Friday 7th February 2025

लघुकथाकार ढाकामोहन बरालको लघुकथा “हजुरबाको साथी” को पाठकीय टिप्पणी


बन्दना घिमिरे – लघुकथाकार ढाकामोहन बरालले मिति २०७८/१०/२७ गते हाम्रो लघुकथा पाठशालाको भित्तोमा प्रेषित गर्नु भएको लघुकथा “हजुरबाको साथी” पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गरेकी छु ।

लघुकथाकार ढाकामोहन बरालसँग मेरो प्रत्यक्ष भेटघाट भएको छैन । लघुकथा र सामाजिक संजालको माध्यमबाट मात्रै चिनेकी छु । २४ नोभेम्बर २०२१ का दिन “भाषा” नामक लघुकथा प्रेषित गर्दै हाम्रो लघुकथा पाठशालामा जोडिनु भएका लघुकथाकारका ५० भन्दा बढी लघुकथाहरु हाम्रो लघुकथा पाठशालाको भित्तोमा पढ्न सकिन्छ ।

पिता टेकनाथ बराल तथा माता बिष्णुमाया बरालका सुपुत्रको रुपमा मिति २०३०/५/२२गते लघुकथाकार ढाकामोहन बरालको जन्म पोखरा -७,मासबार,कास्कीमा भएको हो । स्नातकोत्तर सम्मको अध्ययन गर्नुभएका लघुकथाकार परीक्षा नियन्त्रण कार्यालय ( पोखरा विश्वबिद्यालय)पोखरामा कार्यरत हुनुहुन्छ ।
उहाँले करिव एक वर्ष अगाडिदेखि लघुकथा लेख्न सुरुगर्नु भएको हो । पहिलो पटक साहित्य पोस्टमा “आईस क्युब” शिर्षकको लघुकथा प्रकाशित भएको थियो।

प्रस्तुत लघुकथामा नाति, हजुरबुबा र बिदेशीबृध्द तीन पात्रहरु रहेका छन् । नातिपात्रले पन्चानब्बे बर्षिय बृध्द हजुरबाको दैनिकीहेर्दै बृध्दअबस्थाको खुसीको यथार्थपरक चित्रण गरेका छन् । परिवेश पोखराको रहेको छ ।कथा यसरी शुरु भएको छ । तालको किनारमा फुटपाथ बनाए पछि आज भोलि प्रात:काल र साँझमा निकै भिड हुन थालेको छ । पन्चानब्बे वर्ष काट्नु भएको मेरो हजुरबा पैसठ्ठी वर्षको जस्तो देखिनु हुन्छ । उमेरमा ताल पारीको रानीबनबाट एक्लै काटेर ल्याएका थाम प्रयोग गरेर बेलपाटन भरिमा अग्लो घर बनाएको गफ लगाउदै, गीत गुनगुनाउँदै,सधैँ खुसी रहनु हुन्छ। प्रफुल्ल मुद्रामा करेसाबारी छेउको उखु काटेर टेक्दै साँझको भ्रमणमा निस्कनु भयो हिजो। आज बाहिर हेर्दा त मुस्किलसँग मेवा टिप्दै हुनुहुन्थ्यो । मलाई लाग्यो “आज बुढालाई मेवा खान मन लागेछ ।” गएर मेवा झारिदिएँ । हजुरबा फेरि मेवा लिएर डुल्न निस्कनु भयो । मलाई खुल्दुली भयो हजुरबाको गतिविधिमा । म पनि हजुरबाले थाहा नपाउने गरेर दूरी कायम गर्दै वहाँको पछि लागेँ । हजुरबा हातमा पाकेको मेवा झुन्ड्याउँदै गैराको चौतारामा पुग्नु भयो र बस्नु भयो प्रेमीले प्रेमिकालाई कुरे जस्तै एकोहोरो बाटोमा हेरिरहनु भयो । म आँखा छलेर चौताराको पछाडी लुकेर हेरि रहेँ । केही समय पछि एक जना लगभग असी वर्षको जस्तो बिदेशी हाँस्दै आयो नजिकै बस्यो । मामा घरमा आउनुहुँदा रमाएका केटाकेटीहरुका अनुहार जस्तै भयो मेरो हजुरबाको मुहार पनि । उसले झोलाबाट अँगुर र सुन्तला निकाल्यो दुबैजना मिलेर खान थाले । उसले झोलाबाट चक्कु निकालेर हजुरबाले ल्याएको मेवा काट्न थाल्यो । दुबै जना मुखमा हेर्दै ईसारामा कुरा गर्थें । नेपाली भाषा उसले नबुझ्ने , उसको भाषा ( अंग्रेजी पनि होईन सायद ईटालियन हो कि ?) हजुरबाले नबुझ्ने तर पनि गफ गाफ चलिरहेको थियो । “छोटो समयको लागि भेट भए पनि , भाषा रहनसहन नमिले पनि अनौठो मित्रता हुन सक्दो रहेछ” सोच्दै उहाँहरु दुबैको अगाडि पुगेँ र हाँस्दै हजुरबा उहाँको नयाँ साथीको टाउको हल्का ठोक्याईदिएँ ।यसरी कथाको अन्त्य भएको छ ।

लघुकथाको बिषयभाव नयाँ छ । शारीरिक रुपले सक्रिय रहदा बृद्धअबस्थामा जीवनयापन सहज हुने, बृद्धअबस्थामा साथीको आवश्यकता पर्ने र भाषाले केही फरक नपार्ने कुरालाई कथाले उजागर गरेको छ । कथा सरल र सुबोध छ ।

३६० शब्दमा लेखिएको कथामा लघुकथामा हुनपर्ने लघुत्व, सुक्ष्मता नभएको जस्तो लाग्यो मलाई । लघुकथाकार आफैले पढदै अनावश्यक जस्तो लाग्ने शब्दहरु हटाउदै परिमार्जन गर्दा, कथाको समापन अनुसार बिपरित भावबाट उठान गर्नपाए र संवादको प्रयोग हुदाँ कथा निकै राम्रो बन्ने मेरो पाठक मनले देखेकी छु ।

अन्त्यमा, लघुकथाकार ढाकामोहन बरालको साहित्यिक आयामहरु माछापुच्छ्रे हिमाल झैं चम्किलो हुँदै जाओस्।अझै राम्रा र स्तरीय लघुकथा पढ्न पाइयोस् भन्दै सु- स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

गठ्ठाघर, भक्तपुर

लघुकथा: हजुरबाको साथी
ढाकामोहन बराल
पोखरा ७ मासबार कास्की ।

तालको किनारमा फुटपाथ बनाए पछि आज भोलि प्रातकाल र साँझमा निकै भिड हुन थालेको छ । पन्चानब्बे वर्ष काट्नु भएको मेरो हजुरबा निरन्तरको हिँडाई र शारीरिक सकृयताको कारण हो अथवा के हो भरखरै पैंसठ्ठी वर्षको जस्तो देखिनु हुन्छ । उमेरमा ताल पारीको रानी बनबाट एक्लै काटेर ल्याएका थाम प्रयोग गरेर बेल पाटन भरिमा अग्लो घर बनाएको कुरा सेता फुलेका जुँघामा हात लगाउँदै भन्नु हुन्थ्यो ।आज भोलि वहाँ पनि साँझ यतै हिंड्न रुचाउनु हुन्छ । सायद यही तालको पानी खाएर हुर्केको सम्झनु हुन्छ होला । अस्ति हजुरबा फर्कदा गीत गुनगुनाउँदै हुनुहुन्थ्यो ।
मेरो हजुरबा सधैँ खुसी नै देखिने मानिस हुनुहुन्छ तर उक्त दिन अलि बढी प्रफुल्ल हुनुहुन्थ्यो । शिवरात्री आउन एक महिना पनि बाँकी छैन् हिजो करेसाबारीको छेउमा भएको गाँजबाट गज्जवको उखु काट्नु भयो र त्यसैलाई टेक्दै साँझको भ्रमणमा निस्कनु भयो । म कोठामा बसेर युक्रेन र रसियाको बीचकी तनाव र त्यसले पार्ने प्रभाव बारेको कार्यक्रम हेर्दै थिँए ममीले झ्यालबाट बाहिर देखाउनु भयो । हजुरबा त बढो मुस्किलसँग मेवा टिप्दै हुनुहुन्थ्यो । मलाई लाग्यो “आज बुढालाई मेवा खान मन लागेछ ।” गएर मेवा झारिदिएँ । साढे चार वजे तिर त हजुरबा फेरि सोही मेवा लिएर डुल्न निस्कनु भयो ।
मलाई खुल्दुली भयो हजुरबाको गतिविधिमा र म पनि हजुरबाले थाहा नपाउने गरेर दूरी कायम गर्दै वहाँको पछि लागेँ । हजुरबा हातमा पाकेको मेवा झुन्ड्याउँदै गैराको चौतारामा पुग्नु भयो र बस्नु भयो प्रेमीले प्रेमिकालाई कुरे जस्तै एकोहोरो बाटोमा हेरिरहनु भयो । म आँखा छलेर चौताराको पछाडी लुकेर हेरि रहेँ । केही समय पछि एक जना लगभग असी वर्षको जस्तो बिदेशी हाँस्दै आयो नजिकै बस्यो । मामा घरमा आउनुहुँदा रमाएका केटाकेटीहरुका अनुहार जस्तै भयो मेरो हजुरबाको मुहार पनि । उसले झोलाबाट अँगुर र सुन्तला निकल्यो दुबैजना मिलेर खान थाले । उसले झोलाबाट चक्कु निकालेर हजुरबाले ल्याएको मेवा काट्न थाल्यो । दुबै जना मुखमा हेर्दै ईसारामा कुरा गर्थें । नेपाली भाषा उसले नबुझ्ने , उसको भाषा (अंग्रेजी पनि होईन सायद ईटालियन हो कि ?) हजुरबाले नबुझ्ने तर पनि गफ गाफ चलिरहेको थियो ।
“छोटो समयको लागि भेट भए पनि, भाषा रहनसहन नमिले पनि अनौठो मित्रता हुन सक्दो रहेछ” सोच्दै उहाँहरु दुबैको अगाडि पुगेँ र हाँस्दै हजुरबा उहाँको नयाँ साथीको टाउको हल्का ठोक्याईदिएँ ।


सम्बन्धित शीर्षकहरु

कल्याणकारी नेपाली युवा समाज कुवेतले आगामी फेब्रुअरी ७ तारिक शुक्रबारका दिन मंगाफ स्थित फाहाहिल स्टेडियमको कभर्डहलमा आयोजना गर्ने भलिबल प्रतियोगितामा…

इजरायली र हिज्बुल्लाह बीचको १४ महिना लामो युद्धबाट विस्थापित बासिन्दाहरूले इजरायली रक्षा बलहरू बसेको गाउँहरूमा फर्कने प्रयास गर्दा सोमबार इजरायली…

कल्याणकारी नेपाली युवा समाज कुवेतसँग अल मुजैनी एक्सचेन्जको सहकार्यमा हाला फेब्रुअरीको अवसर पारेर आगामाी ७ फेब्रुअरी २०२५ शुक्रबारका दिन आयोजना…

प्रतिकृयाहरू
...