Monday 21st April 2025

वाटिका लाेकार्पण तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न


नारायण कोइराला, ३० पुस २०७९। पाेखराथाेक साहित्य सङ्गम पाल्पाले २३ औँ वाषिर्कोत्सवकाे अवसर पारेर साहित्यिक सँगालाे वाटिका पत्रिकाकाे लाेकार्पण, स्रष्टासम्मान र सिर्जनावाचन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम संगमका अध्यक्ष हरि भट्टराईकाे अध्यक्षतामा भएको हाे । कार्यक्रमकाे प्रमुख अतिथिका रूपमा बगनासकाली गाउँपालिकाकी प्रमुख सरस्वती चिदीलाई आमन्त्रण गरिएको थियो । विशिष्ट अतिथिका रूपमा टंक पन्थ, राजेन्द्रगाेपाल सिंह, डा. शंकर गैरे तथा वडाध्यक्ष तीर्थप्रसाद भट्टराईलाई आमन्त्रण गरिएको थियोे । दीप प्रज्ज्वलनका गरी कार्यक्रमकाे समुद्घाटन गरियो । प्रमुख अतिथिद्वारा वाटिका पत्रिकाको लाेकार्पण गरेलगत्तै चार जना स्रष्टाहरूलाई सम्मान अर्पण गरिएको हाे । सम्मानित स्रष्टाहरूमा खगेन्द्रप्रसाद बस्याल, शम्भु अर्याल, गाेमविक्रम क्षेत्री र गीता रेग्मी रहेका छन् । यसै गरी साहित्य संगमद्वारा आधारभूत तह र मावि तहका विद्यार्थीहरूका बीचमा सञ्चालन गरिएको कविता प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई पनि प्रमाणपत्र र पुरस्कार प्रदान गरिएको हाे ।

विमाेचित वाटिका पत्रिका वर्ष २० अंक २१ माथि प्रकाश पार्ने काम टंकप्रसाद पन्थबाट भयो । तीन सय साठी पृष्ठमा निर्मित यस अंककाे मूल भागमा सन्तानब्बे वटा लेख रचनाहरू समेटिएका छन् । अन्तर्वार्ता, जीवनी, समालोचना, लेख, निबन्ध, नियात्रा र पत्र, कथा/ लघुकथा, कविता, गीत, गजल, मुक्तक, साइनो, हाइकु आदि विधालाई समेटिएको छ । कक्षा ६ का कलिला सर्जकदेखि प्राैढ साहित्यकारहरूका रचनाले वाटिकामा स्थान पाएकाले याे वास्तवमै विविध फूलहरू फुलेको वाटिका बन्न गएको छ । स्थानीय तथा राष्ट्रमै नाम चलेका स्रष्टाहरूलाई गाेल्याउने महत्त्वपूर्ण काम वाटिकामा भएको छ । पत्रिकाकाे अन्त्य भागमा संगमकाे कार्यसमिति, विविध अक्षयकोषकाे विवरण, आजसम्मसंस्थाबाट सम्मानित व्यक्तिहरूकाे शुचि तथा दुुई सय बयानब्बे जना आजीवन सदस्यहरूकाे नामावलीसमेत प्रस्तुत गरिएको छ । कृति सङ्ग्रहणीय रूपमा आएको छ ।

कार्यक्रमकी प्रमुख अतिथि चिदीले साहित्यका माध्यमबाट बगनासकालीलाई चिनाउने काम पाेखराथाेक साहित्य सङ्गमले गरेकोमा धन्यवाद व्यक्त गरिन । समाज परिवर्तनमा साहित्यकारहरूकै प्रमुख भूमिका रहेकाे कुरालाई जाेडी विद्यालयबाटै प्रतिभाहरूलाई साहित्यमा क्रियाशील गराउन पालिकाका तर्फबाट पनि कार्यक्रम बनाएरै अगाडि बढ्नुपर्ने सन्दर्भलाई जाेड दिइन् । आएका उपयुक्त सुझावहरूलाई ग्रहण गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरी संगमकाे प्रगतिको शुभकामना व्यक्त गरिन् ।

विशिष्ट अतिथि राजेन्द्रगाेपाल सिंहले साहित्यमा लाग्नेहरूमा निरन्तरता, क्रियाशीलता र प्रतिबद्धता चाहिने कुरामा जाेड दिए । वाटिकालाई विशेष अंकका रूपमा प्रकाशित गर्न पनि उनलेे सल्लाह दिए । विशिष्ट अतिथि डा. शंकरप्रसाद गैरेले साहित्य संगमका क्रियाकलाप लाेभलाग्दा रहेको सन्दर्भ जाेडी पालिकाले सहयोग गर्दा पहिलो स्थानमा पाेखराथाेक साहित्य संगमलाई राख्नुपर्छ भन्ने विचार प्रस्तुत गरे । वडाअध्यक्ष तीर्थप्रसाद भट्टराईले संगमले आफ्नो स्थापना कालदेखि साहित्यका क्षेत्रमा गरेको याेगदान प्रशंसनीय रहेको धारणा व्यक्त गरे ।

सम्मानित स्रष्टा खगेन्द्रप्रसाद बस्यालले संस्थालाई धन्यवाद व्यक्त गरी हामीले लेखेको साहित्य सबैका लागि भयो कि भएन भन्ने प्रश्नले मलाई घचघच्याइरहन्छ भन्ने विचार व्यक्त गरे । दृश्यका माध्यमबाट जनचेतनामूलक हाइकुहरू प्रस्तुत गरे उनले । सम्मानित स्रष्टा शम्भु अर्यालले याे सम्मानले आफूलाई अझ जिम्मेवार बनाएको बाेध गरी साहित्य संगमलाई धन्यवाद प्रकट गरे । बा नहुनु शीर्षकको मार्मिक कविता पनि वाचन गरे उनले । अर्का सम्मानित स्रष्टा गाेमविक्रम क्षेत्रीले यो सम्मानले आफूलाई अझ क्रियाशील हुन प्रेरित गरेको विचारसहित संस्थालाई धन्यवाद व्यक्त गरे । सम्मानित नारी स्रष्टा गीता रेग्मीले आफै संलग्न रहेकाे संस्थाबाट सम्मानित हुन पाउँदा गाैरवकाे अनुभूति भएको विचार व्यक्त गरिन् । बन्नु है हाइहाइ शीर्षकको कविता पनि वाचन गरिन् उनले ।

स्याङ्जाका स्रष्टा मिलन समीरले पाेखराथाेकसँगकाे साहित्यिक सम्बन्धलाई झल्काई यतिबेला शीर्षकको विद्रोही चेतना पाेतिएकाे कविता वाचन गरे । सिर्जनशील साहित्यिक समाज भैरहवाका सल्लाहकार नारायणप्रसाद भण्डारीले पाेखराथाेक साहित्य संगमसँगकाे पुरानो सम्बन्धलाई उल्लेख गरी सम्माननीयज्यू हाेसियार हुनुस् शीर्षकको राष्ट्रचेतनामा आधारित कविता वाचन गरे । धवल पुस्तकालय पाल्पाका अध्यक्ष युवराज पाैड्यालले वाटिका प्रकाशनका लागि धन्यवाद व्यक्त गरि सम्मानित स्रष्टाहरूलाई बधाई ज्ञापन गरे । वाङ्मय प्रतिष्ठान पाल्पाका अध्यक्ष गाेपालप्रसाद बस्यालले शुभकामनाका साथमा प्रिय मुसा तिमीलाई आशीर्वाद छ शीर्षकको कविता प्रस्तुत गरे । पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कर अथक रेग्मीले कार्यक्रमकाे सफलताको शुभकामना व्यक्त गरी ठेगान लायाे शीर्षकको व्यङ्ग्यात्मक गजल वाचन गरे । साहित्यकार धातानन्द शर्माले साहित्य संगमले वाटिका प्रकाशनकाे कामलाई निरन्तरता दिई अनुकरणीय काम गरेको विचार राखी केही बाछिटाहरू प्रस्तुत गरे ।

साहित्यकार हाेमनाथ शर्मा काफ्लेको व्यापारीकाे चर्तीकला शीर्षकको छन्द कवितामा राष्ट्रवादी चेतनाको सञ्चारका साथमा नेतृत्वप्रति गम्भीर रूपमा खबरदारी गरिएको थियोे । साहित्यकार आर बी निश्चलले किस्ताकिस्तामा जिन्दगी शीर्षकको कविता पाठ गरे । उनको कवितामा जीवनबाेध सल्बलाएकाे पाइयो । नारायणप्रसाद अधिकारीकाे हुटिट्याउँहरू शीर्षकको कवितामा समसामयिक अवस्थाप्रतिकाे गम्भीर कटाक्ष थियोे । आयाम कार्कीले गीत प्रस्तुत गरे । गीतका माध्यमबाट इमान नबेच्न आग्रह गरे उनले । जयप्रकाश उप्रेतीले लाेकभजन प्रस्तुत गरे । नेत्र न्याैपानेले छाेरी शीर्षकको कविता वाचन गरे । पवन भुसालले मकै र जिन्दगी शीर्षकको कविता पाठ गरे । बिम्ब अनि प्रतीकद्वारा जीवनलाई हेरिएको थियोे उनको कवितामा । रजत काेइरालाले थाहा छैन के हाे यो भावना अनाैठाे बालकाे गीत प्रस्तुत गरे । शिखा पहारीले छाड माया के गफ दिन्छाै यहाँ टेक्ने धरातल नै छैन भन्ने भावका साथमा आफ्नो रचना प्रस्तुत गरिन् । साहित्यकार जानका नेपालले माछाेमाछाे भ्यागुतो शीर्षकको कविता वाचन गरिन् ।
कार्यक्रममा उपस्थित प्रमुख अतिथि, अतिथिहरू, सम्मानित स्रष्टाहरू र सहभागीहरूलाई शब्दका माध्यमबाट स्वागत गर्ने काम संगमका उपाध्यक्ष विश्वनाथ गैरेले गरे । सम्मानित स्रष्टाहरूकाे परिचय गराउने काम काेषाध्यक्ष गाेविन्द खनालले गरे । कार्यक्रमका अध्यक्ष हरि भट्टराईले साहित्य संगममा धेरै पुस्तकहरू जम्मा भएको तर व्यवस्थापन गर्न नसकिएको समस्या प्रमुख अतिथिका रूपमा रहेकी पालिका प्रमुखलाई अवगत गराए । अग्रजहरूले अलपत्र रूपमा छाडेर गएकाले वाटिकाकाे प्रकाशनमा आफूले समस्या झेल्नुपरेको गुनासो पनि गरे उनलेे । आमन्त्रित अतिथि, सम्मानित व्यक्तित्वलगायत उपस्थित सम्पूर्णलाई धन्यवाद व्यक्त गरे । कार्यक्रमकाे सञ्चालन संगमकी सचिव जानका नेपालले गरेकी थिइन् ।

साभारः डा. टंक पन्थको फेसबुक वालबाट ।


सम्बन्धित शीर्षकहरु

उत्तरी बंगलादेशका एक प्रमुख हिन्दू नेता भावेश चन्द्र रोयको अपहरण गरी हत्या गरिएको छ। यो घटनापछि भारतले बंगलादेशप्रति कडा असन्तुष्टि…

बंगलादेश र पाकिस्तानबीच विदेश सचिवस्तरीय बैठकहरू नियमित रूपमा हुने भनिएको थियो। तर यसपटक यो लगभग १५ वर्ष पछि आयोजना गरिएको…

शिकागो: बहिरा र श्रवणशक्ति कमजोर भएका समुदायका सदस्यहरूसँग शिक्षकको रूपमा काम गर्दा एक साउदी कृत्रिम बुद्धिमत्ता विद्वानलाई प्रविधिले संसारसँग कुराकानी…

प्रतिकृयाहरू
...