Wednesday 23rd September 2026

नेपालले ओमानलाई हरायो, कप्तान ज्ञानेन्द्रको अर्धशतक


तीतोपाटी डटकम-आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले ओमानलाई पराजित गरेको छ।आइतबार भएको खेलमा नेपालले घरेलु टिम ओमानलाई ७ विकेटले पराजित गरेको हो।लिग-२ मा ओमानसँग यसअघि लगातार तीन खेलमा पराजित भएको नेपालले चौथो खेलमा भने जित हात पार्न सफल भएको हो।

आइतबार ओमानले दिएको १२२ रनको सामान्य लक्ष्य नेपालले ३ विकेटको क्षतिमा १८.२ ओभरमै पूरा गर्‍यो।नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरे। उनले नटआउट ५२ रन जोड्ने क्रममा ४६ बल खेलेर ४ चौका र २ छक्का प्रहार गरे।

ज्ञानेन्द्रले लगातार दोस्रो अर्धशतक प्रहार गरेका हुन्। उनले अमेरिकाविरुद्धको अघिल्लो खेलमा ५५ रन जोडेका थिए।ओपनर कुशल भुर्तेल ६ रनमा आउट हुँदा आसिफ शेखले ४० रनको योगदान गरे। आसिफले ४४ बलमा ७ चौका प्रहार गरे।रोहित पौडेल ६ रनमा आउट हुँदा शरद भेषवाकरले नटआउट १ रन जोडे।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टिम ओमान ३७.१ ओभरमा १२१ रनमा अलआउट भयो।ओमानका लागि जीसन मक्सूदले सबैभन्दा बढी ४१ रन जोडे। करण केसीबाट बोल्ड हुनुअघि उनले ६६ बलमा २ चौका र १ छक्का प्रहार गरे।

ओपनर जतिन्दर सिंहले १३ रन र नसीम खुसीले १२ रन बटुले। यस्तै कलीमुल्लाहले ११ रन जोडे। ओमानका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।बलिङमा नेपालका करण केसी र सन्दीप लामिछानेले ४-४ विकेट लिन सफल भए। करणले ८ ओभरमा १ मेडन राख्दा २५ रन खर्चिए।सन्दीपले ८.१ ओभरमा २ मेडन राख्दा १८ रन दिए।

एकदिवसीय खेलमा पहिलो पटक बलिङ गरेका शरद भेषवाकरले २ विकेट लिन सफल भए।ओमानमा भइरहेको त्रिकोणात्मक सिरिजमा नेपालले चार खेलमा दुई खेलमा जित र दुई खेलमा हार बेहोर्‍यो।

नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा नेपाल ओमानसँग ५ विकेटले नै हारेको थियो। तेस्रो खेलमा नेपालले अमेरिकालाई ४ विकेटले नतिजा सुम्पिएको थियो।

लिग-२ को अंक तालिकामा नेपाल ८ खेलबाट ८ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ। नेपालले ८ मध्ये ४ खेलबाट जित र ४ खेलमा हार बेहोरेको छ।ओमान १३ खेलबाट २० अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको अमेरिकाको १५ खेलबाट १४ अंक छ।
@सेतोपाटीबाट साभार


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

रुसको संसदीय निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिन समर्थित सत्तारूढ युनाइटेड रुसिया दलले ठूलो बहुमत हासिल गरेको छ। प्रारम्भिक नतिजाअनुसार दलले ४५०…

विश्व अहिले युद्ध, आर्थिक संकट, जलवायु परिवर्तन र राजनीतिक अस्थिरताका कारण चुनौतीपूर्ण अवस्थामा पुगेको छ। इरान र युक्रेनका युद्ध झन्…

प्रतिकृयाहरू
...