Thursday 5th March 2026

सामाजिक सञ्जालमार्फत जागिरको लोभ देखाएर कराेडाैं ठगी


विदेशबाट फर्किएर घरमै बेरोजगार बसेका पोखरा काँहुखोलाका फुर्वाराम तामाङले गत वैशाखमा फेसबुकमा कामदार आवश्यकताको विज्ञापन देखे । पीजी मल्टिपर्पोज एन्ड जब्स फेसबुक पेजमा आएको विज्ञापनमा कम्पनीका लागि म्यानेजरदेखि सुरक्षा गार्डसम्मका कामदार चाहिएको उल्लेख थियो । आकर्षक तलब, बिमा, यातायात, नास्तालगायत सुविधा देखेपछि उनी लोभिए । विज्ञापनमा भनिएको ठेगानामा कागजात लिएर पुगे ।

पोखरा–२७ तालचोकमा पीजी रियलस्टेट एन्ड जब लिंक प्रालि र पीजीएस एग्रो एन्ड मल्टिपर्पोज प्रालिको कार्यालय खोलेर बसेका थिए, २१ वर्षीय कृष्ण पौडेल । पौडेलले फाराम शुल्कबापत २ हजार ५ सय रुपैयाँ लाग्ने र जागिरको ग्यारेन्टी हुने फुर्वालाई बताए । जागिर सुरु भएपछि फाराम शुल्कबापत लिइएको रकमबाट एक सय रुपैयाँ मात्रै काटिने र बाँकी २ हजार ४ सय रुपैयाँ पहिलो महिनाको तलबमा जोडिएर आउनेसमेत उनले बताएका थिए । यति सुनिसकेपछि फुर्वाले आँखा चिम्लिएर फ्याक्ट्री कामदारको पदमा तोकिएको रकम बुझाएर फाराम भरे । उनलाई ४५ दिनपछि खबर आउने बताइयो ।

भदौ पहिलो साता उनले बल्ल २० हजार रुपैयाँ तलब तोकिएर अफर लेटर पाए । उक्त अफर लेटर फुड कम्पनीको नभई पीजी रियलस्टेट एन्ड जब लिंकको लेटरप्याडमा थियो । भदौ २५ बाट जागिरका लागि बोलाइयो । शुक्रबार उनी तालचोक पुग्दा पौडेललाई प्रहरीले पक्राउ गरेर डाँडाको नाक प्रहरी चौकी पुर्‍याएको थियो । ‘पोखराको औद्योगिक क्षेत्रभित्र बन्द अवस्थामा रहेको बिस्कुट फ्याक्ट्री भनिएको थियो,’ फुर्वाले भने, ‘त्यहाँ पुग्दा त्यो नामको कम्पनी नै रहेनछ ।’ उनी प्रहरी कार्यालय पुग्दा झन्डै ३ सय जना जम्मा भइसकेका थिए ।

पौडेल सञ्चालक रहेको कार्यालयबाट ४ हजार जनाभन्दा बढी ठगिएको प्रहरीको अनुमान छ । फेसबुक पेजबाट गरिएको विज्ञापनमा फुड कम्पनीमा १ हजार ७ सय, फुटवेयर कम्पनीमा १ हजार २ सय र अन्य कम्पनीमा गरी जागिरका लागि आवेदन दिनेको संख्या ४ हजार नाघेको छ । ४ हजार जनाबाट २ हजार ५ सयका दरले फाराम शुल्क लिँदा पनि १ करोड रुपैयाँ हुन्छ ।

डाँडाको नाक प्रहरी कार्यालयमा शुक्रबार पुगेकी अन्नपूर्ण गाउँपालिका–३ पाउदुरकी एक महिलाले आफूसँग दुईपल्ट २५/२५ सय रुपैयाँ असुलेको बताइन् । ‘पहिला म्यानेजर पदका लागि रकम बुझाएँ,’ उनले भनिन्, ‘अन्तर्वार्तामा पनि बोलाइयो तर फेल भएँ भनियो । फेरि सुपरभाइजरमा आवेदन दिनुस् पक्का हुन्छ भनेर अर्को २ हजार ५ सय रुपैयाँ मागियो ।’ ५ हजार रुपैयाँ बुझाएपछि बिस्कुट उद्योग देखाउन पटकपटक आग्रह गरे पनि बेवास्ता गरिएको उनले बताइन् । उनका अनुसार सुपरभाइजरमा छनोट भएको भनेर फेसबुकमार्फत नै नाम सार्वजनिक भएको थियो ।

बिस्कुट उद्योग र जुत्ता उद्योगमा छनोट भएका कामदारलाई साउन २९ मा तारे होटल पोखरा ग्रान्डमा सेमिनारसमेत राखिएको थियो । उक्त सेमिनारबाट बाहिरिने बेला कतै उजुरबाजुर नगर्ने मञ्जुरीनामामा ल्याप्चेसमेत लगाउन लगाइएको थियो । ‘जब लिंकको कार्यालयमा भएका कर्मचारीलाई पनि उद्योग साँच्चिकै भए, नभएकोबारे सोध्यौं,’ उनले भनिन्, ‘त्यहाँका कर्मचारीलाई समेत केही थाहा रहेनछ । त्यसपछि शंका लागेर प्रहरीलाई खबर गर्‍यौं ।’ जागिरका लागि फाराम भर्नेलाई फुड कम्पनी पोखरा औद्योगिक क्षेत्र र फुटवेयर कम्पनी विजयपुर क्षेत्रमा रहेको बताइएको थियो । अन्य होटल, आईटी कम्पनी, भाँडा पसललगायतको नाम खुलाइएको थिएन । आवेदकले कम्पनी देखाउन गरेको अनुरोधलाई पौडेलले टार्ने गरेका थिए ।

फुड कम्पनीको म्यानेजर पदमा नाम निकालेका अर्का एक पुरुषलाई समेत शुक्रबारबाट काममा आउन भनिएको थियो । उनलाई शुक्रबार पीसीआर परीक्षण गरेर आइतबार आउन भनियो । उनी पीसीआर परीक्षणका लागि जान खोज्दा प्रहरी पुगेर पौडेललाई पक्राउ गर्‍यो । ती पुरुषका अनुसार सुरुआतमा काम सिक्ने क्रममा दिनको २ घण्टाको दरले ५ दिनसम्म काम गर्नुपर्ने र त्यसबापत घण्टाको २ हजार ४ सय रुपैयाँ दिइनेसमेत बताइएको थियो । ‘३७ हजार तलब दिने भनेपछि मक्ख परेर आयौं,’ उनले भने, ‘अहिले आउँदा कम्पनी पनि छैन, जागिर पनि छैन ।’ उनले यही जागिरको चक्करमा आफ्नो तीन महिना खेर गएको बताए । भने, ‘बीचमा आएका अरू मौका पनि गुमाइयो । यो ठगी नै हो । कारबाही हुनुपर्छ । हामीले क्षतिपूर्ति पाउनुपर्छ ।’

प्रहरी अनुसन्धानका क्रममा पीजी रियलस्टेट एन्ड जब लिंक प्रालिको लेटरप्याडमा उल्लेख भएको स्थायी लेखा नम्बर (पान) ९०९७३५२३५ आन्तरिक राजस्व विभागमा दर्ता भएको भेटिएको छैन । उक्त कम्पनी दर्ता छैन । स्याङ्जा फेदीखोला–१ का कृष्ण पौडेललाई डाँडाको नाक प्रहरी चौकीले म्याद थपका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाएको छ । जिल्ला प्रहरी प्रवक्ता सुवास हमालले पौडेललाई हाल थुनामा राखेर अनुसन्धान भइरहेको बताए ।

नोटः दीपक परियारले लेखेको यो समाचार आजको कान्तिपुरमा प्रकाशित छ ।


सम्बन्धित शीर्षकहरु

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

चीनका विदेशमन्त्री वाङ यीले सोमबार आफ्नो इरानी समकक्षीलाई फोनमा भने कि मध्यपूर्वमा युद्ध फैलिँदै गर्दा बेइजिङले अमेरिका-इजरायली आक्रमणहरू विरुद्ध आफ्नो…

प्रतिकृयाहरू
...