Sunday 22nd February 2026

श्रम गन्तव्य मुलुकमा उद्धार उडानको तयारी


तितोपाटी- श्रम गन्तव्य मुलुकमा हवाई उडान सञ्चालन हुने भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले केही दिनभित्रै टर्की, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), जापान, मलेसियामा हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको हो ।

सीसीएमसीका अनुसार अन्तर्राष्ट्रिय उडान बन्द हुँदा ती देशमा रोकिएका नेपाली श्रमिकलाई सातामा दुई हजारका दरले उद्धार गर्ने तयारी भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार साउदी अरब र मलेसियामा रहेका नेपालीलाई स्वदेश आउन समस्या भएको छ । अन्य देशबाट भने अत्यावश्यक उडान भइरहेको छ ।

वैदेशिक रोजगार बोर्डको सचिवालयका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले उद्धार गर्नुपर्ने समस्या मलेसिया र साउदी अरबमा भएकाले त्यहाँको अवस्थाबारे सीसीएमसीलगायत सबै सरोकारवालालाई जानकारी गराइसकिएको जानकारी दिए । “बोर्ड सहयोग गर्न तयार छ, हामीलाई आदेश चाहियो”, उनले थपे ।

कोभिड–१९ को सङ्क्रमण बढेपछि सरकारले डेढ महिनाअघि सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो । उडान बन्द हुँदा स्वदेश फर्कने तयारीमा रहेका श्रमिक रोजगारदाता कम्पनीमै बसिरहेको ती देशमा रहेका नेपाली दूतावासले जानकारी गराउँदै आएका छन् ।

सीसीएमसीका अनुसार रोजगारदाता देशमा रोकिएका श्रमिक बेखर्ची भए सरकारले क्वारेन्टाइन खर्च बेहोर्ने र अन्तर्राष्ट्रिय उडान बन्द हुँदा रोकिएका श्रमिकलाई छिट्टै स्वदेश फर्काउने तयारी गरेको छ । अहिले अघिल्लो वर्षजस्तो समस्या नभएकाले रोजगारदाता देशमा रोकिएका श्रमिकलाई स्वदेश फर्काउन कुनै अप्ठ्यारो नहुने सीसीएमसीले जनाएको छ ।

खाडी मुलुक र मलेसियामा रहेका नेपाली राजदूतले अन्तर्राष्ट्रिय उडान बन्द हुनासाथ श्रमिक फर्काउन वैकल्पिक उडान खुलाउन सरकारसँग आग्रह गर्दै आएका थिए । यो समाचार गोरखापत्र दैनिकमा छ।


सम्बन्धित शीर्षकहरु

अदालतले ट्रम्पले प्रयोग गरेको आपतकालीन कानुन (IEEPA)अन्तर्गतको कर अवैध भन्यो, तर अन्य कानुन प्रयोग गरेर कर लगाउन सक्ने ढोका खुला…

रूस–युक्रेन युद्धको तेस्रो वर्ष नजिकिँदै गर्दा युद्धभूमिमा जति गोलाबारी छ, कूटनीतिक मोर्चामा त्यति नै शब्दहरूको टकराव देखिन्छ। यही सन्दर्भमा युक्रेनका…

मध्यपूर्वको सुरक्षा संरचनामा पुनः एकपटक ठूलो भू–राजनीतिक भूकम्पको संकेत देखिन थालेको छ। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनकालमा सुरु भएको कडा…

प्रतिकृयाहरू
...