Thursday 11th June 2026

आयोजनालाई नै थाहा छैन अब कहिले आउँछ काठमाडौंमा मेलम्चीको पानी


भत्किएका चार वटा मोटरबेल पुल र पाँच किलोमिटर बाटो कहिलेसम्म बन्छन् एकिन छैन

तीतोपाटी डटकम-बाढी-पहिरोले गरेको क्षति पुनर्निर्माण हुन समय लाग्ने भएकाले मेलम्ची खानेपानी आयोजना अब काठमाडौंमा आउन निकै ढिलो हुने भएको छ।इञ्जिनियरहरूका अनुसार मेलम्चीको पानी आउन पहिला पुनर्निर्माणको काम सकेर मात्रै हुने देखिन्न। मेलम्ची नदी पनि सङ्लिनु पर्छ।

‘बर्खायाम भर्खरै सुरू भएकाले अझै कहिलेसम्म बाढी आउने हो र क्षति के गर्ने हो, यो समयमा पुनर्निर्माण गर्ने कुरा निकै गाह्रो देखिन्छ,’ डिभिजनल इञ्जिनियर राजेन्द्र पन्तले सेतोपाटीसँग भने।उनका अनुसार बाढी आउन छोडेपछि भत्केको बाटो र मोटरेबल पुल बनाइन्छ।

तर, मोटरेबल पुल अस्थायी बन्छन्। स्थायी बनाउन ठेक्का प्रक्रियामा जानुपर्ने र त्यसका लागि कम्तीमा तीन वर्ष लाग्ने भएकाले अहिले अस्थायी पुल नै बनाउनु पर्ने देखिएको पन्तले बताए।यसका लागि खानेपानी मन्त्रालय र प्रधानमन्त्री कार्यालयसमेतमा छलफल भएको छ।

‘मेलम्चीको अवस्था प्रधानमन्त्री कार्यालयमा अवगत भइसकेको छ, प्रधानमन्त्री कार्यालयको ठूला आयोजना हेर्ने निकायले जति चाँडो चासो देखाउँछ, त्यति नै छिटो बन्न सक्छ,’ पन्तले भने।मेलम्चीको बाढीले चार वटा मोटरेबल पुल भत्काएको थियो। त्यस्ता मोटरेबल पुल सबैभन्दा चाँडो नेपाली सेनाले मात्र बनाउन सक्छ। प्रधानमन्त्री कार्यालयले सेनासँग समन्वय गरे मोटरेबल पुल निर्माणको प्रक्रिया अघि बढ्ने पन्तले बताए।

हेडवर्क्ससम्म पुग्ने २१ मध्ये पाँच किलोमिटर बाटो भत्केको छ। त्यो पनि निर्माण गर्नुपर्ने छ।‘अहिले मेलम्ची खानेपानी आयोजनासँग भएको स्रोतसाधनले बाढीको क्षति पूर्ति गर्न सम्भव छैन,’ पन्तले भने।

यी सबै काम गरेर पनि पानी सङ्लिएपछि मात्र सुरूङमा पठाउन सकिन्छ।आयोजनाले अस्थायी कफरड्याम बनाएर पानी पठाइरहेको थियो। त्यो कफरड्यामलाई पनि बाढीले क्षति पुर्‍याएको छ।असार १ गते आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति गरेको थियो। परीक्षणका लागि त्यही दिन पानी बन्द गरेकाले सुरूङमा बाढी भने पसेन।

मेलम्चीमा हाल भएको क्षति पुनर्निर्माण र सङ्लिएपछि पानी पठाउनुपर्ने भएकाले समय तोकेर भन्न नसकिने पन्तले बताए।‘बर्खा सकिएर हिउँदसम्म कुर्नुपर्ने अवस्था आउन सक्छ, तर ठ्याक्कै समय भन्न सकिन्न,’ उनले भने, ‘अझै बाढी आएर क्षति थपिन पनि सक्छ।’पन्तका अनुसार अहिले अस्थायी संरचना कफरड्यामबाट पानी सुरूङमा हालिएको छ। अस्थायी कफरड्याममा पानी थिग्राउने प्रविधि छैन।

‘त्यसैले बर्खा लागेपछि पानी धमिलो वा कम गुणस्तरको आउन सक्छ भनेर पानी बन्द गरिएको हो,’ पन्तले भने।जब हेवर्क्स तयार हुन्छ, त्यहाँ पानी थिग्राउने प्रविधि हुने भएकाले बर्खाको बेला पनि पानी सुरूङमा हाल्न सकिने पन्तले बताए।

साभार-सेतोपाटी


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच मध्यपूर्वमा लगातार आक्रमण र प्रतिआक्रमण जारी रहँदा अप्रिलमा भएको कमजोर युद्धविराम झन् अस्थिर बनेको छ भने अमेरिकाले…

ताइवानले HIMARS मोबाइल रकेट प्रणाली प्रयोग गरेर चीनतर्फ सैन्य अभ्यास गरेको छ, जसबाट सम्भावित चिनियाँ आक्रमणको प्रतिरक्षा क्षमता प्रदर्शन गरिएको…

अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमाथि थप कडा आक्रमण गर्ने चेतावनी दिएका छन् र सम्झौतामा हस्ताक्षर गर्न आग्रह गरेका छन्। अमेरिकी हेलिकोप्टर…

प्रतिकृयाहरू
...