Sunday 22nd March 2026

मक्का पुगेका ५७७ हज यात्रीको गर्मीका कारण मृत्यु


साउदी अरेबियाको मक्कामा जुन १२ देखि जुन १९ सम्म गर्मीका कारण ५७७ हज यात्रीको मृत्यु भएको छ । गत वर्ष यो संख्या २४० थियो । जुन १७ मा मक्काको ग्रान्ड मस्जिदमा ५१.८ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो।

द गार्डियनको रिपोर्टका अनुसार मारिनेमा ३२३ इजिप्टका र ६० जना जोर्डनका नागरिक थिए । यसबाहेक इरान, इन्डोनेसिया र सेनेगलका हज यात्रीको पनि मृत्यु भएको छ । साउदी कूटनीतिज्ञले बताए अनुसार अधिकांश मृत्यु गर्मीका कारण बिरामी परेका कारण भएको हो ।

इजिप्टका विदेशमन्त्रीले मङ्गलबार साउदी अधिकारीहरूसँगको सहकार्यमा बेपत्ताको खोजी अभियान चलाएको बताए । गर्मीका कारण बिरामी परेका करिब २ हजार हजयात्रीको उपचार भइरहेको साउदी अरेबियाले जनाएको छ ।

जुन १७ मा मक्काको ग्रान्ड मस्जिदमा ५१.८ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो । साउदी अरेबियाका अधिकारीहरुका अनुसार मक्कामा जलवायु परिवर्तनको गहिरो असर परिरहेको छ । यहाँको औसत तापक्रम हरेक १० वर्षमा ०.४ डिग्री सेल्सियसले बढिरहेको छ ।

अघिल्लो वर्ष २४० हज यात्रीको मृत्यु भएको थियो । तीमध्ये अधिकांश इन्डोनेसियाका थिए । साउदीले सबै यात्रुलाई छाता प्रयोग गर्न सल्लाह दिएको छ । यस बाहेक उनीहरुलाई लगातार पानी पिउन र घामबाट बच्न भनिएको छ ।

यद्यपि, माउन्ट अराफातमा पूजासहित अधिकांश हज अनुष्ठानहरू दिनको समयमा गरिन्छ । यसका लागि हजयात्रीहरूले लामो समय बाहिर घाममा बस्नुपर्ने हुन्छ । हजका क्रममा सडक छेउमा विरामी यात्री देख्ने गरेको हज यात्रीहरुले बताएका छन् । धेरैको ज्यान गएको छ । हज रुटमा एम्बुलेन्सको भीड लाग्ने गरेको छ ।

यस वर्ष करिब १८ लाख हज यात्री हजका लागि पुगेका छन् । जसमध्ये १६ लाख अन्य देशका छन् । हरेक वर्ष हजारौं तीर्थयात्री हज गर्न जाने गर्छन् जससँग भिसा छैन। पैसाको अभावमा यस्ता यात्री गलत बाटो भएर मक्का पुग्छन् ।

साउदी कूटनीतिज्ञहरूले मृत्यु हुनेहरूमा इजिप्टका तीर्थयात्रीहरूको संख्या धेरै छ किनभने तिनीहरूमध्ये धेरैले हजका लागि दर्ता गरेका थिएनन । यस महिनाको सुरुमा साउदी अरेबियाले हजारौं दर्ता नगरिएका हज यात्रीहरूलाई मक्काबाट हटाएको थियो ।

हजको आयोजना गर्नु साउदी अरेबियाको शाही परिवारका लागि सम्मान हो । साउदी राजालाई २ पवित्र मस्जिदको संरक्षक पनि भनिन्छ ।

इस्लाम धर्ममा हज पाँच कर्तव्य मध्ये एक हो । मान्यता अनुसार हरेक मुस्लिम व्यक्तिले आफ्नो जीवनमा कम्तिमा एक पटक यो कर्तव्य पूरा गर्नुपर्छ । सन् ६२८ मा पैगम्बर मोहम्मदले आफ्ना १४०० चेलाहरूसँग यात्रा सुरु गरेका थिए । यो इस्लामको पहिलो तीर्थयात्रा भयो र यस यात्रामा पैगम्बर इब्राहिमको धार्मिक परम्पराको पुनर्स्थापना भयो । यसलाई हज भनिन्छ । हरेक वर्ष विश्वभरका मुस्लिमहरू हज गर्न साउदी अरबको मक्का पुग्छन् । हज पाँच दिन लाग्छ र ईद अल-अधा वा बक्रिदमा समाप्त हुन्छ ।

साउदी अरेबियाले प्रत्येक देश अनुसार हज कोटा तयार गर्दछ । जसमध्ये इन्डोनेसियामा सबैभन्दा बढी कोटा छ । त्यसपछि पाकिस्तान, भारत, बंगलादेश र नाइजेरिया छन् । यसबाहेक इरान, टर्की, इजिप्ट, इथियोपिया लगायतका देशबाट हजयात्री आउने गर्दछन् । हज यात्रीहरू पहिले साउदी अरेबियाको जेद्दा सहर पुग्छन् । त्यहाँबाट बस चढेर मक्का सहर जान्छन् ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...