Monday 19th January 2026

काठमाडाैंमा ‘जव सेन्टर’ खेलेर जागिरको प्रलोभन देखाइ ठगी गर्ने ९ जना पक्राउ


उपत्यकाका विभिन्न स्थानमा ‘जब सेन्टर’ हरू स्थापना गरी विभिन्न ठाउँमा जागिर लगाइदिने बहानामा ठगी गरेको आरोपमा ९ जना पक्राउ परेका छन् । आफूहरूसँग विभिन्न नाममा पैसा असुलेर ठगी गरेको भन्दै पीडितले उजुरी दिएपछि प्रहरीले छापा मार्दै सञ्चालकहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा लोकन्थली बस्ने अर्घाखाँची छत्रदेवका २६ वर्षीय अमर पाण्डे, पेप्सीकोला बस्ने ३२ वर्षीय तिलकराम पाण्डे, तारकेश्वर बस्ने लमजुङ दूधपोखरी–२ का २२ वर्षीय आनन्द मरहठ्ठा, ललितपुर सानागाउँ सिरहाका २३ वर्षीय विवेक यादव, ओखलढुंगा घर भई कपन बस्ने २८ वर्षीय अश्विन राई छन् । त्यस्तै, जडीबुटी बस्ने सिन्धुली फिक्कलका २२ वर्षीय घनश्याम पहाडी, रौतहट चन्द्रपुरकी २५ वर्षीया सिर्जना लामिछाने, कोटेश्वर बस्ने विराटनगरकी ४० वर्षीया ज्ञानु न्यौपाने र रौतहट मौलापुरका २२ वर्षीय रामवचन कुमार यादव छन् ।

पाण्डे बानेश्वरको सोसाइटी वेलफेयर फेसिलिटिज म्यानेजमेन्ट सर्भिस प्रालिका सञ्चालक हुन् । मरहठ्ठा बालाजुको दूधपोखरी जब प्लेसमेन्ट एन्ड ट्रेनिङ सेन्टर, विवेक यादव कोटेश्वरको एनएन मल्टिप्रपोज प्रालि र राई काठमाडौं–३२ आकाशेपुलस्थित एबीसी जब एन्ड ट्रेनिङ सेन्टर प्रालि र हलेसी सेक्युरिटी सर्भिस प्रालिका सञ्चालक हुन् । यसैगरी पहाडी कोटेश्वरको सिन्धु रोजगारी सेवा, लामिछाने चाबहिलको प्राश्ना जब इन्टरनेसनल मल्टिप्रपोज प्रालि, न्यौपाने कोटेश्वरको क्विकमान्डु एमपी प्रालि र रामवचन कोटेश्वरकै अनमोल जब मल्टिपल प्रालिका सञ्चालक रहेको प्रहरीले जनाएको छ ।

जागिर लगाइदिने बहानामा ठगी गरेको उजुरी परेपछि महानगरीय अपराध महाशाखाको विशेष टोलीले अनुसन्धान क्रममा आइतबार कोटेश्वर, नयाँ बानेश्वर, चाबहिल, बालाजुलगायतका स्थानबाट उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । कम्पनी खोलेपछि सामाजिक सञ्जाल, पत्रपत्रिका, प्रचार पम्प्लेटका माध्यमबाट ‘घरमै बसीबसी जागिर पाइन्छ’ भनेर प्रचार गर्दै सम्पर्कमा आएकालाई ठगेको उजुरी प्रहरीमा परेको हो । बेरोजगारसँग जागिरका ३ सयदेखि ५ सय रुपैयाँसम्म फाराम शुल्क र १ हजारदेखि ६ हजारसम्म जब ग्यारेन्टी शुल्क लिने गरेको पाइएको महाशाखाका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले बताए ।

जागिरका लागि फाराम भर्ने व्यक्तिहरूलाई विज्ञापनमा उल्लिखित सर्तबमोजिमको काममा नलगाउने तथा जागिरमा लगाए पनि तोकिएबमोजिम तलब सुविधा नदिई केही समयमै जागिर छोड्न बाध्य पार्ने गरेको प्रहरीको अनुसन्धानमा पाइएको छ । कुनै एक जब सेन्टरमा फाराम दर्ता गरिसकेको व्यक्तिलाई तपार्इंको जागिर पक्का भइसकेको छ भनी एकबाट अर्को जब सेन्टरमा पठाई त्यहाँसमेत फाराम शुल्क असुल्ने गरेको पाइएको महाशाखाले जनाएको छ । पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर र बालाजुमा पठाइएको छ ।

-कान्तिपुरबाट


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...