Friday 3rd May 2024

आयोजनालाई नै थाहा छैन अब कहिले आउँछ काठमाडौंमा मेलम्चीको पानी


भत्किएका चार वटा मोटरबेल पुल र पाँच किलोमिटर बाटो कहिलेसम्म बन्छन् एकिन छैन

तीतोपाटी डटकम-बाढी-पहिरोले गरेको क्षति पुनर्निर्माण हुन समय लाग्ने भएकाले मेलम्ची खानेपानी आयोजना अब काठमाडौंमा आउन निकै ढिलो हुने भएको छ।इञ्जिनियरहरूका अनुसार मेलम्चीको पानी आउन पहिला पुनर्निर्माणको काम सकेर मात्रै हुने देखिन्न। मेलम्ची नदी पनि सङ्लिनु पर्छ।

‘बर्खायाम भर्खरै सुरू भएकाले अझै कहिलेसम्म बाढी आउने हो र क्षति के गर्ने हो, यो समयमा पुनर्निर्माण गर्ने कुरा निकै गाह्रो देखिन्छ,’ डिभिजनल इञ्जिनियर राजेन्द्र पन्तले सेतोपाटीसँग भने।उनका अनुसार बाढी आउन छोडेपछि भत्केको बाटो र मोटरेबल पुल बनाइन्छ।

तर, मोटरेबल पुल अस्थायी बन्छन्। स्थायी बनाउन ठेक्का प्रक्रियामा जानुपर्ने र त्यसका लागि कम्तीमा तीन वर्ष लाग्ने भएकाले अहिले अस्थायी पुल नै बनाउनु पर्ने देखिएको पन्तले बताए।यसका लागि खानेपानी मन्त्रालय र प्रधानमन्त्री कार्यालयसमेतमा छलफल भएको छ।

‘मेलम्चीको अवस्था प्रधानमन्त्री कार्यालयमा अवगत भइसकेको छ, प्रधानमन्त्री कार्यालयको ठूला आयोजना हेर्ने निकायले जति चाँडो चासो देखाउँछ, त्यति नै छिटो बन्न सक्छ,’ पन्तले भने।मेलम्चीको बाढीले चार वटा मोटरेबल पुल भत्काएको थियो। त्यस्ता मोटरेबल पुल सबैभन्दा चाँडो नेपाली सेनाले मात्र बनाउन सक्छ। प्रधानमन्त्री कार्यालयले सेनासँग समन्वय गरे मोटरेबल पुल निर्माणको प्रक्रिया अघि बढ्ने पन्तले बताए।

हेडवर्क्ससम्म पुग्ने २१ मध्ये पाँच किलोमिटर बाटो भत्केको छ। त्यो पनि निर्माण गर्नुपर्ने छ।‘अहिले मेलम्ची खानेपानी आयोजनासँग भएको स्रोतसाधनले बाढीको क्षति पूर्ति गर्न सम्भव छैन,’ पन्तले भने।

यी सबै काम गरेर पनि पानी सङ्लिएपछि मात्र सुरूङमा पठाउन सकिन्छ।आयोजनाले अस्थायी कफरड्याम बनाएर पानी पठाइरहेको थियो। त्यो कफरड्यामलाई पनि बाढीले क्षति पुर्‍याएको छ।असार १ गते आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति गरेको थियो। परीक्षणका लागि त्यही दिन पानी बन्द गरेकाले सुरूङमा बाढी भने पसेन।

मेलम्चीमा हाल भएको क्षति पुनर्निर्माण र सङ्लिएपछि पानी पठाउनुपर्ने भएकाले समय तोकेर भन्न नसकिने पन्तले बताए।‘बर्खा सकिएर हिउँदसम्म कुर्नुपर्ने अवस्था आउन सक्छ, तर ठ्याक्कै समय भन्न सकिन्न,’ उनले भने, ‘अझै बाढी आएर क्षति थपिन पनि सक्छ।’पन्तका अनुसार अहिले अस्थायी संरचना कफरड्यामबाट पानी सुरूङमा हालिएको छ। अस्थायी कफरड्याममा पानी थिग्राउने प्रविधि छैन।

‘त्यसैले बर्खा लागेपछि पानी धमिलो वा कम गुणस्तरको आउन सक्छ भनेर पानी बन्द गरिएको हो,’ पन्तले भने।जब हेवर्क्स तयार हुन्छ, त्यहाँ पानी थिग्राउने प्रविधि हुने भएकाले बर्खाको बेला पनि पानी सुरूङमा हाल्न सकिने पन्तले बताए।

साभार-सेतोपाटी


सम्बन्धित शीर्षकहरु

नारायण कोइराला - पाल्पा साहित्य समाजको आयोजनामा अग्रज साहित्यकार नलराज शास्त्री नेपालको सम्मान तथा साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित सेनकालीन…

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

प्रतिकृयाहरू
...