तोयानाथ उपेक्षित,तीतोपाटी/जातको वा जातिय व्यवस्थाको कुनै पनि प्रावधान नेपालको संविधानमा छैन तर प्राय सवै जातिमा यसको खिल मज्जाले गडेको देखिन्छ । कहिले कहीँ लाग्थ्यो बाहुन मात्रै दोषी हुन तर त्यो आंशिक सत्य मात्र हो । सवै जात जातिमा विभेदको संस्कार वंशानुगत स्मृतिका रुपमा कायम छ । बाहुनलाई दोष दिनेहरुले आफू भित्र रहेको जातिय सोचको संर्किणतालाई कहिल्यै गंभिर भएर नियालेको पाईन्दैन ।
मेलिना राईको अन्तरजातिय इन्गेजमेन्टको कुरा जब बाहिर आयो उनलाई सवै भन्दा धेरै गाली गर्ने राईहरु नै भैदिए । मेलिनाको आफ्नो जिवन साथी चुन्न पाउने नितान्त व्याक्तिगत अधिकार भए पनि उनी रुकुम रोल्पामा भएको भए उनका प्रेमीलाई अर्को नबराज बनाउने रहेछन भन्ने देखियो । छुवाछुत समाजिक रोग हो जसको विरुद्धमा समाज एकमत छ भनिन्छ तर यो सरासर झुठ कुरा रहेछ भनेर भन्न पर्ने हुन्छ । अरुको जातमा पर्दा ठिक मान्ने वा समाजको परिवर्तनका लागि विद्रोह गरे भनेर उक्साउनेहरु आफ्नै जातमा, समाजमा वा घर परिबारमा त्यही घटना भैदियो भने अपराधमा परिभाषित गरिदिन केही बेर नलाग्ने रहेछ । सामाजिक सञ्जालका कमेन्ट, आक्रोश, अर्ति र उपदेश हेर्दा कथनी र करनीको बीचमा कति ठुलो खाडल रहेछ भनेर सहजै अनुमान लगाउन सकिन्छ । नबराज विक काण्डमा पनि मल्ल समुदायको प्रतिरोध त्यसको गतिलो प्रमाण हो । यस्ता ज्ञात अज्ञात धेरै घटना समाजमा दिनहु भई रहेकै छन ।
जात होईन बर्ग विभेदका विरुद्ध संघर्ष गर्न पर्छ भनेर सिकाउने राजनिती र क्रान्तिका कुरा गर्ने गुरुहरु पनि स्वयंमा स्पष्ट छैनन् । उनीहरुले समेत परोक्ष रुपमा यस्ता कुरितीहरुलाई राजनैतिक लाभ हानीमा तौलिरहेको पाईन्छ । यो आरोप जनार्दन शर्मालाई मज्जाले लागेको छ । अर्थात यति भनौ की जातिय विभेद हाम्रो समाजको खिल हो यसलाई अप्रेशन गर्न नीति निर्माण गर्नेले कानून बनाएर मात्र पुग्दैन । यो समस्या कुनै बीर योद्धाले युद्ध लडे जस्तो ओभर नाईटमा समाधान हुने विषय होईन । यसलाई उत्तेजनाको विषय नबनाएर सामान्य घटनाका रुपमा मात्र लिने हो भने कालान्तरमा आफै समाधान हुदै जानेछ । नेपालमा अन्तरजातीय विवाहलाई जसरी हेरिन्छ त्यति कठोर रुपमा हाम्रा छिमेकी मुलुक भारतको दार्जेलिंग र सिक्किमका नेपाली बस्ती र समाजमा हेरिन्न ।
स्वभाविक रुपले जातिय वर्ण व्यवस्था जतिबेला देखि जसले जुन नियतले लागु गरेको भए पनि त्यसलाई मलजल गर्ने काम हाम्रै समाजले गरेको हो , पालिपोसी गर्ने, हुर्काउने, बढाउने र मजबुद बनाउने काम हामीले नै गरेका हौ र आज पनि हामी त्यो मान्यतालाई त्याग्न चाहादैनौ भन्ने नै देखिन्छ । तत्कालीन समयमा काम बाडफाडको रुपमा जात व्यवस्था सर्वस्वीकार्य थियो होला । यदि लादिएको नै भए पनि तत्कालिन बुझाई आजको जस्तो नहुन सक्छ । त्यो स्वीकार गर्न सक्ने उतिवेलाको समाज दोषी नहुन सक्छ, दोष अहिलेको समाजमा छ, अहिलेको पिडीमा छ जसले चुपचाप स्वीकारेका छन र मौनता देखाई रहेका छन् । आखिर यो सव गर्ने बाहुन हुन भनेर मान्ने हो भने बाहुन बाहेक अरुका बीचमा रहेको विभेद चाहीँ किन विद्यमान छ ? भन्ने प्रश्नको उत्तर खोज्न सक्नु पर्छ । अरुले आफू र आफू भन्दा तलका भनिएका जातिहरुमा समानताको लागि कति प्रयत्न गरिएको छ भनेर हेर्न पर्दछ । त्यसो गर्न पनि बाहुनले दिएन भने अनि भनौला बाहुन नै दोषी हुन् । नत्र बाहुनलाई दोष दिएर पन्छन कसैले मिल्दैन । सवै जातजाति उतिकै दोषी छन् नकी बाहुन मात्र ।
कमसेकम अछुत भनिएकाहरु बीचमा त छुवाछुत नहुन पर्ने हो ? तर त्यसो पनि हुन सकेको देखिन्दैन । पानी चल्ने र नचल्ने भनिएकाहरु बीचमा एकरुपता ल्याउन पनि कसैले भूमिका खेलेको स्पष्ट उद्दाहरण छैन । जति पनि जातिहरु नेपालमा छन ती सवैमा जातिय विभेदको जरा फेदै सम्म छ । सवैले आ आफ्नो ठाउँबाट यस महारोगका विरुद्धमा लड्न जरुरी छ । यदि आफूले तल्लो जातसँग सम्बन्ध गास्न सकिन्दैन भने त्यो उसको ईच्छा हो जबरजस्तीले अर्को विद्रोह जन्माउछ तर मेलिना जस्ता हजारौ लाखौको निर्णय माथि धावा बोल्न त भएन नी । यति मात्र बन्द गर्ने हो भने पनि धेरै सुधारको अपेक्षा गर्न सकिन्छ । जसले गर्दा तत्कालीन समाजमा विद्रोह गर्ने मेलिनाहरु आफ्नो ईच्छामा रमाउन सकुन र अरु नबराजहरुले जिवन अकालमा गुमाउन नपरोस ।