बन्दना घिमिरे – लघुकथाकार अल्पविराम पोखरेलीले हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नुभएको लघुकथा ” नजराना” पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु ।
अग्रज लघुकथाकार अल्पविराम पोखरेलीसँग सात्क्षात्कार गर्ने सुअवसर प्राप्त गर्न नसकेपनि सामाजिक संजाल र लघुकथाको माध्यमबाट परिचित छु ।लघुकथा लगायत साहित्यका विभिन्न विधामा कलम चलाउनुहुने साहित्यकार अल्पविराम पोखरेलीको वास्तविक नाम बिष्णु कुमार श्रेष्ठ हो । माता देउ कुमारी श्रेष्ठ र पिता देवी प्रसाद श्रेष्ठका पुत्ररत्न अल्पविराम पोखरेलीको जन्म २०१०/१०/१० मा भएको हो । सानै उमेर देखि साहित्यमा रुची राख्नुहुने साहित्यकार श्रीमती राजेश्वरी श्रेष्ठका साथ बगाले टोल, पोखरामा स्थायी बसोबास गर्नुहुन्छ । स्नातक सम्मको अध्ययन गर्नु भएका साहित्यकार सेवानिवृत लेखा अधिकृत हुनुहुन्छ ।
साहित्यकार श्रेष्ठका दुई मुक्तक सङ्ग्रहहरु, दुई कविता सङ्ग्रहहरु र अनुभूतिका रंङ्गहरु लघुकथा सङ्ग्रह प्रकाशित भईसकेका छन् भने केही थान कृतिहरु प्रकाशोन्मुख रहेको मैले जानकारी पाएकी छु । २०७१ सालदेखि लघुकथा लेखन प्रारम्भ गर्नुभएका लघुकथाकार लघुकथा लेखनमा मात्र सिमित नरही यसको उन्नयनमा समेत सक्रिय हुनुहुन्छ । उहाँका लेखरचनाहरु पोखराका स्थानिय दैनिक पत्रिकाहरुको साथै मधुपर्क, गरिमा, गोरखापत्र जस्ता राष्ट्रिय स्तरका पत्रपत्रिकामा समेत पढन पाईन्छ । उहाँका लघुकथाहरुमा समकालीन समाजका बेथितिमाथि चोटिलो व्यंङ्य गरिएको मैले पाएकी छु ।
प्रस्तुतकथा ”नजराना”मा स्नेहलता र अनिल दुई प्रमुख पात्रहरु रहेका छन् । यीनै दुई पात्रको वरिपरि कथानक घुमेको छ ।कथा यसरी शुरु भएको छ ।तीर्थ यात्रामा जाँदा शुभ साईत जुराएर जाने परम्परा अनुसार स्नेहलता र अनिल दम्पति ज्योतिषले दिएको शुभ साईत पारेर बसमा स्वर्गद्वारीको यात्रा गरिरहेका थिए ।
ओ गुरू ! घुम्ती र साँगुरो सडक त्यस माथी ओरालो, बसअलि विस्तारै हाक्नुस् न है । एउटा यात्रुले यति भन्न नभ्याऊॅदै क्षमता भन्दा दोब्बर यात्रुको सेवा गर्न उध्दत बस अचानक भीरबाट गुल्टियो । यात्रुहरू धेरैको मृत्यु भयो । मृतकको लासको पङ्तिमा स्नेहलता र अनिलको पार्थिव शरीर पनि थियो । तर आत्मा यम दरबारमा पाप पुण्यको फैसला सुन्न प्रतीक्षारत थियो । यमराजले आशन ग्रहण गरे पश्चात चित्रगुप्तले उनीहरूको पाप पुण्यको फेहरिस्त बताउन थाले । पहिलो पालो आयो स्नेहलताको । चित्रगुप्तले भने तिमीले देवी देवताको पूजा आराधना त निकै गर्यौ तर असाध्य छुवाछुत गर्ने र अपाङ्ग असहायहरूलाई दान दिनु त परै जाओस बरू घृणा गर्यौ त्यसैले तीन चौथाई नर्कमा बिताए पछि एक चौथाई स्वर्ग भोगगर्न पाउने छौ । आयो पालो अनिलको तिमीले देवीदेवतालाई तटस्थ भावले हेर्यौ कहिल्यै पूजा आराधना गरेनौ त्यसैले दशमा एकाशं नर्कमा र अपाङ्ग असहायहरूको सेवा गर्ने भावनाले ओतप्रोत भएर दान गरेको हुनाले नवाङ्स स्वर्गको भोग गर्ने छौ ।
चित्रगुप्त महाराज ! तपाईलाई पनि यसले नजराना टक्रयाए जस्तो छ । स्नेहलता च्याँठ्ठिई ।यसरी कथा समापन गरिएको छ ।
सिध्दहस्त अग्रज लघुकथाकार लिखित कथामा देवी देवताको पुजा गर्नेहरु छुवाछुत जस्तो अमानविय र अन्धपरम्परा मान्छन त्यसो गर्नुभन्दा कहिल्यै धर्मकर्ममा मन नलगाई तटस्थ बसेपनि असहाय र अपाङ्गहरु सेवागर्नु ठुलो धर्म हो भन्ने सकारात्मक संन्देश दिन सफल रहेको छ लघुकथा नजराना । कथा सलल बगेको छ । सरल र सुबोध छ । शिर्षकले सार्थकता पाएको छ ।सिध्दहस्त कलम लिखित लघुकथा म जस्ता सिकारु नवोदित लघुकथाकारहरुका लागि मानक लघु कथा बन्नेमा विश्वस्त छु ।
अन्त्यमा साहित्यकार अल्पविराम पोखरेलीको साहित्यिक यात्रा माछापुच्छ्रे हिमाल झैं अग्लियोस् । लघुकथाका नविनतम् संस्करण पढ्न पाईयोस् भन्दै उहाँको सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
बन्दना घिमिरे
हरिवन-१०, सर्लाही
हाल गठ्ठाघर, भक्तपुर
लघुकथा : नजराना
अल्पविराम पोखरेली
तीर्थ यात्रामा जाॅदा शुभ साईत जुराएर जाने परम्परा अनुसार स्नेह लता र अनिल दम्पति ज्योतिषले दिएको शुभ साईत पारेर बसमा स्वर्गद्वारीको यात्रा गरिरहेका थिए ।
ओ गुरू ! घुम्ती र साॅगुरो सडक त्यस माथी ओरालो , बश अलि विस्तारै हाॅक्नुस् न है । एउटा यात्रुले यति भन्न नभ्याऊॅदै क्षमता भन्दा दोब्बर यात्रुको सेवा गर्न उध्दत बश अचानक भीरबाट गुल्टियो । यात्रुहरू धेरैको मृत्यु भयो । मृतकको लासको पङ्तिमा स्नेह लता र अनिलको पार्थिव शरीर पनि थियो । तर आत्मा यम दरबारमा पाप पुण्यको फैसला सुन्न प्रतीक्षारत थियो । यमराजले आशन ग्रहण गरे पश्चात चित्रगुप्तले उनीहरूको पाप पुण्यको फेहरिस्त बताऊन थाले । पहिलो पालो आयो स्नेहलताको । चित्रगुप्तले भन्यो * तिमीले देवी देवताको पूजा आराधना त निकै गर्यौ तर असाध्य छुवाछुत गर्ने र अपाङ्ग असहायहरूलाई दान दिनु त परै जाओस बरू घृणा गर्यौ त्यसैले तीन चौथाई नर्कमा बिताए पछि एक चौथाई स्वर्ग भोग गर्न पाऊने छौ । अब आयो पालो अनिलको * तिमीले देवीदेवतालाई तटस्थ भावले हेर्यौ कहिल्यै पूजा आराधना गरेनौ त्यसैले दशमा एकाॅश नर्कमा र अपाङ्ग असहायहरूको सेवा गर्ने भावनाले ओतप्रोत भएर दान गरेको हुनाले नवाङ्स स्वर्गको भोग गर्ने छौ ।
चित्रगुप्त महाराज ! तपाईलाई पनि यसले नजराना टक्रयाए जस्तो छ । * स्नेहलता च्याॅठ्ठियो ।