Thursday 25th April 2024

आशीर्वादले हासिल भएको छविलाल खड्काको एउटा सफलता


म्यामराज राई – साहित्यकार छविलाल खड्कासँग मेरो भौतिक रुपमा चिनापर्ची छैन।विशेषत: साहित्यमा आख्यानको सानो रुप लघुकथा विधाले भने गजबको मित्रताको एउटै डोरीले बाँधिदियो।अझ भनौं,साहित्यिक साइनोमा एकार्कामा नजिकको भयौं।सामाजिक सन्जालमैत्री यो सत्तरीको दशकमा हामी पनि मुहार पुस्तिकामा झण्डै वर्ष दिन अघि साथी बन्यौं।सामाजिक सन्जालमा साथी हुनु अगाडिबाट लघुकथाको माध्यमबाट मैले उहाँलाई पढिरहेको थिएँ।मेरो पनि लघुकथा विधा सबैभन्दा बढी मन पर्ने साहित्यिक विधाभित्र पर्दछ।त्यसकारण पनि उहाँ मेरो चासोभित्र पर्नुभयो।परिरहनु भयो।फलत: डिजिटिल प्रतिमा भए पनि यो सङ्ग्रह पढ्न मैले माग गरें।उहाँको जन्म माता स्व. भिमकली खड्का तथा पिता स्व. भिउँदल खड्काको सुपुत्रको रुपमा वि.सं.२०२५ साल चैत २३ गते रुँघा,रुकुममा भएको हो।हाल कोहलपुर –६,बाँकेको स्थायी बसिन्दा हुनुहुन्छ।शैक्षिक योग्यतामा स्नातक तह पूरा गरी हाल निजामती कर्मचारीको रुपमा सेवारत हुनुहुन्छ।हाम्रो पूर्णिमा साहित्यिक प्रतिष्ठान,कोहलपुर,बाँके र राप्ती साहित्य परिषद शाखा कार्यालय रुकुम पश्चिमको आजीवन सदस्य हुनुहुन्छ।उहाँ लघुकथा,साईनो र कविता आदि विधामा कलम चलाउनुहुन्छ।खड्काले ‘बहिनीलाई चिट्ठी’ शीर्षकको कविता २०४५ सालमा राप्ती सन्देश पत्रिकामा प्रकाशन पश्चात आफ्नो साहित्य लेखनको श्रीगणेश गर्नुभएको थियो।लघुकथाको क्षेत्रमा भने ‘कोरोना क्याप्सुल’ शीर्षकको लघुकथा मिसन टु डे पत्रिकाको २०७७ साउन अंकमा प्रकाशित गरेर औपचारिक रुपमा लेखन थालनी गर्नुभएको हो।उहाँको सङ्ग्रहको रुपमा प्रकाशित कृतिहरूमा ‘शहिदको सन्देश लघुकाव्य – २०४९’,‘बिरौटो साईनो सङ्ग्रह – २०७७’ तथा ‘आशीर्वाद लघुकथा सङ्ग्रह-२०७८’ बजारमा उपलब्घ छन्।जसमध्ये आज म आशीर्वाद लघुकथा सङ्ग्रह-२०७८ बारेमा केही चर्चा गर्न चाहन्छु।

विषय प्रवेश –
म समालोचक हैन।तर,रहर गरेर यो उत्कृष्ट आशीर्वाद लघुकथा सङ्ग्रहमाथि लेख्ने प्रयास गर्दैछु।नेपाल प्रज्ञा-प्रतिष्ठानले उत्पादन गरेको डिजिटल नेपाली बृहत् शब्दकोशको आधारमा ‘आशीर्वाद’ शब्द नाम हो।यसको अर्थ (१)प्राय मान्यजनले आफूमन्तिरकाको सफलता वा कल्याणको कामनाले प्रकट गर्ने शुभेच्छा।(२)ब्राह्मणवर्गबाट यजमानको उन्नतिका लागि मन्त्र पढेर दिइने शुभकामना,आशिष्,भनिएको छ।यही अर्थसहितको सुन्दर शब्दबाट कृतिको नाम जुराइएको छ।लघुकथाकारले यो सङ्ग्रह नेपाली साहित्यमा लघुकथा विधाको पहिलो सङ्ग्रह(झिल्का- २००७) प्रकाशन गर्ने लघुकथाकार पूर्णप्रसाद ब्राह्मणप्रति सादर समर्पण गर्नुभएको छ।कतिपय लघुकथाकारहरूले ब्राह्मण नै पहिलो लघुकथाकार हुन् समेत भन्ने गरेका छन्।यसै सन्दर्भमा थोरै प्रसंग कोट्याउन चाहें।मुहार पुस्तिकामा लघुकथा कुनो पेजको व्यवस्थापक नारायण तिवारी लघुकथा कुनोको दसौं वार्षिकोत्सवको अवसरमा लेख्नुहुन्छ,”इतिहास पल्टाइहेर्दा फुटकर लघुकथा सर्जकको रुपमा पहिलो व्यक्ति भीमनिधि तिवारी हुन्।उनको लघुकथा – दान शीर्षक (वि.सं. १९९६मा शारदा मासिक पत्रिकाको वर्ष ५,अङ्क १,पृष्ठ ९)मा प्रकाशित छ,जुन पेजमा समेत पोष्ट गर्नुभएको छ।उहाँ अगाडि थप्नुहुन्छ,”समय कालखण्डको आधारमा तिवारी पछि भूपी शेरचन,पर्शुराम रोका र पूर्णप्रसाद ब्राह्मण हुन्।”आवरण चित्र अन्तर्गत अमूर्तमा निकै आकर्षक छ।प्रतीकात्मक स्पष्ट देखिन्छ।प्रकाशकमा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान रहेको छ।मूल्य रु.२७५ तोकिएको छ।आवरण चित्र विक्रम शिशिर तथा कथागत भावचित्र सुरज सुवेदीको छ।यस सङ्ग्रहलाई शुभकामना दिनुहुनेमा डा. रवीन्द्र समीर र लता केसी हुनुहुन्छ।’आशीर्वादभित्र लघुकथाकार छविलाल खड्का’ भन्ने शीर्षकमा डा. शेखर कुमार श्रेष्ठले कथागत मिहिन ढङ्गले चिरफारसहित भूमिका लेख्नुभएको छ।अन्तिमबाट दोस्रो पातोमा लघुकथाकारले प्रत्यक्ष सहयोग दिने महानुभावहरूप्रति आभार व्यक्त गर्नुभएको छ।

“कथातत्वले पूर्ण भएका ससाना कथा – बृहत् नेपाली शब्दकोश।” प्रस्तुत कृति ‘आशीर्वाद’का ५१ ओटै लघुकथाहरू यही भावनामा रहेका छन्।कथागत चित्रले लघुकथालाई सुनमा सुगन्ध थपेको छ।पुस्तकमा हरेक लघुकथा दुई पृष्ठमा समापन गरिएको छ।सुहाउॅंदा पात्रहरू छनौट गरिएको महसुस हुन्छ।पुरुष पात्रमात्र भएका लघुकथाहरूमा सरप्राइज,कर्मको फल,वातावरण दिवस,चुनाव,सम्मान,गुनको पैंचो,भूमिका,नालायक,चतुर्याइॅं र भ्रममार्ग आदि छन्।त्यसैगरी,महिला पात्रहरू मात्रै प्रयोग गरेर उठाइएका कथाहरू पनि छन्।जस्तै – पर्दाफास,डर र बाघभालु आदि।जङ्गली जनावरहरू बाँदर,गुना/गुनेनी,बाघ र सिंह आदि प्रतीकात्मक रुपमा प्रयोग गरिएका छन्।
बाँदर,गुना/गुनेनी पात्रको रुपमा लघुकथा ‘जुक्ति’मा तथा बाघ र भालु पात्र बनाइएको लघुकथाहरू ‘झ्यालखाना’ र ‘बुद्धिको बिर्को’ हुन्।मानवेतर पात्रहरू पनि छन्।जस्तै – मृतात्मा,नाङ्गो खुट्टा,कुर्सी र खाट आदि।’हाकिम पुराण’मा पात्रहरू मानव(नारी) र मानवेतर कुर्सीको सम्वाद छ।’घात’मा मानव पात्र सॅंगसॅंगै मानवेतर पात्रहरू कुर्सी र खाटको समेत सहभागिता रहेको पाइन्छ भने ‘सम्मान’मा नाङ्गो खुट्टालाई पात्रको रुपमा पाइन्छ।देखाउने दाँत,आश्चर्य,विजय भोज,समय,योग्यता,उपहार आदि शीर्षकका लघुकथाहरूमा नारी पात्र नेपथ्यतिर हुन सक्ने देखिन्छ।बाँकी सत्ताइस ओटा लघुकथाहरूमा भने नारी र पुरुष पात्रहरूलाई प्रत्यक्ष स्थान दिइएको भेटिन्छ।पात्रको अवस्था,परिवेश,चरित्र र भूमिकानुसारका भाषाहरू पनि प्रयोग गरिएका छन् जुन अस्वाभाविक लाग्दैन।

छविलाल खड्काका लघुकथाहरू अधिकांश समसामयिक विषयवस्तुका छन्।विश्वलाई तहसनहस बनाउने कोभिड-१९,कोरोनाकालसॅंग सम्बन्धित लघुकथाहरू विजय भोज,ए ग्रेड,भोक,गुनको पैंचो आदि छन्।कोरोना सङ्क्रमण भएको बखत छि:छि: दुरदुर गरे पनि उनैले कोरोना सङ्क्रमण मुक्त भएको अवसरमा आयोजना गरेको भोजमा भने स्वार्थी गाउॅंलेहरू भेला भएको देखिन्छ।’ए ग्रेड’मा कोरोनाले शैक्षिक क्षेत्रमा प्रत्यक्ष असर गरेको देखिन्छ।पात्रले आफ्नो वास्तविक क्षमताभन्दा नातावादले परीक्षामा ए ग्रेड ल्याएको देखाएर कथा शीर्षकले सार्थकता पाएको छ।सहारा छोरो थिए तर बितेपछि आमा पात्र भोक मेटाउन बाहिर निस्केकी छिन्।कोरोनाको डरले भन्दा भोकले मरिने कुरो ‘भोक’ कथामा मर्मस्पर्शी तरिकाले देखाइएको छ।’गुनको पैंचो’मा जीवन-मरणको दोसाँधमा पुगेका कोरोना सङ्क्रमितलाई असहयोग गर्ने बैगुनी चरित्रको नेतालाई चुनावमा पख्लास्!भनी चेतावनी दिइएको छ।’कुलाङ्गार’मा आफूले कमाएर दिनुपर्नेमा उल्टै सरकारबाट पाएको आमाको वृद्धाभत्ता भट्टीमा सकाउने कुलाङ्गार छोरोको पर्दाफास गरिएको छ।भनाइ र गराइ नमिलाउने राजनीति र राजनेताहरूप्रति खड्का खरो रुपमा उत्रिनुभएको छ।उदाहरणको रुपमा आश्चर्य,गुनको पैंचो,योग्यता,चुनाव प्रचार,नालायक,चतुर्याइॅं आदि हेरे पुग्छ।अस्पताल,आशीर्वाद,चिसो ताप,परिणाम,बा,मातृत्व,भगवान्को कृपा,सतबिउ,मर्निङवाक,ईश्वरको खोजी र नपुङ्सक आदि पारिवारिक कथाभित्र विवाह,माया,विछोड,पीडा,घृणा,यौन चाहना,झगडा आदि सजिलै महसुस गर्न सकिन्छ।’ओखती’मा हिस्टेरियाको बिरामी केन्द्रमा छ।घरको बोझ बोक्ने श्रीमान्को भार थाम्नुपर्ने कारण बाध्यतावश यौनकर्मी हुनुपरेको मार्मिक कथा छ ‘बाध्यता’मा।’सन्तान’मा साक्षात् भगवान् बुवाको स्याहार गर्न परपर भाग्ने तर अंश,सम्पत्ति चाहिॅं अघिअघि चाहिने कुपुत्रहरूको कथा छ।’गुरुदेव’मा नारीप्रति आसक्ति धर्मगुरु देखिन्छ।बालमनोविज्ञानमा आधारित कथाहरू ‘प्रार्थना’ र भोक दिवस’ हुन्।गलत आचरण भएका कर्मचारीहरूको कर्तुत ‘सुब्बाहरू’,’उपहार’,’वातावरण दिवस’ आदि कथाहरूमार्फत उजागर भएको छ।

व्याकरणात्मक हिसाबले डर लघुकथाको अन्तिम अनुच्छेदको पहिलो हरफमा ‘आमा’ र ‘मानिन’ शब्दहरू हुनुपर्ने थियो।त्यस्तै,भ्रममार्गको अन्तिमबाट दोस्रो अनुच्छेदको पहिलो हरफमा ‘एकोहोरो’ शब्द हुनुपर्नेमा अन्य भयो कि!लघुकथाकार छविलाल खड्काले केही अपवादका कामहरू गर्नुभएको देखें।जस्तो कि!प्राय: स्रष्टाले सङ्ग्रह प्रकाशनसम्म आइपुग्दाका क्षणहरू शब्दमा समेटेर लेखेको हुन्छ तर उहाँले लेख्नु भएको छैन।त्यसैगरी अधिकांश कृतिहरूमा सबैभन्दा पछाडि स्रष्टाको फोटो तथा सामान्य परिचय बुँदागत रुपमा भेटिन्छ तर उहाँको यो सङ्ग्रहमा त्यो भेटिॅंदैन।प्रकाशकको नियम वा नयाँ प्रयोग गरिएको पनि हुनसक्छ।

निचोड –
लघुकथाकार छविलाल खड्काले यो सङ्ग्रहमा एउटा समय पक्रनु भएको छ।देश तथा समाजका विकृति,कुसंस्कारलाई खुलेर पर्दाफास गर्नुभएको छ।समकालीन घट्नाहरू अटेका छन्।पठनीय सङ्ग्रह बनेको छ।समग्रमा उत्कृष्ट कथाहरू समावेश भएका छन्।तराजुमा जोख्ने हो भने एकाध बाहेक बराबर वजनका छन्।मलाई व्यक्तिगत रुपमा असाध्यै मन परेको लघुकथाहरूमा सरप्राइज,आशीर्वाद,पर्दाफास,परिणाम,देखाउने दाँत,चुनाव,ऐलानी,सुब्बाहरू,बुद्धिको बिर्को,नालायक,ईश्वरको खोजी,प्रार्थना,भोक दिवस आदि हुन्।
कृति सफलताको हार्दिक शुभकामना।
~॰॰॰~

हतुवागढी-६,होम्ताङ्,भोजपुर,हाल:-जापान


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट, यस क्षेत्रको खुद्रा प्रमुख, कुवेतमा आफ्नो सञ्चालनको २२ औं वार्षिकोत्सव ब्रान्डको अलराइ आउटलेटमा २४अप्रिलमा एक मेगा उत्सवको साथ…

मेडिकल जनरल ल्यान्सेटको पछिल्लो प्रतिवेदन अनुसार विश्वभर प्रोस्टेट क्यान्सरका घटना बढिरहेका छन् । ल्यान्सेटले यस रिपोर्टमा सन् २०२० मा प्रोस्टेट…

एएफपी-इजरायलले १५ लाख प्यालेस्टिनीको आश्रयका गाजाको दक्षिणी शहर रफाहमा सैन्य कारबाही सुरू भएमा यसले निर्दोष थप सर्वसाधारणको हताहत बढ्ने भन्दै…

प्रतिकृयाहरू
...