Thursday 26th February 2026

भारतको केरलामा डुंगा दुर्घटना हुँदा २२ यात्रुको मृत्यु


भारतको केरला राज्यस्थित पर्यटकहरू बोकेको डुंगा पल्टिँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ । कतिपय यात्रुहरू हराइरहेका छन् । आइतबार राति मालापुरम जिल्लामा भएको उक्त दुर्घटनामा मृतकको संख्या अझै बढ्नसक्ने स्थानीय अधिकारीहरूले बताएका छन् ।

अहिले घटनास्थलबाट डुंगा निकालिएको छ । साथै उद्धार जारी छ । क्षमताभन्दा बढी यात्रु बोकेका कारण डुंगा दुर्घटना भएको मालापुरम जिल्ला प्रहरीका कनिष्ठ सुपरिटेन्डेन्ट अब्दुल नजरले रोयटर्सलाई बताएका छन् । उक्त डुंगामा ५० जना यात्रु रहेको बताइएको छ । जुन डुंगाको क्षमताभन्दा दोब्बर यात्रु संख्या हो ।

उक्त दुर्घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै पीडित परिवारमा समवेदना व्यक्त गरेका छन् । स्थानीय मिडियाका अनुसार दुर्घटनाको क्रममा कतिपय यात्रुहरू डुंगामुनि थिचिएर घाइते भएका छन् ।

घटनास्थलबाट कम्तीमा चार जनालाई उपचारका लागि अस्पताल पुर्‍याइएको छ । र ती घाइतेहरूको अवस्था गम्भीर रहेको केरलाका खेलकुद तथा मत्स्यमन्त्री भी अब्दुराहिमानले बताएको बीबीसीको समाचारमा उल्लेख छ ।

साथै दुर्घटनाको क्रममा कति मानिस हराइरहेका छन् भन्ने यकिन भइसकेको छैन । तर उनीहरूको खोजी भइरहेको बताइएको छ । दुर्घटनास्थलमा उद्धारका लागि खटिएका एक उद्धारकर्मीले बताए अनुसार उनले चार जना मानिसको शव बाहिर निकालेका थिए । तर उनीहरू कसैको पनि शरीरमा ‘लाइफ ज्याकेट’ थिएन ।


सम्बन्धित शीर्षकहरु

बंगलादेश का गृहमन्त्री सलाहुद्दीन अहमद ले व्यक्तिगत लाभका लागि दायर गरिएका नक्कली मुद्दाहरूको पुनः अनुसन्धान गर्न निर्देशन दिएका छन्। ढाका…

 पोखराबाट काठमाडौँ जाँदै गरेको बस त्रिशूली नदीमा खस्यो। दुर्घटनामा अठार जनाको मृत्यु भयो भने २७ जना घाइते भए, घटनास्थलबाट उद्धार…

आइतबार बिहान युक्रेनको राजधानी **किभ**मा शक्तिशाली विस्फोटहरूको श्रृंखला सुन्निएको छ। अधिकारीहरूले रूसले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको चेतावनी दिएका छन्। यो…

प्रतिकृयाहरू
...