरेर अझ सभ्य बनाउनुपर्ने आवश्यकता औँल्याए ।

“लुम्बिनीको चैत्र पूर्णिमा मेला बौद्धकालीन मानिन्छ । यो केवल धार्मिक उत्सव मात्र होइन, सांस्कृतिक विविधता, मानवताबीचको एकता र सद्भावको प्रतीक पनि हो । यसले न केवल स्थानीय समुदायलाई एकत्रित गर्छ, अपितु विश्वभरका बौद्धमार्गीलाई पनि नयाँ ऊर्जा र उत्साह प्रदान गर्दछ”, लुम्बिनी विकास कोषका कोषाध्यक्ष शिद्धीचरण भट्टराईले भने, “यसलाई अझ प्रभावकारी र व्यवस्थित बनाउन सबै पक्षले मिलेर काम गर्न अत्यावश्यक छ ।”


सम्बन्धित शीर्षकहरु

इजरायलको संसद (Knesset) ले सन् २०२३ अक्टोबर ७ मा भएको हमास नेतृत्वको आक्रमणमा संलग्न पक्राउ परेका व्यक्तिहरूलाई विशेष सैन्य अदालतमार्फत…

राष्ट्रपति रामचन्द्र पौडेलद्धारा संघीय संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा केही यस्ता बुँदाहरू समावेश भएका छन्, जसले दीर्घकालीन रूपमा मुलुकमा आशा…

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी, मर्यादित र वातावरणमैत्री बनाउने उद्देश्यसहित देशव्यापी रूपमा “सरसफाइ सप्ताह २०८३” घोषणा…

प्रतिकृयाहरू
...