Wednesday 24th April 2024

घरेलु महिला श्रमिकले विदेशमै अनुसूची ८ फारम भरौँ, समयमै श्रम स्वीकृति गरौँ


तीतोपाटी डटकम- पछिल्लो समय सबैखाले श्रम स्वीकृति अनलाइनबाटै लिनुपर्छ । अनलाइनबाट श्रम स्वीकृति लिन सबैभन्दा पहिला श्रम अनलाइनबाटै सम्पूर्ण प्रक्रिया गरेर श्रम स्वीकृति प्राप्त गर्ने टोकन लिन पर्छ । गएको फागुनदेखि सरकारले जुनसुकै माध्यमबाट घरेलु श्रमिकका रुपमा गएको भए पनि स्वदेश फर्कंन चाहेमा श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेसँगै घरेलु श्रमिकका रुपमा कार्यरत महिलाहरुले पनि श्रम स्वीकृति लिइरहेका छन् । श्रमिक स्वीकृति लिने प्रक्रिया, आवश्यक कागजात र ध्यान दिन पर्ने कुराबारे हामीले वैदेशिक रोजगार कार्यालय ताहचलका निर्देशक बसन्तबहादुर वाेहरासँग गरिएकाे कुराकानीकाे सम्पादित अंश :

श्रम स्वीकृति अनलाइनमार्फत मात्र लिन सक्ने व्यवस्था भएपछि के कसरी लिने भन्ने जिज्ञासा बढ्दो छ । कतिपयलाई यसबारे जानकारी नहुँदा टोकन नै नलिइ कार्यालयमा पनि आउने गर्नुहुन्छ । यस्तै गएको वर्षको फागुनदेखि त जुनसुकै माध्यममार्फत गएर घरेलु श्रमिकको रुपमा काम गरिरहेको भए पनि कानुनी सर्त पूरा गरेमा पुनः श्रम स्वीकृति पाउने व्यवस्था भएको छ ।
घरेलु श्रमिकका रुपमा कार्यरत महिला श्रमिकले पनि श्रम स्वीकृतिको प्रक्रिया अनलाइनमार्फत नै गर्ने हो । उहाँहरुले कानुनले तोके अनुसारको सबै कागजात पूरा गरेर आउँदा श्रम स्वीकृति लिन समस्या हुँदैन । कागजात नपुगेकै कारण समस्याहरु हुने गर्छ ।

श्रम स्वीकृति नलिई वा अन्य मा

ध्यममार्फत गएर घरेलु काम गरिरहनुभएको छ र अब स्वदेश फर्किएर तपाईँ श्रम स्वीकृति लिई पुनः काममा फर्कन्छु भन्ने हो भने सबैभन्दा महत्वपूर्ण कागजको रुपमा अनुसूची ८ फारम हो । जुन् सम्बन्धित देशको दूतावासबाट प्रमाणित गरेर यहाँ कार्यालयमा पठाएको हुनुपर्छ । यो फारम तपाईँ कार्यरत देशमा रहेका नेपाली दूतावासहरुमा गएर भर्न सक्नुहुन्छ ।

यसपश्चात अनलाइन फारम भर्दाखेरि राहदानी, भिसा, कार्यरत कम्पनी तथा यदि घरमा हो भने त्यहाँ काम गरिरहेको करार सम्झौता आवश्यक पर्छ । यसका साथै बिमा पनि गर्न पर्छ भने कल्याणकारी कोषमा पनि रकम तिर्न पर्छ ।

यस्तै म यो यो देशमा यसरी काम गर्दै छु, सबै कानुनसम्मत छ र भोलि केही भइहालेमा म जिम्मेवार छु भन्ने स्वघोषणापत्र पनि पेस गर्नुपर्छ । अनुसूची ८ को फारम भने घरेलु श्रमिकको हकमा मात्रै हो ।

अनुसूची ८ फारम भर्नको

लागि शुल्क लाग्छ । विभिन्न देश अनुसार शुल्क तोकिएको हुन्छ । तपाईँहरुले आफू कार्यरत देशमा रहेका नेपाली दूतावासमा गएर बुझ्न सकिन्छ । नेपाल आउनुभन्दा पहिले नै गन्तव्य देशमै रहेको नेपाली दूतावासमा गएर अनुसूची ८ को फारम प्रमाणित गराएमा सजिलो हुन्छ । पछि अनलाइन फारम भर्दा अनिवार्य रुपमा त्यही कागज चाहिन्छ । अनुसूची ८ सहित आवश्यक सबै कागजात पेस गरेपछि अनलाइनबाटै श्रम स्वीकृति हुने हो । अहिले धेरै श्रमिकहरुले यही अनुसूची ८ फारम छुटाउदा यहाँ आइसकेपछि समस्या हुने गरेको छ ।

विश्वका जुनजुन देशमा नेपाली श्रमिक हुनुहुन्छ त्यही देशबाट अनलाइनमार्फत नै कागजात पेस गर्न मिल्ने व्यवस्था रहेको छ ।

छुट्ने गरेका कागजात
ध्यान दिंदा दिंदै पनि कतिपय कागजातहरु छुटिरहेका हुन्छन् । कागजात छुटेमा आवेदन दिंदा पनि श्रम स्वीकृति अस्वीकृत हुने हुन्छ । त्यसकारण श्रम स्वीकृतिको लागि आवेदन दिंदा सबैभन्दा पहिला हाम्रो वेबसाइटमै भएका जानकाहरु पढ्ने र हेर्ने गर्नुहोस् । घरेलु श्रम गरेर फर्कनुभएका कतिपयले अनुसूची ८ कै फारम नभरेको देखिन्छ ।
त्यस्तै स्वघोषणाका कागजात पेस गर्न नजानेर पनि समस्या हुने गरेका छन् । हाम्रै वेबसाइटमा स्वघोषणा सम्बन्धी पत्रहरु हुन्छन् । त्यसलाई प्रिन्ट गरेर आवश्यक कुरा भरेर साइन गरेपछि अपलोड गर्न सकिन्छ ।

पासपोर्ट, भिसा, बिमा, कल्याणकारी कोष लगायतका कागजात प्रायजसो सबैले पेस गर्नुभएको हुन्छ ।

अर्को कुरा भनेको श्रम स्वीकृति समयमै लिनुहोस् । विदेश फर्किनुभन्दा एकदुई दिन अगाडि आएर भोलिपर्सिको टिकट छ भन्दै पुनः श्रम स्वीकृति लिन खोज्दा समस्या हुन्छ । सकेसम्म विदेशबाट आउनासाथ सबैभन्दा पहिला श्रम स्वकिृति लिइहाल्नुहोस् । यसो गर्दा तपाईँसँग समय हुन्छ । केही बिग्रिएमा, केही कागजात नपुगेमा पनि तपाईँले मिलाउने समय पाउनुहुन्छ । भोलिको टिकट छ आज श्रम स्वीकृति लिन खोज्दा समस्या हुन्छ । यो कुरा विदेशबाट फर्कंने सबैले ध्यान दिनुहोस् र विदेशमै हुनुुहुन्छ भने पनि श्रम अवधि सकिएपछि आवेदन दिइहाल्नुहोस् ।

टोकनको समस्या र व्यवस्थापन
आजलकाल श्रम स्वीकृति लिन खोजेको टोकन पाइएन भनेको धेरैको मुखबाट सुनिन्छ । खास टोकन नपाउने भन्दा पनि तपाईँसँग जानकारी नभएको हो । कुन समयमा टोकन लिन पर्छ र कहिले श्रम स्वीकृति गर्नुपर्छ भन्ने विषयमा तपाईँ सचेत हुनुभयो भने अप्ठेरो पर्दैन । टोकन नपाउने समस्या पनि हुँदैन । त्यसका लागि सोध्ने र जानकारी लिने काम भने तपाईँले गर्नुपर्छ ।

तपाईँहरुले टोकन नपाउने समस्या नहोस् भनेर हामीले टोकन व्यवस्थापन गरेका छौं । जस्तो तपाईँसँग समय छ भने एक हप्तापछिको समय लिएर पनि श्रम स्वीकृति लिन सक्नुहुन्छ । जुन सजिलै उपलब्ध पनि हुन्छ । तर यदि तपाईँको विदेश उड्ने टिकट आजैको छ र आजै श्रम गर्नु पर्ने भयो तर टोकन छैन भन्ने समस्या भयो भने कार्यालयले प्रत्येक दिन बिहान ११ बजे आजैका लागि एक सय वटा टोकन खुलाउछ । तपाईँले ११ बजे आवेदन दिन सक्नुहुन्छ ।

अब भोलि पर्सीको टिकट छ र भोलिलाई श्रम स्वीकृतिको टोकन लिन पर्‍याे भने प्रत्येक दिन दिउँसो साढे ३ बजे २८० टोकन भोलिपल्टका लागि खुल्छ । तपाईँले चनाखो भएर त्यो समयमा आवेदन दिन पर्‍याे । यो टोकन लिन धेरै जना कुरेर बस्नुभएको हुन्छ । एकैछिनमा सकिने समस्या हुन्छ । त्यसकारण खुलेको बेलामा टोकन लिने चनाखो भने हुनपर्छ ।

अहिले कार्यालयले यसरी टोकनको व्यवस्थापन गरेको छ । पहिले टोकन नै नपाइने अवस्था थियो । पुनः श्रम स्वीकृति लिनेको हकमा त्यो समस्या थियो । तर अहिले सहज छ । तत्काल श्रम स्वीकृति लिन चाहनेहरुलाई मध्येनजर गर्दै यो व्यवस्थापन गरिएको हो ।

यति गर्दा पनि टोकन पाउनुभएन, समस्या भयो भने वैदेशिक रोजगार कार्यालय काठमाण्डौमा सम्पर्क गर्न सक्नुहुन्छ । यही कार्यालयमा आउन पनि सक्नहुन्छ या फोन गर्दा पनि तपाईँलाई हामी आवश्यक जानकारी दिन्छौं र तपाईँको समस्या समाधान गर्न कोशिस गर्छौं ।

श्रम स्वीकृति आवेदन दिनासाथ स्वीकृति भइहाल्छ भन्ने हुँदैन । विभिन्न कागजातहरु पुगेन भने अस्वीकृति पनि हुन सक्छ । त्यसकारण श्रम स्वीकृति जतिसक्दो चाडो लिइहाल्नु पर्छ । अन्तिम समयमा लिन खोज्दा तपाईँलाई नै समस्या र तनाव हुनसक्छ । अस्वीकृति हुँदा पनि नआत्तिनुहोस् । के कारणले अस्वीकृत भयो भन्ने कुरा लेखिएको हुन्छ । त्यो राम्रोसँग पढेर पुनः आवेदन दिनुहोस् । केही बुझ्नुभएन भने कार्यालयमा सम्पर्क गर्नुहोस् ।

घरबाटै काम हुन्छ, विचौलियाकहाँ जानुपर्दैन
अनलाइनबाट आवेदन दिंदा कतिपय ठगीमा पर्नुभयो, पैसा धेरै बुझाउन पर्‍याे भन्ने कुराहरु पनि सुनिन्छ । कतिपयलाई त साइबरवालाले धेरै रकम लिने गरेको पनि पाएका छौं । त्यसैले मेरो अनुरोध तपार्इँहरुलाई घरबाटै भर्नुहोस् भन्ने छ । किनभने यो धेरै गाह्रो छैन । छोराछोरीलाई, दाजुभाइलाई वा विश्वासिलो साथी, छिमेकीसँग पनि सहयोग लिएर भर्न सकिन्छ । तरिका थाहा भएन भने युट्युबमा भिडियोहरु छन् । हेर्न सक्नुहुन्छ । त्यती गर्दा पनि भएन भने केही सोध्न परेमा हामीलाई नै सम्पर्क गर्न सक्नुहुन्छ ।

अनलाइनमार्फत नै आवेदन दिएपछि अनलाइनबाटै श्रम प्राप्त हुन्छ । बायोमेट्रिक नभएको अवस्थामा बाहेक कार्यालयमा उपस्थित हुन पर्दैन ।

अहिले त हाम्रो सिस्टम निकै राम्रो छ । राहदानी बनाउँदा, राष्ट्रिय परिचयपत्र बनाउँदा नै बायोमेट्रिक लिएको हुन्छ । राहदानी विभागसँग हाम्रो सिस्टम ‘टाइअप’ भएको छ ।

अहिले हाम्रो यो सेवा अनलाइन त छँदैछ । त्योसँगै सेवाको विकेन्द्रीकरण भइसकेको छ । सातवटै प्रदेश कार्यालयबाट सेवा प्रवाह हुन्छ । पोखरा, विराटनगर, भैरहवा र बुटवलबाट त संस्थागत, व्यक्तिगत श्रम स्वीकृति र श्रम नवीकरणको सेवा लिन सकिन्छ । अब सुर्खेत र धनगढी लगायतका अन्य कार्यालयबाट पनि सबै खालका सेवाहरु प्रदान गर्ने कार्यको थालनी भइरहेको छ । सबै प्रदेशबाट पुनः श्रम स्वीकृति लिन पाइने व्यवस्था पनि छदैछ । त्यसैले ढुक्क भएर बिचौलियापछि नलागी श्रम स्वीकृति लिनुहोस् ।

साभारः उज्यालो अनलाइन


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आज दुईदिने नेपालको राजकीय भ्रमणका क्रममा काठमाडौँ आइपुगेका…

खोटाङ-कुवेत सम्पर्क मञ्चल छैठौं अधिवेशन मे २४ मा हुने भएको छ । मञ्चले नेपालबाट गायक तथा संगीतकार अनिल कोयी राईलाइ…

महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या बढेको छ। दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेरर ४४ पुगेको छ। निकुञ्जका…

प्रतिकृयाहरू
...