Thursday 19th March 2026

वैदेशिक रोजगारीबाट फर्कने कामदारलाई पाँच दिन होटल क्वारेन्टिन


तितोपाटी- खाडी, मलेसिया लगायत मुलुकबाट फर्केका अब कम्तीमा पाँच दिन अनिवार्य होटल क्वारेन्टिनमा बस्नुपर्ने भएको छ। कोरोना महामारीको प्रकोप केही घट्न थालेपछि सरकारले वैदेशिक रोजगारीबाट फर्कनेलाई यस्तो व्यवस्था गरेको हो।

एक महिनादेखि भारत बाहेकका मुलुकबाट चार्टर अन्तर्राष्ट्रिय उडानमात्र भइरहको छन्।बिहीबारबाट भने टर्की र कतारको सीमित उडान सुरु गर्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान तालिका सार्वजनिक गरिसकेको छ। यीबाहेक अन्य मुलुकबाट विस्तारै वैदेशिक रोजगारीमा गएकाहरू फर्कन सक्ने भएकाले सरकारले अनिवार्य होटलमा बस्नुपर्ने व्यवस्था मिलाइएको सरकारी अधिकारीहरू बताउँछन्।

मन्त्रिपरिषद्ले जारी गरेको नयाँ मापदण्ड अनुसार वैदेशिक रोजगारीबाट फर्कनेसँग कोरोना नेगेटिभको पिसिआर रिपोर्ट र होटल बुकिङ हुनुपर्ने छ। पाँच दिन अनिवार्य होटल क्वारेन्टिनमा बसेर पिसिआर रिपोर्ट नेगेटिभ भएकाहरू थप १० दिन होम क्वारेन्टाइनमा बस्ने गरी घर जान अनुमति दिने मापदण्डमा उल्लेख छ।

नेपाली तथा विदेशी नागरिक नेपाल आउँदा पालना गर्न बनाइएको मापदण्डमा पछिल्लो ७२ घन्टाको फोटो एवं बारकोड सहितको पिसिआर रिपोर्टमा कोरोना नेगेटिभ हुनुपर्ने उल्लेख छ। खाडी र मलेसिया बाहेकका मुलुकबाट आउनेले भने १० दिनको होटल बुकिङ गर्नुपर्ने छ। होटलमा बस्ने सबै खर्च सम्बन्धित व्यक्तिले बेहोर्नुपर्ने मापदण्डमा भनिएको छ।

१० दिन होटल क्वारेन्टिनपछि कोरोनाको लक्षण नदेखिएका र रिपोर्ट नेगेटिभ आएकालाई मात्र गन्तव्यसम्म जान अनुमति दिने सरकारी निर्णय छ। होटल क्वारेन्टिनका लागि भने पर्यटन विभागसँग मिलेर पर्यटन बोर्डले होटलको समन्वय गर्ने बताइएको छ। सुन्धारा, ठमेल, गोंगबु र कलंकी क्षेत्रका घना बस्तीलाई ध्यानमा राखी ती ठाउँमा रहेका होटललाई क्वारेन्टिन नबनाइने मन्त्रिपरिषद्ले निर्णय गरेको छ।

करिब एक महिनादेखि अन्तर्राष्ट्रिय हवाई उडान बन्द भएकाले अब सुरु हुने उडानमा ठूलो संख्याका नेपाली घर फर्कने अनुमान गरिएको छ। दोस्रो लहरको कोरोना महामारीले खाडी मुलुक र मलेसिया त्यति धेरै प्रभावित नभए पनि नियमित रूपमा बिदामा आउनेहरू घर फर्कन नपाएको अनुमान छ।

वैदेशिक रोजगार विभागबाट हालसम्म श्रम स्वीकृति लिएका करिब ५५ लाखमध्ये यतिखेर खाडीका विभिन्न मुलुक र मलेसियामा २५–३० लाख नेपाली रोजगारीमा रहेको अनुमान छ। तीमध्ये दैनिक सयौंको श्रम स्वीकृतिको अवधि सकिन्छ भने कैयौं बिदामा घर फर्कने गर्छन्।

मलेसियास्थित नेपाली राजदूतावासका श्रम काउन्सेलर दीपक ढकालका अनुसार अन्तर्राष्ट्रिय हवाई उडान बन्द हुँदा घर बिदामा फर्कने र जरुरी परेकालाई समस्या भइरहेको छ। पहिलो लहरको कोरोना महामारी सुरु भएपछि मलेसियाले नेपाली कामदार लैजान बन्द गरे पनि त्यहाँ रहेका कैयौं श्रमिक घर फर्कनुपर्ने अवस्थामा रहेको उनको भनाइ छ।

मलेसियास्थित नेपाली राजदूतावासका अनुसार त्यहाँ करिब तीन लाख नेपाली रोजगारीमा रहेको अनुमान छ। ‘एकपटक लिएको श्रम स्वीकृतिको अवधि दुई वर्षलाई हुने भएकाले पनि श्रमिक घर फर्कनैपर्ने हुन्छ,’ उनले भने। वैदेशिक रोजगार ऐन २०६४ ले श्रम स्वीकृतिको अवधि सकिएलगत्तै घर नफर्कने श्रमिकलाई अवैधानिक मान्छ।

अवैध रूपले वैदेशिक रोजगारीमा रहेका श्रमिकले अप्ठेरो पर्दा सरकारी निकायबाट कुनै पनि सुविधा नपाउने व्यवस्था गरिएको छ। सोही ऐनअनुसार वैदेशिक रोजगारीमा गएकाहरूले श्रम स्वीकृतिको अवधिभित्र निधन तथा बिरामी, अंगभंग हुँदा आर्थिक सहायता पाउने गर्छन्। श्रम स्वीकृति कायम रहेको अवधिभित्र निधन हुनेका परिवारले सात लाख र घाइते तथा अंगभंग हुनेलाई सात लाख रूपैयाँसम्म वैदेशिक रोजगार बोर्डले रकम उपलब्ध गराउँछ। त्यस्तै मृत्यु हुनेका परिवारलाई बिमा कम्पनीहरूले थप १४ लाख रूपैयाँ उपलब्ध गराउँछन्। साभार नागरिकन्युजबाट


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...