Thursday 27th June 2024

स्रष्टा परिचयको साथमा एक रचना, भाग – ७


स्रष्टा परिचय

नाम :मन गहिरे
आमा: स्व . अम्बिका देवी काफ्ले
बुवा- स्व. लोक प्रसाद काफ्ले
जन्मस्थान:तानसेन,पाल्पा – ४
ठेगान:तानसेन ,पाल्पा – ४ प्रदेश नम्बर – ५

योग्यता : एम.ए, एम .एड.
प्रकाशित कृति : मनका कथा २०७०( कथा सङ्ग्रह )
परिभाषित समय कविता सङ्ग्रह २०७३

पेशा : शिक्षण / पत्रकारिता

सम्लग्नता: अध्यक्ष :नारी साहित्य तथा सा सासकृितक प्रतिस्ठान पाल्पा
सह सम्पादक -पाल्पा टाइम्स साप्ताहिक

प्रकाशित कृति
मनका कथा २०७० – कथा सङ्ग्रह
परिभाषित समय २०७३ – कविता सङ्ग्रह

बिधा कथा , कबिता, मुक्तक आदि

पुरस्कार तथा सम्मान
देवी भक्त चोलाकुमारी सामाजिक सामजिक सेवा पत्रकारिता पुरस्कार,२०६४
उत्कृष्ट पत्रकारिता पुरस्कार २०६९(पत्रकार महासघ पाल्पा)
विश्व नारी साहित्यक पदक २०७१(त्रिमूर्ति निकेतन)
राधा बद्री अम्बिका स्मृति प्रतिभा पुरस्कार २०७२ ( पोखराथोक)
सत्या मोहन जोशी सताब्दी पदक २०७१

कथाः मणि हराएको देश
-मन गहिरे

मोबाइलको घण्टी बज्यो । बिहान पाँच बजेको थियो । “यति बिहानै कस्को फोन आयो ?” भन्दै रोहणले फोन उठाए- “हेलो …..!”।
फोनमा बोल्ने मान्छेको कुराले रोहण स्तब्ध हुन्छन् ।
रज्जुले “बाबा ! के भयो ?” भनिन्
रोहणले आँखाभरि आँशु पार्दै “तिम्रा.. ज्वार्इं मणि …. ।”
रज्जु अत्तालिँदै “के भयो मणि ज्वाईंलाई ….?”
“उनी रहेनन्, हो रज्जु ! त्यही क्यान्सरबाट …. ।”
रज्जु डाँको छोडेर ग्वाँ… ग्वाँ… गरेर रुन थालिन् ।
“नरोऊ रज्जु ! बरु रूवी र उनका छोराछोरीको अवस्था के भयो होला ….? भगवान्लाई पनि जो राम्रो असल व्यक्ति छ उही चाहिने ….? यो कस्तो सृष्टि ….?” रोहण भावुक हुँदै फेरि भन्छन् । “मणिको दाहसंस्कारमा जसरी पनि पुग्नै पर्छ ।”
रोहणले नेपालको अर्जेन्ट टिकट बुक गर्छन् र एक्काईस घण्टाभित्र नेपाल आइपुग्छन् । रोहण विमानस्थलबाट सिधै आर्यघाट पुग्दा सारा जनता उर्लिएका थिए । “डाक्टर मणिराज अमर रहुन्” को नाराले गुन्जिएको थियो काठमाडौं । सडकमा भिड उर्लिएर आर्यघाटतर्फ अघि बढ्दै थियो ।
रोहणले चितामाथि राखिएको पार्थिव शरीरलाई नियाल्दै अन्तिम पटक मणिको मुख हेरे । त्यसपछि जल लिएर तीन पटकसम्म चिता परिक्रमा गरी मणिको मुखमा जल राख्दै “अब उप्रान्त म पनि मणिले जस्तै देशको सेवा गर्न सकँु” भनेर भक्कानिए । रोहणको पार्थिव शरीर वरपर रहेका मलामीहरु रोहणलाई देखेपछि झनै शोकविह्वल भए । तत्पश्चात मणिको दाजुले दागबत्ती दिए । चिता जल्न सुरु भयो तर रोहण उनकै सम्झनामा डुब्न थाले-
त्यो बिकट पहाडी बस्ती, तल खोँचमा कालीगण्डकी आफ्नै बहावमा सुसेल्थ्यो । जङ्गलसँगैको त्यो पातलो बस्ती वरपरका भिरपाखाहरू, उकाली-ओरालीमा गुँडुल्किएका बाटाहरू र त्यसै बस्तीबीच रहेको राम निकेतन माध्यमिक विद्यालय । सुन्दर र रमणीय भूमिमा अटल रूपमा उभिएको सगरमाथाको शीतल छायामा हुर्किएको बाल्यकालदेखिको मेरो साथी “मणि”सँग लामो सामीप्यता रह्यो । मणि बिहानै एक गाँस ढिँडो खाएर बोरा र झोला बोकी दुई घण्टा उकालोमा स्याँ… स्याँ… गर्दै पढ्न आइपुग्थ्यो ।
सङ्घर्षमय जीवनले उसलाई मानवतावादी बनाइदियो । ती पहाडी बस्तीमा कष्टदायी यात्रा, भिरहरूमा हिँड्ने बटुवा अनि भरियाहरूको कष्टकर दिनचर्यालाई मणिले हृदयङ्गम गर्‍यो । भिरबाट खसेर घाइते भएका भरियाको विनाउपचार ज्यान जान्थ्यो । नजिकै अस्पताल थिएन । यदि अस्पताल भएको भए ती भरिया बाँच्दथे । त्यो घटनाका प्रत्यक्षीदर्शी मणिको हृदयमा पछि गएर डाक्टर बन्ने र देशका बिकट क्षेत्रमा बसेर जनताको सेवा गर्ने सपनाले दरिलो डेरा जमायो । मणि र म दुवै असाध्यै मिल्ने साथी थियौँ । मणिकै सङ्गतले गर्दा मैले पनि पढाइमा ध्यान दिएँ । मणिले सोचेजस्तै हामी एस.एल.सी. परीक्षामा प्रथम स्थानहासिल गर्न सफल पनि भयौँ । एस.एल.सी. पछिको अध्ययनका लागि गाउँबाट शहर पस्यौँ । दुई वर्षको अध्ययनपछि हामी दुवैले चिकित्साशास्त्र अध्ययन गर्ने छात्रवृत्ति कोटाबाट विदेश जाने अवसर पायौँ र पाँच वर्षको अध्ययनपछि मणि र म डक्टर बन्न सफल भयौँ । त्यसपछि नेपाल फर्किएर मणि र मैले एउटै घरका दिदीबहिनीहरूमा दिदी रज्जुलाई मैले विवाह गरेँ भने बहिनी रुवीलाई मणिले बिहे गरे । सोसोलोजीमा मास्टर्स गरेकी रुवी डाक्टर मणिराजको समाजसेवा र मानवतालाई बुझेकी सहनशील र सुशिल थिइन् । आफ्नो अन्तर्मनलाई बुझेर हरेक कार्यमा सारथि बन्ने जीवनसँगिनी रुवीप्रति मणि नतमस्तक थिए ।
म बिहेपश्चात् रज्जुलाई लिएर अमेरिकातिरै सेटल भएँ । मैले मणिका लागि पनि अमेरिकामै नोकरी तय गरी अमेरिका आउन आग्रह गरेको थिएँ तर मणिले— “तिमीहरूले यो देशलाई छोड्यौ, तिमीजस्ता हजारौँ दक्ष जनशक्तिले यो देशलाई छाडे । यहाँ गरिब जनताहरू रोग र पीडामा बाँचेका छन् त कोही उपचार नपाएर अल्पायुमै मृत्युवरण गर्न पुगेका छन् । तिनको सेवा कस्ले गर्छ ….? छाडिदेऊ परदेशको मोहलाई …..। म त यही भूमिमा कर्म गर्छु । पिडित असाहयको निःश्वार्थ सेवा गर्नेछु” भनेर जवाफ दियो । हुन पनि उनले बोलेका कुरालाई साँच्चै व्यवहारमै उतारेर देखायो । धन कमाएर ऐस आरामको जिन्दगीलाई रोजेन । डाक्टरको नियुक्ति लिएर दुर्गमस्थानतिरै लाग्यो । मलाई लाग्छ, मणिबाहेक हामी सँगैका साथीहरू सबै परदेसियौँ । ती गाउँघर सबैलाई भुल्दै गयौँ । समयको अन्तरालसँगै मणिका एक छोरा र एक छोरी भए । मणिले आफ्नो कमाइको आधा जति समाजसेवामा खर्चिन्थ्यो । मानवधर्म नै सबैभन्दा ठूलो धर्म सम्झन्थ्यो ऊ । दुःखी, गरिब, र्‍याले, फोहोरी जोसुकैलाई मणिले मायालु भावले उपचार गर्‍थ्यो । मणिले आफ्नो पैँतालीस वर्षको उमेरसम्म तीस पटकभन्दा बढी रक्तदान गरेको थियो । एक दिन एउटी बुढी आमा जवान छोरो लिएर मणिको क्वार्टरमा आइपुगिन् । उनको छोराको दुवै मृगौलाले काम गर्न छोडेको थियो । उपचारलाइृ सहयोग गर्न भनिन् । त्यो युवकलाई आफ्नै खर्चमा किड्नी ट्रान्सफर गर्न मद्दत गरी उसको जीवन मणिले नै बचाइदिए ।
सबै दिन, समय र परिस्थिति सधैँ एकनास रहँदैनन् भनेझैँ रातदिन अरूको उपचारमा तल्लीन डाक्टर मणि आफैँ बिरामी पर्‍यो । ऊ क्यान्सरबाट थलियो । क्यान्सरले अन्तिम अवस्थामा पुर्‍याएको उसलाई विदेशमा लगेर महँगो उपचार गरेको भए केही समय अझै बाँच्थ्यो तर महँगो उपचार गर्ने सामथ्र्य परिवारमा थिएन । हामी बाहिर भएका साथीहरूबाट प्राप्त भएको सहयोग रकमले त्यहीँ उपचार भइरहेको थियो । विदेशमा लगेर महँगो उपचार गरी मणिलाई बचाउन सहयोगको लागि अस्पतालको शैयाबाट सरकारसँग हारगुहार गर्‍यौँ तर राज्यले वास्ता गरेन । सोचेजस्तो हुन्न जीवन भन्थे, दुनियाँको सेवा गर्ने डाक्टर मणिराजले उपचार नपाइ मर्नुपर्‍यो । देशलाई आफ्नो प्राणभन्दा प्यारो ठान्ने यस्ता महान् हस्तीको अवसान भयो । देशले एउटा इमान्दार, मानवतावादी, राष्ट्रसेवकलाई गुमायो । गरिबका साथी, जनताका डाक्टर, हराएर गयो । गरिब र निमुखा जनताका लागि मणि हराएको नागजस्तै शून्य भयो ।
रोहण झल्याँस्स हुन्छन् । चिता जलेर खरानी भएको थियो । आर्यघाटको भिड विस्तारै हट्दै थियो । रोहण र मणिका दाजु अस्तु लिएर घर फर्किए ।
यता रुवीको दर्दनाक अवस्था, अबोध छोराछोरीहरूको भविष्य के होला ? भन्ने कुराले रोहण मनमनै चिन्तित बन्छन् । पन्ध्रौँ दिनका दिन रोहण अमेरिका फर्किने दिन आयो ।
उनी अमेरिका फर्किए । अमेरिका फर्किएको सात दिन भइसकेको थियो ।
विकसित मुलुक मानिएको अमेरिकाको गगनचुम्बी टावरमा बसेर नीलो आकाशमा चम्किएका लाखौँ ताराहरूबीच आफ्नो साथीलाई खोजिरहेछन् रोहण । भौतिक सुखसुविधाले सम्पन्न भए पनि उनको मन शान्त छैन । अमेरिकाको रङ्गीन न्युयोर्क शहरसँग समायोजन हुन अझै सकिरहेका छैनन् । भर्खरै नेपालबाट आए पनि रोहणलाई आफ्नै जन्भूमिको सम्झनाले सताइरहेको छ । किन किन भावविह्ल भइरहेका छन् उनी । रोहणले मनमनै भन्छन्- “कता कता मैले बाटो बिराएको अनुभूत गरेको छु । मलाई लागिरहेछ म आफू बनेँ तर मेरो कर्तव्यलाई भुलेँ, देशलाई भुलँे ….! देशले मलाई खोजेको छ र मजस्ता हजारौँ दक्ष नेपालीलाई ….। विडम्बना ! म बाध्यताभित्रै रुमलिएको छु । यो भौतिक शरीर यहाँ छ तर मेरो मनमष्तिस्कमा त्यही गाउँठाउँ र उही मेरो साथी “मणि” छाइरहेको छ । नेपाललाई पनि अमेरिका, जापानजस्तो सुविधा सम्पन्न र विकसित देश बनाउनुपर्छ भन्ने मणिको सपना र रहर अधुरै रहे । आज धर्तीको माटो मुठ्ठीमा कसेर आफ्नै माटो चुम्न मन लागेको छ । मणिको जस्तो सोँच तमाम नेपाली युवाशक्तिमा होस्, देशका युवाहरूले आफ्नै धर्तीमा पसिना बगाउन् । आफ्नै जन्मभूमिलाई माया गरुन् ।”
रज्जु सम्हालिँदै थिइन् । तैपनि आफ्नी बहिनीको पीडा र चिन्ताले व्याकुल थिइन् । न त उनी चाहेको बेला आफ्नी बहिनी “रुवी”लाई भेट्न नै सक्थिन् । रोहण टोलाएको देखेर रज्जुले भनिन्—
“बाबा ! हुने कुरा भइसक्यो, हजुरले कस्तो मन बुझाउन नसकेको ….?” त्यसैबेला नेपाली खबर टि.भी.मा आइरहेको थियो । रज्जु रोहण दुबैले समाचार सुने— “मन्त्री हिरण्य शर्मा स्वास्थ्य उपचारका लागि बैङ्कक प्रस्थान । मन्त्री भानुप्रताप सिंह अमेरिकाबाट स्वास्थ्यलाभ गरी स्वदेश फिर्ता….!”
यो समाचार सुनिरहँदा रज्जु र रोहण दुवैको मन कँुडिन्छ । भित्तामा टाँगिएको मणिराजको तस्वीर दुबैका आँखा वरिपरि घुमिरहन्छ भने कानमा गुन्जिरहेका हुन्छन् यी समाचारहरू ….! हजारौँ प्रश्नले एकै पटक झटारो हानेझैँ हुन्छ । उनीहरूको मनमा ज्वाला रन्किएझैँ भान हुन्छ । मुटु भक्कानिन्छ । “यो कस्तो न्याय हो ? जनताको सेवा गर्ने राष्ट्रसेवकलाई राज्यले के गर्‍यो ….? राज्यले वास्ता गरेको भए आज “मणि” हाम्राअगाडि जीवितै हुन्थे । जनताको सेवामा अहोरात्र खटिन्थे ।” रोहणले यो सहन सक्दैनन् र भन्छन्-
“रज्जु ! ल तिमी नै भन मैले कसरी मन बुझाउनु ….? त्यो पन्ध्र दिनको काठमाडौं बसाइले ममा ठूलो परिवर्तन आएको छ । अब म कुनै पनि हालतमा अमेरिका बस्न सक्दिनँ …. छोराछोरीको बन्दोबस्त गरी म नेपाल फर्किन्छु ।”
“के ? आफूमात्रै नेपाल फर्किने कुरा गरेको ? छोराछोरीलाई लिएर हामी सबै स्वदेश फर्किनुपर्छ । मलाई अन्यथा नसोच्नु ! म “रुवी”कि दिदी हुँ । उसको र उसका छोराछोरीको हेरचाह गर्नु मेरो दायित्व हो । हजुर जहाँ म त्यहाँ सुखदुःख जस्तो भए पनि जीवनको अन्तिम क्षणसम्म म साथ दिइरहनेछु ।” रज्जुको कुरा सुनेर हर्षका आँसुलाई रोक्न सकेनन् रोहणका आँखाहरूले ।
छ महिनापछि रोहण र रज्जु, छोराछोरीसहित २०१४ सेप्टेम्बर १ तारेखको सन्ध्याकालिन समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगे । रुवी र उनका छोराछोरीले उनीहरूलाई एयरपोर्टमा स्वागत गरे । गहभरि आँसु बोकेर दिदीबहिनी अँगालो मारे ।
रोहणले दृढताका साथ भने-
“रुवी ! मणिको इमान्दारीतालाई बाचुन्जेलसम्म यो देशको सरकारले चिन्न सकेन । हामीले मणिको इमान्दारिता र देशभक्तिलाई विश्वसामु चिनाउनेछौँ । मोतीराम भट्टले भानुभक्तलाई चिनाएझैँ मणि यस धर्तीका ‘धर्तीपुत्र’ हुन् भन्ने कुरा र मणिको मानतावादी, देशभक्तीको सोच प्रत्येक नेपालीमनमा फिँजाउनेछौँ । हामीजस्तो विदेसिएका नेपालीलाई स्वदेश फर्काउने र यो देशलाई ब्युँताउने अभियानमा लाग्नेछौँ । देश विकास र निर्माणमा युवाशक्तिको जोस भर्नेछौँ । तमाम नेपालीको मेहनत र पसिना आफ्नै देशमा बहाउन र आफ्नै धर्ती सिँगार्नमा उत्प्रेरित गर्नेछौँ । हाम्रो अभियानका कारण राज्यले पनि राष्ट्रसेवकको पहिचान गरोस् । देशभक्तहरूको कदर गरोस् । मणि हराएको यो देशमा थुप्रै मणिजस्तै सपूतहरूको फेरि, फेरि जन्म होस्….!
रुवीले पनि आँशु पुछ्दै रोहणको अभियानमा लाग्ने प्रतिबद्धता जनाइन् ।
।। समाप्त ।।


सम्बन्धित शीर्षकहरु

बाढी पहिरो तथा चट्याङ जस्ता विपद्जन्य घटनामा परि गत २४ घण्टामा १४ जनाको ज्यान गएको छ भने यस अवधिमा ४४…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

दक्षिणी रूसको दागेस्तान गणतन्त्रमा श्रृङ्खलाबद्ध आक्रमणमा कम्तीमा १९ जना प्रहरी अधिकारीको मृत्यु हुनुको साथै अन्य २५ जना घाइते भएको आरआइए…

प्रतिकृयाहरू
...