Sunday 1st March 2026

७० वर्षमा पहिलो पटक साउदी अरबमा मदिरा पसल खुल्दै


एजेन्सी | साउदी अरबमा सन् १९५२ मा मदिरा पिएर मातेका एक राजकुमारले एक विदेशी कूटनीतिज्ञलाई गोली हानी मारिदिएपछि देशभरि मदिराको बिक्री वितरणमा प्रतिबन्ध लगाइयो। सन् १९५१ मा मिशारी बिन अब्दुलअजीज अल-साउद नामक राजकुमारले जेद्दाह सहरस्थित ब्रिटिश उपमहावाणिज्यदूत सिरिल उस्मानलाई एक समारोहमा मदिरा नथपिदिएको आक्रोशमा गोली हानी मारिदिएका थिए।

राजा अब्दुलअजीजका एक छोराले ब्रिटिश कूटनीतिज्ञलाई मारिदिएलगत्तै त्यहाँ मदिरा प्रतिबन्धसम्बन्धी कानुन बनाइएको थियो। तर अब साउदी अरबमा गैरमुस्लिम कूटनीतिज्ञहरूका निम्ति मदिरा बिक्री गर्ने अनुमति दिइन लागेको छ।

मदिरा कसले किन्न पाउँछन्

राजधानी रियादमा ७० वर्षपछि पहिलो पटक खुल्ने मदिरा पसलले चुनिएका गैरमुस्लिम विदेशीहरूलाई सेवा दिने छ। यद्यपि सेवाग्राहीको वर्गमा सीमित कूटनीतिक कर्मचारीहरू मात्र पर्ने छन्। वास्तवमा कूटनीतिज्ञहरूले वर्षौँदेखि उनीहरूले आयात गर्ने कूटनीतिक पार्सलमा मदिरा ल्याउने गरेका थिए। तीमध्ये केही परिमाणको मदिरा कालोबजारी हुने गरेको सरकारी अधिकारीहरूले बताउने गरेका थिए। मदिरा पसल खोल्ने कार्यले त्यस्तो अवैध काम बन्द हुने उनीहरू ठान्छन्।

नयाँ नियमअन्तर्गत कूटनीतिज्ञहरूले आयात गर्ने मदिरामा कडाइ गरिने बरु उनीहरूले रियादस्थित ‘डिप्लोम्याटिक क्वार्टर’मा खुल्ने पसलबाट निश्चित कोटामा मदिरा किन्न सक्ने विवरण समाचारसंस्था एएफपी र रोयटर्सले प्रकाशित गरेका छन्। सक्त स्थान राजधानीको केन्द्रबाट पश्चिमतर्फ छ। एक सूत्रले रोयटर्सलाई बताएअनुसार पसल केही हप्ताभित्रै खुल्ने छ।

मदिरा किन्न पालना गर्नु पर्ने सर्त

तोकिएको पसलमा गएर मदिर किन्न केही सर्त पनि राखिएको छ।
ती हुन्

इच्छुक कूटनीतिज्ञले पहिलै नाम दर्ता गराएर सरकारबाट अनुमति लिनुपर्ने छ
२१ वर्षमुनिका कसैलाई पनि पसलभित्र प्रवेश अनुमति हुने छैन। पसलभित्र रहँदा ‘उचित पोसाक’ लगाइरहनुपर्ने छ
मदिरा सेवनकर्ताले आफ्ना चालक वा अन्य व्यक्तिलाई मदिरा किन्न पठाउन पाउने छैनन्
मासिक सीमा निर्धारण र लागु गरिने छ
तर एएफपीले हेरेको दस्तावेजमा त्यस्तो सीमामा त्यति कडाइ भने नगरिने देखिन्छ। सूचीकृत ग्राहकले एक महिनामा अधिकतम २४० ‘पोइन्ट’ मदिरा पाउने छन्। एक लिटर स्पिरिटबराबर छ पोइन्ट हुन्छ भने एक लिटर वाइनबराबर तीन पोइन्ट र एक लिटर बिअरबराबर एक अङ्क हुन्छ।

अरू विदेशीले पाउँदैनन्

कूटनीतिज्ञबाहेक अन्य विदेशीहरूका निम्ति मदिरा किन्ने सुविधा उपलब्ध हुने छैन। साउदी अरबमा तोकिएका मानिसलाई मदिरा उपलब्ध भए पनि त्यसको प्रयोग र प्रयोगपछिका व्यवहारबारे भने सचेत हुनुपर्ने देखिन्छ। साउदी कानुनअनुसार मदिरा साथमा राखेको वा उपयोग गरेको अपराधमा जरिवाना, जेल सजाय, सार्वजनिक रूपमा कोर्रा प्रहार वा देशनिकालासम्म हुन सक्छ। मदिरा खुकुलो पार्ने पछिल्ला प्रयासलाई साउदी अरबका युवराज तथा वास्तविक शासक मोहम्मद बिन सलमानले अघि सारेका उदारीकरणसम्बन्धी भिजन २०३० अभियानकै एक पाटोका रूपमा हेरिएको छ। खाडीका अन्य देशहरूमा पनि मदिरासम्बन्धी यस्तै नियम छ। तर यूएफ र कतारमा होटल, क्लब तथा बारहरूमा पनि २१ वर्ष माथिका गैरमुस्लिमहरूलाई मदिरा बेच्न पाइन्छ।


सम्बन्धित शीर्षकहरु

Donald Trumpले इरानका सर्वोच्च नेता Ali Khamenei मारिएको दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश जारी गर्दै ट्रम्पले खामेनीको मृत्यु…

गत वर्षको जूनमा इजरायलको नेतृत्वमा इरानविरुद्ध भएको १२ दिने युद्ध मध्यपूर्वीय सुरक्षा र शक्ति सन्तुलनको इतिहासमा एउटा महत्वपूर्ण मोड थियो।…

पासपोर्टहरू कस्का थिए ? काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली जाँदै गरेको अवस्थामा ४८ थान राहदानी (पासपोर्ट) बोकेर पक्राउ परेकी…

प्रतिकृयाहरू
...