Thursday 18th June 2026

श्रममन्त्री श्रेष्ठ नेतृत्वको टोली युएई, सेसेल्स र कतार भ्रमणमा जाँदै


तीतोपाटी । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली युएई, सेसेल्स र कतारको भ्रमणका लागि सोमवार त्यसतर्फ प्रस्थान गर्दैछ । नेपाल-युएई संयुक्त समितिको वैठकका साथै रोजगारीका लागि पर्यटन भिसामा संयुक्त अरव इमिरेट्स पुगी अलपत्र परेका नेपालीहरुको समस्या समाधानका लागि मन्त्री श्रेष्ठ नेतृत्वको टोली युएई प्रस्थान गर्न लागेको हो ।

भ्रमण टोलीमा मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा.थानेश्वर भुषाल, परराष्ट्र मन्त्रालयका उपसचिव प्रकाश अधिकारी र केन्द्रीय अनुसन्धान व्युरोका प्रहरी नायव उपरीक्षक रोशन खड्का छन। भिजिट भिसामा लैजाने व्यक्ति/संस्थाहरूलाई कानुनी दायरामा ल्याउन केन्द्रीय अनुसन्धान व्युरोका प्रहरी नायव उपरीक्षकलाई पनि टोलीमा समावेश गरिएको हो ।

भ्रमणका क्रममा मन्त्री श्रेष्ठले संयुक्त अरव इमिरेट्सका आफ्ना समकक्षीका अतिरिक्त त्यहाँका उच्चपदस्थ अधिकारी र नेपाली श्रमिकहरूसँग पनि छलफल गर्ने कार्यक्रम छ । मन्त्री श्रेष्ठले मंगलवार भिजिट भिसा र सोबाट सिर्जित समस्या समाधानका उपायहरूबारे युएईका मानव संशाधनमन्त्री डा अव्दुलरहमान अव्दुलमानन अल अवारसँग छलफल गर्नेछन । मंगलवारनै नेपाल-युएई संयुक्त समितिको वैठक उद्घाटन सत्रमा मन्त्री श्रेष्ठले सम्बोधन गर्नेछन। नेपाल-युएई संयुक्त समिति वैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सहसचिव राजीव पोखरेलले गर्नेछन । नेपाल-युएई संयुक्त समितिको वैठकमा सन् २०१९ मा भएको श्रम-सम्झौता कार्यन्वयनमा देखा परेका समस्या समाधानबारे छलफल हुनेछ ।

बुधवार मन्त्री श्रेष्ठले आबुधावीस्थित नेपाली दूतावासमा नेपाली श्रमिकले भोगेका समस्या र समाधानबारे नेपाली समुदायसँग छलफल गर्ने कार्यक्रम रहेको छ । मन्त्री श्रेष्ठ नेतृत्वको टोलीले बुधवार दुवईमा सरकार मातहत रहेका आप्रवासी घरेलु श्रमिक सेवा प्रदायक संस्थाहरु (तडवीर सेन्टर) मा भ्रमण गर्ने कार्यक्रम छ । सोही दिन उहाँले दुवईमा रहेका नेपाली समुदाय तथा श्रमिकहरुसँग अन्तर्क्रिया गर्नेछन ।

मन्त्री श्रेष्ठ नेतृत्वको टोली बिहिबार साँझ अफ्रिकी मुलुक गणतन्त्र सिसेल्स प्रस्थान गर्नेछ । वैदेशिक रोजगारीका लागि नेपाली श्रमिकहरु लैजान गणतन्त्र सेसेल्सबाट प्राप्त द्विपक्षीय श्रम सम्झौताको प्रस्ताव र रोजगारीका थप अवसरहरुबारे त्यहाँका उच्च अधिकारीहरुसँग छलफल हुनेछ । भ्रमण टोली आइतवार कतार जाने र सोमबार कतारसँगको श्रम सम्झौता नविकरणबारे उच्चस्तरीय छलफल गर्ने कार्यक्रम छ । मन्त्री श्रेष्ठ नेतृत्वको टोली चैत ८ गते मंगलवार स्वदेश फर्कने कार्यक्रम छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

प्रतिकृयाहरू
...