Thursday 23rd July 2026

देश, जनता र संविधानलाई केन्द्रमा राखेर असाधारण निर्णय लिन सक्छु – सभामुख सापकोटा


 सभामुख अग्निप्रसाद सापकोटाले आफू संवैधानिक रूपमा जस्तोसुकै कदम चाल्न तयार रहेको बताएका छन् । प्रतिनिधिसभा विघटनपछि सभामुखको भूमिकाका विषयमा कानुनविदहरूसँग गरेको अन्तरक्रियापछि सभामुख सापकोटाले यस्तो बताएका हुन् ।‘कानुनविदहरूसँगको परामर्शपछि म केही उत्साहित भएको छु । संविधान र संसद्को रक्षाका लागि जस्तोसुकै जोखिम उठाउन र कदम चाल्न म तयार छु’, सापकोटाले भने, ‘निरन्तरको अन्तरक्रिया र नागरिकस्तरका सुझावपछि हामी एउटा निष्कर्षमा पुग्नै पर्ने छ । म अन्तमा परामर्श र छलफल दलहरूसँग नै गर्नेछु ।’ संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहीबार भएको परामर्श बैठकमा सभामुख सापकोटाले भने, ‘आवश्यक पर्दा देश, जनता, संविधान, लोकतन्त्र र नेपाली जनताको अधिकारका लागि मैले नेपाली जनताले प्रदान गरेको निहीत अधिकारलाई प्रयोग गर्नुपर्छ ।’

उनले लोकतन्त्रमा दलको भूमिका सबैभन्दा महत्वपूर्ण हुने भन्दै उनीहरूको छलफल पछि सभामुखको भूमिकामा उठाउन मिल्ने र उठाउन सकिने कदम चाल्ने बताए । संसद्ले नै राष्ट्रपति र प्रधानमन्त्री जन्माउने भन्दै उनीहरूबाटै संसद्माथिको अवमूल्यन स्वीकार्य नहुने बताए । ‘संसद्बाट नै हो राष्ट्रपति र प्रधानमन्त्रीको जन्म हुने, उहाँहरूबाट संसद्को अवमूल्यन किमार्थ स्वीकार्य छैन’, सापकोटाले भने, ‘सम्बन्धित व्यक्तिले सोचेन भने त्यसले सम्बन्धितलाई नै असर गर्ने हो ।’

भूमिका सबैको फेरिदै जाने भन्दै उनले भोलिका दिनले सबैको भूमिका पनि तय हुने बताए । ‘भारतमा पनि हेर्न सक्नु हुन्छ, सबैका भूमिका पुराना हुँदैनन्, हरेक संस्थाका भूमिका फेरिन सक्छन्’, सापकोटाले भने, ‘हरेक संस्थाले आफ्ना भूमिका खोजी गर्नुपर्छ । लोकतन्त्रमा संस्थाहरूको भूमिका महत्वपूर्ण हुन्छ ।’

उनले सदन फरक रूपमा चलाउन खोज्दाखोज्दै हठात् संसद् विघटन भएको भन्दै आफूले बजेट अधिवेशन तथा विधेयक अघि बढाउने विषय पनि रोकिन पुगेको बताए । उनले विज्ञप्ति जारी गरेर धारणा राखिसकेको भन्दै अदालतको अपहेलना र संसद्को अधिकार खोस्ने काम स्वीकार्य नहुने बताए । ‘मैले विज्ञप्ति जारी गरेर पनि संकेत गरेको छु’, सभामुख सापकोटाले भने, ‘अदालतको फैसलाको उल्लंघन भएको छ र संसदको अधिकार हनन् भएको छ । यसलाई सच्याउन आवश्यक छ ।’

-नयाँपेजबाट


सम्बन्धित शीर्षकहरु

भारतको उत्तरपूर्वी राज्य सिक्किममा निर्माणाधीन टिस्टा स्टेज–६ जलविद्युत् आयोजनाको सुरुङभित्र भएको भीषण मिथेन ग्यास विस्फोटपछि मृत्यु हुनेको संख्या २० पुगेको…

अफ्रिकी राष्ट्र बुर्किना फासोका अन्तरिम राष्ट्रपति क्याप्टेन इब्राहिम ट्राओरे फेरि एकपटक विवादको केन्द्रमा आएका छन्। यसपटक उनको नयाँ मोर्चा कुनै…

बेलायतका नयाँ प्रधानमन्त्रीले बढ्दो महँगीबाट प्रभावित नागरिकलाई राहत दिने उद्देश्यले बिजुलीमा लाग्दै आएको भ्याट हटाउने र बस भाडा घटाउने घोषणा…

प्रतिकृयाहरू
...