संवाददाता, न्यु ह्याम्प्सायर, अमेरिका – एनआरएन अमेरिकाको आसन्न निर्वाचनका क्रममा अध्यक्षका उम्मेदवार बुद्धिसागर सुवेदी नेतृत्व टिमले न्युह्याम्प्सायरमा ठूलो हौसला पाएको छ । सानो राज्य र थोरै मतदाता भएको ठाउँ भएको भन्दै अरु उम्मेदवार नपुगको यो राज्यलाई सुवेदीले प्राथमिकता दिएर जमघट गरी त्यहाँका नेपाली समुदायलाई भेटेका छन् । एनआरएन एनसिसी बोर्ड मेम्बर छत्रकुमारी गुरुङले सबै उम्मेदवारलाई स्वागत गर्दै विजयको शुभकाना दिइन् । उनले भनिन्, ‘हाम्रो जति उपस्थिति छ, यो भव्य छ, सभ्य छ, तपाईंहरुलाई विजयको शुभकामना ।’
गुरुङले टाढाटाढाबाट पनि बुद्धिसागर सुवेदी लगायत उम्मेदवारको भेटघाटका लागि आइपुगेको जानकारी दिइन् । उनकै भनाइमा स्थानीय संस्थाका अग्रजहरु, समाजसेवीहरु जमघटमा उपस्थिति रह्यो ।
अध्यक्षका प्रत्यासी बुद्धिसागर सुवेदीले आफू सानैदेखि समाजसेवामा लाग्दै आएको सुनाए । स्वयंसेवा गर्ने उद्देश्यले नै आफूले समय, साधन स्रोत उपलब्ध गराउने विश्वाससहित उम्मेदवारी दिएको बताए । ‘भोलिको दिनमा यो संस्थालाई सबैको संस्था बनाउने भिजन पनि मसँग छ,’ उनले भने, ‘च्याप्टरमा हुँदा काम गरेर अनुभव हाँसिल गरिसकेको छु । तपाईंहरुकै समस्याका आधारमा मैले एजेन्डा बनाउनुपर्छ, त्यो म बनाउँछु ।’ धरातलीय समस्या बुझेर योजना बनाउनुपर्ने उनको भनाइ थियो । ‘च्याप्टर अध्यक्षहरुसँग समन्वय गरेर काम गर्नेछु,’ उनले भने ।
नेपाल सरकारसँग लबिङका लागि महिनौं महिना खर्च गर्नुपरे पनि आफूले त्यो समय दिन तयार रहेको सुवेदीले बताए । उनले नेपालको नागरिक भइसकेको पुस्ताको नागरिकताले निरन्तरताको लबिङ जरुरी भएको औंल्याए । दोस्रो पुस्ताबाट मात्रै गैरआवासीय नेपाली नागरिकता लागु गरिनुपर्ने उनको भनाइ छ ।
स्थानीय छत्रकुमारीले न्युहेम्सायर च्याप्टरले सर्वसम्मतमा रुपमा महिला कोअर्डिनेटरको उम्मेदवारमा सुन्दरी गुरुङलाई पठाएको जानकारी गराइन् । बोर्ड अफ डाइरेक्टरका उम्मेदवार उत्तम शर्माले बुद्धिसागर नामजस्तै बुद्धिका सागर भएको बताए । ‘संसारका जुनसुकै ठाउँमा भए आफ्ना आमाबाबाको स्याहारको योजना हाम्रो योजना र एजेन्डा छ, यसलाई हाम्रो टिमले काम गर्नेछ,’ उनले भने ।
बोर्ड अफ डिरेक्टरका प्रत्यासी प्रदीप पौडेलले एनआरएनमा नयाँ पुस्ता आकर्षण गरिनुपर्ने खाँचो औंल्याए । बोर्ड अफ डिरेक्टरकै अर्का प्रत्यासी मीन खड्काले आफूसहित बुद्धिसागर सुवेदी नेतृत्वको टिमलाई जिताउन आग्रह गरे । स्थानीय सुष्मी लामाले नयाँ पुस्ता र नयाँ भिजनसहित अगाडि बढ्न सुझाव दिइन् ।
बोर्ड अफ डिरेक्टरका प्रत्यासी चन्द्रदेव मण्डलले कमाण्डर राम्रो भएपछि सबैथोक राम्रो हुने भन्दै बुद्धिसागर सुवेदीलाई मतदान गर्न आग्रह गरे । उनले आफूलाई पनि मतको अनुरोध गरे ।
बोर्ड अफ डिरेक्टरका प्रत्यासी विराज भण्डारीले बुद्धिसागर जस्ता व्यक्तित्वबाट युवाहरुले सिक्नुपर्ने बताए । महिला कोअर्डिनेटरकी उम्मेदवार सुन्दरी गुरुङले सबैको साथ र सहयोगको अपेक्षा गरिन् ।
आइसिसी मेम्बर उम्मेदवार सुरेन्द्रप्रकाश मल्लले बुद्धिसागर सुवेदीकै साथमा काम गर्न हिँडिरहेका सबैलाई मत प्राप्त हुने विश्वास व्यक्त गरे । उपाध्यक्ष उम्मेदवार गोपेन्द्र भट्टराईले उत्तरदायी र समावेशी संस्था बनाउनुपर्नेमा जोड दिए । युवा, महिला र व्यावसायिक क्षेत्रमा स्थापितहरुलाई समेट्नुपर्ने उनले बताए । बोर्ड अफ डिरेक्टरका प्रत्यासी सन्तोष पहारी र बोर्ड अफ डिरेक्टरका प्रत्यासी सरोज सिग्देल लगायतले कार्यक्रममा मन्तव्य राखेका थिए ।
त्यसै गरी न्यु ह्याम्प्सायरका चर्चित समाजसेवी तथा तमु समाजका उपाध्यक्ष हितमान गुरुङ, एनएचएनसीका अध्यक्ष सोम गुरुङ, किरात राई अर्गनाइजेसन न्युइंगल्यान्डका सचिव शेखर राईसहितले मन्तव्य राखे ।
पूर्वएनआरएन अमेरिका अध्यक्ष शिवकुमार राईको अध्यक्षतामा भएको कार्यक्रममा न्यु ह्याम्प्सायर च्याप्टर अध्यक्ष डम्बर कडरियाले धन्यवाद ज्ञापन गरेका थिए । एनआरएन एनसिसी भाषा तथा साहित्य सल्लाहकार ईश्वरी मल्ल, एनआरएन एनसिसी संमक्षक डा रुद्र अर्याल विशेष अतिथि रहेको कार्यक्रममा युवाहरु सुस्मी लामा, आशीष गुरुङ, असीम गुरुङ र सागर गुरुङले समेत सहभागिता जनाए ।
कार्यक्रममा एनआरएन अमेरिकाका उपाध्यक्षहरु उम्मेदवार डिलु पराजुली र सुमन थापा, महिला उपाध्यक्ष क्रान्ति भण्डारी, महासचिव प्रत्यासी अन्जन चौलागाईं, सचिव उम्मेदवार अनुप खनाल, उपाध्यक्ष किशोर रेग्मी, बोर्ड सदस्य उम्मेदवार विराज भण्डारीको मन्तव्य र सहभागिता रह्यो ।