Tuesday 3rd February 2026

आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ


आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो ।

चाडपर्व, यज्ञ तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । सोह्रश्राद्धमा पितृले आफ्ना सन्तानबाट तर्पण, पिण्डको आश गरिरहेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।

यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको दायित्व पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । सोह्रश्राद्ध अपराह्न कालमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको जाताशौच, मृताशौच र पत्नी रजस्वला भएका अवस्थामा बाहेक सोह्रश्राद्ध छोड्न नहुने विज्ञहरू बताउँछन् ।

कारणवश सोह्रश्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्रश्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने जानकारहरूको भनाइ छ ।

यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिक कृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने धर्मसिन्धु नामक शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।

आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतीपात योग परेका दिन जुनसुकै तिथि परेपनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्पसमेत निर्णयसिन्धु, धर्मसिन्धुलगायत धर्मशास्त्रका ग्रन्थमा लेखिएका छन् ।


सम्बन्धित शीर्षकहरु

भारतको २०२६–२७ संघीय बजेटमा विदेश सहायता विनियोजनले नयाँ कूटनीतिक प्राथमिकताहरू स्पष्ट संकेत गरेको छ। सबैभन्दा ठूलो विकास सहायता भुटानलाई २,२८८…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले इरानको सट्टा भेनेजुएलाबाट तेल किन्न सम्झौता गरिसकेको दाबी गरेका छन्। शनिबार एयर फोर्स वनमा पत्रकारहरूसँग…

कुवेत सिटी, जनवरी ३० — जनशक्तिका लागि सार्वजनिक प्राधिकरण (PAM) ले आफ्नो घरेलु कामदार भर्ती विभागमार्फत कुवेती श्रम कानुन अन्तर्गत…

प्रतिकृयाहरू
...