Saturday 16th November 2024

निषेधाज्ञामा अपराध : एक महिनामा २६५ महिला र बालबालिका पीडित


तीतोपाटी डटकम-काठमाडौं बौद्धस्थित नौतलेमा मंगलबार बोरामा प्याक गरेको अवस्थामा मान्छेको जलेको पैताला भेटियो । अन्यत्र जलाएर बाँकी बसेको भाग त्यहाँ ल्याएर फालेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

जलेको पैतालाबाट मान्छे पहिचानमा सवैभन्दा ठुलो समस्या भएको बताउँछन् महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङ । व्यक्ति पहिचान नभएसम्म हत्या अनुसन्धान अगाडि बढ्न नसक्ने प्रहरीको निष्कर्ष छ ।

बौद्धमा मात्र होइन । निषेधाज्ञाकै बीचमा पनि काठमाडौं उपत्यकामा हत्या र बलात्कारका घटना रोकिएका छैनन् । देशभर हत्या र हिंसाका घटना भइरहेका छन् ।

वैशाख १६ मा निषेधाज्ञा शुरु भएपछिको एक महिनामा मात्र २ सय ११ जना महिला तथा बालबालिका हिंसाको शिकार भएका छन् । ओरेक नेपालले सार्वजनिक गरेको तथ्यांक अनुसार महिला तथा बालबालिका बलात्कार तथा घरेलु हिंसाको शिकार भएका हुन् ।

ओरेक नेपालले २ वटा हटलाइन, २३ जना मनोविमर्शकर्ता, महिला मानव अधिकार रक्षक, महिला सामुदायिक संघसंस्था र सञ्चार माध्यमबाट सो तथ्यांक संकलन गरेको जानकारी दिएको छ । जेठ १५ भन्दा पछिमात्रै १ सय ३ जना महिला तथा बालबालिका हिंसाको शिकार भएका छन् ।

प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार ०७८ वैशाख महिनामा खुन डाँका, आत्महत्या दुरुत्साहन र गर्भ संरक्षण विरुद्ध ७ सय ११ वटा मुद्दा प्रहरी कार्यालयमा दर्ता भएका छन् ।

आत्महत्या सम्बन्धी ५ सय ९१ घटना दर्ता भएका छन् । देशभर १ सय ४६ वटा चोरीका घटना भएका छन् । सामाजिक अपराध अन्तर्गत सार्वजनिक शान्ति विरुद्धको कसुर, सार्वजनिक हित विरुद्धको कसुर, स्वास्थ्य र सुरक्षासँग सम्बन्धित ५ सय ८६ वटा मुद्दा दर्ता गरिएको प्रहरी प्रवक्ता (एसएसपी) बसन्त कुँवरले रातोपाटीलाई बताए ।

२०७८ वैशाख महिनाको अपराध तथ्यांक

वैशाख १६ बाट प्रमुख जिल्ला अधिकारीहरुले संक्रामक रोग ऐन–२०२० अनुसार निषेधाज्ञा जारी गरेका थिए । निषेधाज्ञा जारी भएको महिनामा संगठित तथा आर्थिक अपराधसम्बन्धी ३ सय ३९ वटा मुद्दा दर्ता भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार गत वैशाखमा विवाह, मानव बेचविखन, जबरजस्ती करणी, अप्राकृतिक मैथुन, बलात्कार र बलात्कार उद्योगका ३ सय ६५ घटना दर्ता भएका छन् । सवारी ज्यान सम्बन्धी २११ वटा घटना अभिलेख गरिएको छ ।

आर्थिक वर्ष ०७७/७८ मा वैशाख महिनासम्म ज्यान सम्बन्धी ६ हजार ४ सय ४० वटा केस प्रहरीका युनिटमा दर्ता भएका छन् । सो अवधिमा आत्महत्या ५ हजार ६ सय ५५, चोरी १ हजार ९ सय ८०, आपराधिक लाभ र संगठित आर्थिक अपराधका ३ सय २ वटा केस प्रहरीकहाँ दर्ता भएका छन् ।

महिला तथा बालबालिका सम्बन्धी ३ हजार ९ सय ७२ वटा केस दर्ता भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको ०७८ वैशाख मसान्तसम्ममा बलात्कार, अपहरण तथा कर्तब्य, बैंकिङ र लिखत सम्बन्धी २४ सय ९३ वटा घटना दर्ता भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बलात्कार अझै दर्दनाक

निषेधाज्ञामा बलात्कार झन दर्दनाक स्वरुपमा देखिन थालेको छ । जेठ १८ मा ललितपुरको एकान्तकुनामा झड्केलो बुबाले छोरीलाई बलात्कार गरे । १४ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पुरुषलाई पक्राउ गरेको छ ।

काठमाडौंको कीर्तिपुर नगरपालिका घर भएका पुरुषले जेठ १८ मा छोरीलाई बलात्कार गरेको उजुरी आएको ललितपुरकी एसएसपी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् ।

बलात्कारको आरोप लागेका पुरुष परिवारसँग एकान्तकुनामा बस्दै आएका थिए । पत्नी, छोरा र झड्केलो छोरीसँग बस्दै आएका उनले डेरामा छोरी बलात्कार गरेका थिए । आरोपी महानगरीय प्रहरी परिसरको हिरासतमा छन् ।

निषेधाज्ञा शुरु भएपछि ललितपुरमा बलात्कारको अर्को घटना पनि भएको छ । जेठ १९ मा ५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ललितपुरको गोदावरी नगरपालिका–३ बाट २० वर्षीय राम आशिष सदा पक्राउ परे ।

सप्तरीको सम्भुनाथ नगरपालिका घर भएका आशिषले गोदावरी नगरपालिका–३ स्थित मोतिचौरको निर्माणाधीन होटलमा लगेर बालिकालाई बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
साभार-रातोपाटी डटकम


सम्बन्धित शीर्षकहरु

मराब: लेबनानको सबैभन्दा ठूलो क्रिश्चियन पार्टीका प्रमुखले इरान समर्थित हिजबुल्लाहले इजरायलसँगको वर्षौं लामो युद्ध अन्त्य गर्न र लेबनानलाई थप मृत्यु…

अमेरिकाको नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा हिन्दूहरूको मुद्दालाई आवाज उठाउने एक पूर्व डेमोक्रेटिक नेतालाई महत्त्वपूर्ण पदका लागि चयन गरेका छन्।…

बंगलादेशका महान्यायाधिवक्ताले संविधानबाट धर्मनिरपेक्ष शब्द हटाउन सुझाव दिनुभयो, कारण के थियो ? बंगलादेशका महान्यायाधिवक्ता मोहम्मद असदुज्जमानले देशको संविधानबाट 'धर्मनिरपेक्ष' र…

प्रतिकृयाहरू
...