बसन्त थापा, कुवेत
तितोपाटी- प्रेमप्रसाद आचार्य र देशलाई प्रेम गर्ने प्रेम जस्ता हजारौ युवाहरु लामो समय परदेशमा संघर्ष गरेर अलिकती मुट्ठी भर सास र मिठो आस बोकेर जब स्वदेश फर्किंन्छन अनी सरकारको गलत निती र नियमको नाममा ठगीको सिकार बन्छन। व्यापार गर्ने क्रममा विभिन्न किसिमका सामग्री खरिद बिक्रीमा ठगीबाट मर्कामा परेका र ऋणको भारी संगै त्यो सुनौलोसपनाको हत्या गर्दै अन्ततः युवाहरु पनि मृत्युको बाटो अपनाउने गर्दछन।
यस्तै भयो प्रेमप्रसाद आचार्यलाई पनी, अनवरत रूपमा संघर्षमा होमिएका आचार्यको के नै देश थियोर? अन्तिममा कठिन मृत्यवरण गर्नुपर्यो।
त्यसो त आत्महत्या एक डरलाग्दो शब्द हो जसले आँखा अगाडि मृत्युको डरलाग्दो दृश्य सिर्जना गर्दछ। फाँसी, विष, आगो, खोलाजस्ता नयाँ–पुरानो तरिकाले मृत्युलाई अँगाल्ने प्रयास बिगतको समयमा भन्दा अहिले बढ़ीरहेको छ।
यहाँ कसैको आत्महत्याको खबर पत्रपत्रिकामा नआएको दिन सायदै बितेको हुन्छ । कयौं पटक सानातिना कठिनाइहरूको सामना गर्नुको सट्टा मानिसहरू डराउँछन् र आत्महत्याजस्ता खतरनाक कदम चाल्छन।
नेपालमा पछिल्लो क्रममा आत्महत्या गर्नेको संख्यामा बृद्धि भएको छ।आत्महत्याको प्रयास गर्नेहरु यस प्रकारका छन? परीक्षाको तनाव होस् वा घरमा झगडा होस्, व्यापारमा घाटा होस् वा जागिरमा कुनै किसिमको समस्या होस्, प्रेम सम्बन्धबाट उमेरको अन्तिम चरणमा डिप्रेसनमा परेका मानिसले पनि आत्महत्या गर्छन् ।
वास्तवमा, एकातिर, जहाँ मानव द्रुत रूपमा विकासको गतीमा अघि बढ़िरहेको छ। दिनानुदिन नयाँप्रविधिले जीवनलाई सहज बनाउँदै लगेको छ भने अर्कोतिर बढ्दो मानसिक तनावका कारण आत्महत्या जस्ता घटना पनि दिनप्रतिदिन बढ्दै गएका छन् ।
यसो सरसर्ती हेर्दा नेपालमा आत्महत्या गर्ने प्रवृत्ति सबै उमेर समूहका मानिसमा देखिएको छ तर यसको संख्या १५ देखि ४० वर्ष उमेर समूहमा बढी छ ।
कारण के हो?
आत्महत्या गर्नुका धेरै कारण छन् तर नेपालमा यसका मुख्य कारणहरू यस्ता छनः जागिर नपाउनु वा जागिर गुमाउनु, सामाजिक मानसिक तनाव, बालबालिकामा पढाइको तनाव, व्यापारीले व्यावसाय गर्न बैंक, सहकारी, अथवा व्यक्तिद्वारा लिएको ऋण समयमै तिर्न नसक्नु, दाइजो प्रथाजस्ता कुप्रथाकाकारण महिलामाथि हुने मानसिक तनाव वा यौन दुर्व्यवहार वा बलात्कारपछि पनि समाजको नजरसंग डराएर आत्महत्या गर्नु प्रमुख कारण हो।
पछिल्ला केही वर्षयता नेपालमा मात्रै नभई विश्वभर आत्महत्याका घटनाहरू तीव्र गतिमा बढेका छन् । यो सबैमा चकित पार्ने कुरा के छ भने आत्महत्या गर्ने दर महिलाको तुलनामा पुरुषमा बढी छ र अझ अहिले त बालबालिकाहरु पनी यसको सिकार भइरहेका छन् ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हरेक ४ मिनेटमा एक जनाले आत्महत्या गर्ने गरेका छन् । डिप्रेसनका कारण हरेक वर्ष ८ लाखभन्दा बढी मानिसले आत्महत्या गर्छन । यो तथ्यले विश्वभरका मानिसहरू धेरै डरलाग्दो मानसिक तनावमा रहेको देखाउदछ।नेपालमा जसरी मानिसहरू हाल गुज्रिरहेका छन त्यो कोरोना पछि झन आत्महत्या गर्ने यो प्रवृत्ति खतरनाक रुपमा बढेको छ । लकडाउनको समय पछी व्यापारी व्यावसायीहरूमा आत्महत्या गर्नेको संख्या बढी देखिएको छ । जब उद्योगधन्दा बन्द भयो सरकारको गलत नीतिले गर्दा पनि व्यापारीहरु, मध्यमवर्गीय र दैनिक ज्यालादारी गरेर दिन गुजारा गर्ने मजदुरले यस्तो कठिन समस्याको सामना गर्नु परिरहेको छ ।
परिवारले भोगेको आर्थिक संकटबाट त्रसित धेरै युवाहरुले मृत्युलाई अँगालेका छन् । यसैबीच, कोरोनाको समयमा आर्थिक मन्दीपछि निराश भएर धेरै साना व्यवसायीले पनि आत्महत्या गरेका थिए।
बालबालिकामा पढाइको तनाव होस्, चाहे त्यो पारिवारिक तनाव होस् वा सामाजिक तनाव ।पछिल्लो समय देशका केही चर्चित व्यक्तित्वहरूले तनावका कारण आत्महत्याको बाटो रोजेको पाइएको छ। आत्महत्याको बढ्दो घटनालाई रोक्न हरेक व्यक्तिमा चेतना ल्याउन जरुरी छ । यो बुझ्नुपर्छ कि दौडधुपको जीवनमा तनावको अवस्था कहिले कम र कहिले बढी हुन्छ, तर यसको समाधान कसैले आफ्नो जीवननै समाप्त गर्नु होइन।
यो डरलाग्दो समस्या कानुनको सहारा लिएर पनि समाधान गर्न सकिन्छ । हामी पनी अन्य जीव जस्तै मानिस एक अस्तित्ववादी प्राणी हो तर आफ्नो अस्तित्व जोगाउन नसकेपछि अर्थात आफ्ना आफन्त संग संगै जब राज्यले पनी समस्याको समाधानका लागी साथ सहायोग गर्दैन समग्रमा बिकल्प सकिएको महसुस हुन्छ र आत्महत्याको बाटो रोज्नु पर्ने बाध्यता हुने गर्दछ। तर हामिले बुझ्नुपर्छ कि जीवन धेरै सुन्दर छ, कुनैपनी समस्या वा डिप्रेशनमा डुबेर आत्महत्या गर्नु भन्दा यसलाई मनले जिउनु राम्रो हो धन सम्पती र सफलता आज नभए भोली र भोली नभए एकदिन अबस्या हासिल हुनेछ।