Friday 17th October 2025

विदेशमा अलपत्र कामदार भन्छन्- घर फर्किन पैसा छैन, क्वारिन्टिन खर्च कसरी जुटाउनु ?


तितोपाटी- कोरोना भाइरसका कारण विदेशमा रोजगारी गुमाएर समस्यामा परेका नेपाली कामदार स्वदेश फर्किन थालेका छन् ।

कोरोना भाइरसका कारण सरकारले १६ वैशाखदेखि अन्तर्राष्ट्रिय उडान बन्द गरेपछि स्वदेश फर्किन टिकट लिएका धेरै कामदार सम्बन्धित देशमै रोकिएका थिए । रोजगारीको खोजीमा विदेशिएकाहरू संकटको समयमा फर्कन पाउँदा खुसी त छन्, तर सरकारले तोकेको होटल क्वारिन्टिनमा बस्न खर्च नभएको उनीहरूको गुनासो छ । वैदेशिक रोजगारीमा जाँदा म्यानपावरलाई सरकारले तोकेभन्दा बढी पैसा दिएर गएको बताउने उनीहरू कोरोनाका कारण रोजगारी गुमाउँदा रोजगारदाता कम्पनी र सरकारले सहयोग नगरेको गुनासो गर्छन् । सरकारले उद्धार गर्नुभन्दा क्वारिन्टिनमा राखेर खर्च थप्ने काम गरेको उनीहरूको आरोप छ ।
भोजपुरका माणिराज राई पाँच वर्षअघि मलेसिया गएका थिए । उनी दुई वर्षदेखि ‘अवैध’ रूपमा बसी रोजगारदाता कम्पनीको शरणमा काम गर्दै आएका थिए । कोरोनाका कारण रोजगारी गुम्यो । मलेसियास्थित नेपाली दूतावासमा हारगुहार मागेर राहदानी बनाएर एक सातापछि घर फर्किन लागेको उनले बताए ।
अवैध रूपमा बसेकाले स्वदेश फर्किन करिब १ लाख रूपैयाँ खर्च भएको उनको भनाइ छ । ‘कम्पनीले घर फर्किन तीन साताअघि नै विदा दियो । घर फर्किने जसोतसो पैसा जुटाए । ‘टिकट पनि एकसाता पछिको गरेको छु । तर, नेपालमा क्वारिन्टिन बस्ने खर्च छैन,’ उनले भने, ‘सरकारले होटल क्वारिन्टिन तोकेको छ । १० दिन क्वारिन्टिनमा बस्न कम्तिमा ४० हजार जति खर्च लाग्छ । खर्च कसरी जुटाउने भन्ने चिन्ता लगिरहेको छ ।’
अवैध बसेका कारण घर फर्किदाँ मलेसियामा रहेका नेपाली साथीभाइसँग खर्च मागेको उनले बताए ।
राईको जस्तै समस्या छ- लमजुङका प्रताव विकको । कोरोनाका कारण रोजगारी गुमेपछि विक एक महिनादेखि साउदीमै रोकिएका छन् । कोरोनाका कारण कम्पनीले विदा दिएपछि वैशाखमै घर फर्किने उनको टिकट थियो । तर, नेपालमा निषेधाज्ञा जारी भएपछि उनी साउदीमै रोकिए ।
‘वैदेशिक रोजगारीमा ऋण काढेर आएको थिएँ । साउदी आएको एक वषमै कम्पनी टुट्यो । २ लाख ५० हजार ऋण छ । त्यो ऋण पनि तिर्ने नसकी फर्किएँ,’ विक भन्छन्, ‘स्वदेश फर्किन साउदीमा कार्यरत नेपाली दाजुभाइले मिलेर टिकट काटिदिए । जुन ७ तारिखको टिकट छ । नेपाल पुगेपछि क्वारिन्टिन बस्ने खर्च छैन । क्वारिन्टिन बस्ने खर्च कहाँबाट ल्याउनु ?’
वैदेशिक रोजगारीमा जाँदा म्यानपावर कम्पनीले र फर्कंदा सरकारले आर्थिक भार थपेको विकको आरोप छ ।
यूएईमा रहेका झापाका दिनेश थपलियालाई पनि स्वदेश फर्किएपछि कसरी क्वारिन्टिन बस्ने खर्च जुटाउने भन्ने चिन्ता छ ।
स्वदेश फर्किन नेपाली दाजुभाइसँग सहयोग मागेर टिकट काटेको थपलियाले बताए । ‘स्वदेश त फर्किने भइयो तर, क्वारिन्टिन बस्ने खर्च छैन,’ उनले भने ।
‘कोरोनाका कारण समस्या र अलपत्र परेका कामदारलाई सरकारले नै उद्धार गर्छ भन्ने ठूलो आश थियो । राज्यले केही गरेन झन् रोजगारदाता देशले के गर्छ ? रोजगारदाता देशलाई कामसँग मात्र मतलब छ,’ उनले भने, ‘खाडीका देशमा रहेका कामदारले पठाएको रेमिट्यान्सको ठूलो महत्व छ । कामदार समस्यामा परेकोप्रति सरकारलाई चासो छैन । यूएईमा धेरै नेपाली कामदार स्वदेश फर्किन खर्च नभएर अलपत्र छन् ।’
कोरोनाका कारण रोजगारी गुमाएका कामदार स्वदेश फर्किन दैनिक यूएईस्थित नेपाली दूतावास धाए पनि दूतावासले सहयोग नगरेको उनको भनाइ छ ।
उनीहरू वैदेशिक रोजगारीका क्रममा अलपत्र र समस्यामा परेका प्रतिनिधि पात्र मात्र हुन् । उनीहरू जस्ता वैदेशिक रोजगारीमा गएका धेरै कामदार कोरोनाका कारण करार अवधि नसकी रोजगारी गुमाएर स्वदेश फर्किन बाध्य छन् ।
स्वदेश फर्किन खर्च नभएर अलपत्र परेकाहरूलाई वैदेशिक रोजगारीमा कार्यरत अन्य नेपालीले सहयोग गरी घर पठाउने गरेका छन् ।
सरकारले वैदेशिक रोजगारीमा गएका कामदार समस्या परे पनि उद्धार गरेको छैन । वैदेशिक रोजगार कल्याणकारी कोषमा ५ अर्बभन्दा धेरै पैसा कामदारले नै जम्मा गरेका छन् । उनीहरूले जम्मा गरेको पैसाले नै सरकारले उद्धार गर्न चासो नदेखाएको कामदारको गुनासो छ । सरकारले स्वदेश फर्कने नेपाली नागरिकका लागि सातवटा पाँच तारेसहित ७८ वटा होटललाई क्वारिन्टिनका रूपमा सूचीकृत गरेको छ । सरकारले खाडी मुलुकमा वैदेशिक रोजगारीमा गएर नेपाल फर्किनेलाई पाँच दिन र अन्य अवस्थामा फर्कने नेपाली तथा विदेशी नागरिकलाई १० दिन होटल बुकिङको प्रमाण देखाएपछि मात्र नेपाल आउन अनुमति दिने नियम बनाएको छ ।

साभार शिलापत्रबाट


सम्बन्धित शीर्षकहरु

नेपाल कुवेत सरोकार समाजले आफ्नो पाँचौं अधिवेशन आगामी अक्टोबर ३१ (शुक्रबार) का दिन आयोजना गर्ने भएको छ। समाजका अनुसार अधिवेशन…

अन्तिम ओभरमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सको…

हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गरिने भएको छ । यसै क्रममा गाजामा हमासको नियन्त्रणमा रहेका…

प्रतिकृयाहरू
...