कोरोनासँग मिल्दोजुल्दो लक्षण भए पनि अधिकांशले परीक्षणै गराउँदैनन्
एउटै गाउँका ९१ जनाको परीक्षण गर्दा ७७ जनामा संक्रमण पुष्टि
भाइरल ज्वरो र टाइफाइडको औषधि खाएर घरमै बस्छन् बिरामीहरु
तीतोपाटी डटकम-काठमाडौँ — गुल्मीको पूर्तिघाट माविका शिक्षक तकबहादुर सुप्राईका छोरा जीवनको गत वैशाख १८ मा बिहेभोज थियो । डेढ वर्षअघि बिहे भए पनि मगर परम्पराअनुसार ढोगभेट अहिले फुकाएकाले कालीगण्डकी–५ लम्करास्थित घरमै भोज गरिएको थियो । त्यसको चार दिनपछि ५१ वर्षीय तकबहादुरलाई रुघाखोकी र ज्वरो आयो ।
अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भयो । मृत्युपछि गरिएको पीसीआर परीक्षणमा कोरोना ‘पोजिटिभ’ देखियो । केही दिनअघि गाउँकै ५७ वर्षीया महिलाको पनि संक्रमणले ज्यान लियो । त्यसपछि गत आइतबार लम्कराका ९१ जनाको स्वाब परीक्षण गर्दा ७७ जनामा संक्रमण पुष्टि भयो । लम्करामा ६४ घरधुरी छन् । गाउँमा अहिले रुघाखोकी र ज्वरोका बिरामी नभएको घर छैन । ‘घरमै बसिरहेका सबै ७७ संक्रमितको स्वास्थ्य सामान्य छ,’ फोक्सिङ स्वास्थ्यचौकी प्रमुख दलबहादुर थापाले भने, ‘अहिले सिटामोलको अभाव छ ।’
यातायातको सहज पहुँच नभएको यो गाउँमा औषधि मात्र होइन नुन र अन्य खाद्यान्नसमेतको अभाव रहेको बताउँछन् वडाध्यक्ष थम्मनसिंह आले । ‘अहिले खाद्यान्न र औषधि जुटाउने प्रयास भइरहेको छ,’ उनले भने । संक्रमण फैलिएपछि गाउँमा आउजाउ बन्द गरिएको छ । संक्रमितको उपचार र लक्षण देखिएका अन्य शंकास्पद व्यक्तिको पीसीआर परीक्षणमा कुनै कसर बाँकी नराख्ने गाउँपालिका अध्यक्ष देवबहादुर थापाले बताए ।
अर्घाखाँचीका प्रायः गाउँमा पनि अवस्था उस्तै छ । पाणिनि–४ का इन्द्रमणि घिमिरेको परिवार एक सातादेखि ज्वरोले थलिएको छ । स्थानीय मैदान स्वास्थ्यचौकीबाट औषधि ल्याएर खाए पनि पीसीआर परीक्षण गराएका छैनन् । ‘ज्वरो र रुघाखोकी छ, शरीर पनि दुख्छ,’ उनले भने, ‘अस्पतालमा सोध्दा बेड छैन भन्छन् । त्यहाँ गएर के गर्नु ? यहाँ त आफ्नै घरमा बस्न पाइएको छ, भनेको बेलामा खान पाइएको छ ।’ मैदान स्वास्थ्यचौकी प्रमुख जगदीश घिमिरेले घरैपिच्छे ज्वरो र रुघाखोकीका बिरामी रहेको बताए । ‘परीक्षण गर्न किट अभाव छ,’ उनले भने, ‘अलि बढी लक्षण देखिएकाको पीसीआर परीक्षण हुन्छ । लक्षण देखिएका सबैको परीक्षण गर्ने हो भने धेरैलाई पोजिटिभ देखिन्छ । तर सबैको गर्न सकिएको छैन ।’
मालारानी–३ का लीलामणि पोखरेल १० दिनदेखि घरमै स्वास्थ्यकर्मीले दिएको औषधि र जडीबुटी खाएर बसेका छन् । ‘ज्वरो र रुघाखोकी पहिला पनि आउँथ्यो तर यति सकस हुन्थेन,’ उनले भने, ‘पीसीआर गरेको छैन, सामान्य छु । दुखाइ बढेमा अस्पताल जानुपर्ला ।’ मालारानी–४ की ५८ वर्षीया महिलालाई ज्वरो र रुघाखोकीले च्यापेपछि अर्घाखाँची अस्पताल लगियो । भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने भएपछि मंगलबार हेलिकप्टरमार्फत काठमाडौं लगियो । तर अस्पताल पुर्याएको एक घण्टामै उनको निधन भयो ।
संक्रमणको डर र अस्पतालमा बेड नपाएर समयमै उपचार गर्न लैजान नसकिएको उनको परिवारले जनाएको छ । ठूलापोखरा स्वास्थ्यचौकी इन्चार्ज विश्वदेव न्यौपानेले दैनिक २० जना ज्वरो र रुघाखोकीका बिरामी आउने गरेको बताए । ‘कतिपयलाई घरमै गएर जाँच गर्ने र औषधि दिने गर्छौं,’ उनले भने, ‘ठूलापोखरामा घर–घरमा बिरामी छन् । सबैका घरमा पुग्न सम्भव छैन, यहाँ स्वास्थ्यचौकीमा आएका बिरामीलाई पनि हेर्नुपर्यो ।’ यस्ता बिरामीको पीसीआर परीक्षण गरिए ८० प्रतिशतमा संक्रमण पुष्टि हुने उनको दाबी छ ।
पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीको असेर्दी र सँगाहा गाउँका धेरैमा कोरोनाजस्तै लक्षण देखिएको छ । धेरै गाउँले बिरामी परेपछि गाउँपालिकाले स्वास्थ्यकर्मी परिचालन गरेको छ । ‘दुई गाउँमा गरी ६२ जना संक्रमित भइसके, केहीको रिपोर्ट आउन बाँकी छ,’ स्थानीय विजय रानाभाटले भने । माथागढी–७ स्थित रहवास स्वास्थ्यचौकीमा १४ जनाको स्वाब संकलन गरिएकामा १३ जनामा संक्रमण पुष्टि भयो । ‘स्वास्थ्यचौकीका ५ कर्मचारीको रिपोर्ट पोजिटिभ आयो,’ स्वास्थ्यचौकी प्रमुख भीमबहादुर रानाले भने, ‘जतासुकै ज्वरोका बिरामी मात्रै छन्, रहवासको अवस्था पनि भयावह हुने देखिएको छ ।’
जिल्लाका तानसेन, रम्भा, रिब्दीकोट, रैनादेवी छहरा, माथागढी, तिनाउ, निस्दी, रामपुरमा घरघरैजस्तो ज्वरो र रुघाखोकीका बिरामी छन् । जसका कारण कतिपय टोलबस्ती सिल गरिएको छ । ‘गाउँगाउँबाट फोन आउँछ, धेरै स्थानमा बिरामी भएपछि रेखदेख गर्न पनि समस्या हुने रहेछ,’ रम्भा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शिव अर्यालले भने, ‘सबैको कन्ट्याक्ट ट्रेसिङ गर्न पनि सकिएको छैन ।’ फोक्सिङकोटको झर्लेङ, तिनाउ–२ दोभान, झुम्सा र ठिमुरेमा पनि पखाला लाग्ने, ज्वरो, रुघाखोकी र टाउको दुख्ने बिरामीको संख्या अत्यधिक छ । ‘अब त जता हेर्यो उतै बिरामी जस्तै हुन थाल्यो,’ अर्यालले भने ।
दोभानका वडाध्यक्ष राजेश श्रेष्ठले गाउँगाउँमा बिरामी भए पनि स्वास्थ्य शाखाले खासै वास्ता नगरेको आरोप लगाए । ‘स्वास्थ्यकर्मीलाई पनि ज्वरो आउन थालेपछि डराउने रहेछन्,’ ठिमुरेका वडाध्यक्ष तुलबहादुर जीसीले भने, ‘हामीलाई पनि डर लाग्छ । तर अब के गर्नु ? जसरी पनि उपचारका लागि जानुपर्छ भनिएको छ ।’
रुकुम पूर्वका विभिन्न गाउँमा पनि अवस्था फरक छैन । सिस्ने गाउँपालिका–२, ३ र ८ मा शंकास्पदहरूको परीक्षण गर्दा मंगलबारसम्म ३७ जनामा संक्रमण पुष्टि भएको छ । जसका लागि कोरोनाको जस्तै लक्षण भएका १ सय २५ जनाको परीक्षण गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक सुरेन्द्रप्रसाद यादवले बताए । यो संक्रमण दर २९.६ प्रतिशत हो । धेरै स्थानीयमा एकैखालका लक्षण देखिएपछि गाउँपालिकाले गाउँमै स्वास्थ्यकर्मी खटाएर परीक्षण गरेको हो । स्थानीयले सदरमुकाम पुगेर परीक्षण गराउन नसक्दा भाइरल ज्वरो र टाइफाइड भन्दै विभिन्न औषधि सेवन गरिरहेका थिए । गाउँपालिका अध्यक्ष कुमारी बरालले थप परीक्षणको व्यवस्था मिलाउने बताइन् ।
रोल्पा–६ कोटगाउँमा घरैपिच्छे कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी भए पनि कोरोना परीक्षण गर्न मानेका छैनन् । वडाध्यक्ष तुलबहादुर घर्तीमगरले सिंगो गाउँमा बिरामीको संख्या बढेकाले संक्रमण रोक्न चुनौती थपिएको बताए । ‘पीसीआर परीक्षण गर्दा लज्जित हुनुपर्ने, आइसोलेसनमा बस्नुपर्ने र हेला सहनुपर्ने कारण देखाउँदै स्थानीयले जँचाउन मानेका छैनन्,’ नगरपालिकाको स्वास्थ्य शाखाकी वरिष्ठ अहेब नैना घर्ती डाँगीले भनिन्, ‘अब गाउँमै पुग्ने योजनामा छौं ।’
जिल्ला अस्पतालका अनुसार मंगलबारसम्म उक्त गाउँका ११ जनामा संक्रमण देखिएको छ । निषेधाज्ञामा पनि गाउँमा बिहेभोज गर्ने, ठूलो संख्यामा जन्ती र मलामी जाने, जमघट कायमै रहेकाले संक्रमण फैलिएको हुन सक्ने अस्पतालका सूचना अधिकारी कुलबहादुर डाँगीले बताए । घरैपिच्छे बिरामी हुन थालेपछि सुनील स्मृति गाउँपालिकाले सबै वडामा एन्टिजेन परीक्षण थालेको छ । यसका लागि स्वास्थ्यकर्मीलाई गाउँगाउँमा खटाइएको छ । यसरी वडा–१ घोडागाउँमा ४९ जनामा परीक्षण गर्दा ७३ प्रतिशतमा संक्रमण पाइएको छ ।
उपचार नपाएरै ज्यान जाने अवस्था
हिमाली तथा पहाडी जिल्लामा आईसीयू र भेन्टिलेटर सुविधा नभएका कारण उपचारै नपाएर संक्रमितको ज्यान जाने अवस्था छ । स्थानीय अस्पतालमा उपचार सम्भव नहुँदा अवस्था भयावह बन्दै गएको चिकित्सकहरू बताउँछन् । इलाम, संखुवासभा र ताप्लेजुङका ग्रामीण बस्तीहरूमा धेरैलाई एकै पटक रुघा, खोकी र ज्वरोले गालेको छ ।
संक्रमणबाट इलाममा १३ जनाको मृत्यु भइसकेको छ । हालसम्म ३ सय ९१ जना संक्रमित छन् । ५० शय्याको इलाम अस्पतालमा प्रदेश सरकारले दिएको भेन्टिलेटर भए पनि प्रयोगमा छैन । आईसीयू पनि तीन महिनादेखि सञ्चालनमा छैन । अहिले सदरमुकामको कोभिड अस्पतालमा २० जना संक्रमित छन् । अस्पतालमा ५० सिलिन्डर अक्सिजन छ । तर संक्रमित बढ्दै गएकाले यो संख्या अत्यन्तै न्यून देखिएको छ ।
संखुवासभामा बुधबारसम्म ४ सय ३ जना सक्रिय संक्रमितमध्ये २ सय २७ होम आइसोलेसनमा छन् । स्वास्थ्य कार्यालयका प्रवक्ता रोशनकुमार श्रेष्ठका अनुसार संस्थागत आइसोलेसनमा ६५ जना उपचाररत छन् । बुधबारसम्म ९२ जना निको भएर घर फर्किसकेका छन् । ‘जिल्ला अस्पतालसहित चैनपुरमा ५० र खाँदबारीमा ६५ बेड क्षमताको आइसोलेसन छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘यसमध्ये ४५ वटामा अक्सिजन जडान गरिएको छ ।’ १५ वटा अक्सिजन कन्सन्ट्रेटर छन् । ८३ वटा अक्सिजन सिलिन्डर मौज्दात रहेको पनि उनले बताए । यस्तै सोलुखुम्बु जिल्लामा बुधबारसम्म दुई सय जनाभन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने ओखलढुंगामा सय जनाभन्दा बढी संक्रमित छन् ।
ताप्लेजुङमा जिल्ला स्वास्थ्य कार्यालयका अनुसार बुधबारसम्म ४ सय ३ जना सक्रिय संक्रमित छन् । अहिलेसम्म १ हजार ३ सय ४१ जनाको स्वाब परीक्षणका लागि पठाइएको छ । २ सय ४० जनाको नतिजा आउन बाँकी रहेको जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलले बताइन् । ओखलढुंगाका चिशंखुगढी, मानेभन्ज्याङलगायतका गाउँपालिकामा ज्वरोसहितका लक्षणका बिरामीहरूको संख्या धेरै छन् । त्यहाँ २२ जनामा संक्रमण भएको पुष्टि भइसकेको छ भने थप शंकास्पद ६२ को परीक्षणका लागि स्वाब लिइएको छ । गाउँपालिकाले थप पीसीआरका लागि पहल गरिरहेको छ । तर, धेरैजसो परीक्षण गराउनै चाहँदैनन् ।
मानेभन्ज्याङमा तीन दिनअघि कोरोना पुष्टि भएका ९ मध्ये ६ जना घरबाट कतै नगएको पालिकाका स्वास्थ्य शाखा प्रमुख विश्वराज दाहालले बताए । अन्य तीन जना धरान र काठमाडौंबाट आएका हुन् । अधिकांशलाई कोरोना पुष्टि भएमा सामाजिक बहिष्कार भोग्नुपर्ने डर छ । त्यसैले उनीहरू परीक्षण नै गर्न नचाहने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।
ताप्लेजुङको फुङलिङ–७ दोखुकी कृष्णमाया गुरुङलाई मंगलबार हेलिकप्टरबाट काठमाडौं पठाइएको छ । कोरोना संक्रमण भएपछि जिल्ला अस्पतालमा राखिएकी उनलाई शरीरमा अक्सिजन मात्रा घट्दै गएपछि काठमाडौं लगिएको हो । जिल्लामा आईसीयू र भेन्टिलेटर नहुँदा काठमाडौं रेफर गरिएको अस्पताल प्रमुख डा. सोनिम लामाले बताए ।
काठमाडौंको केएमसी अस्पतालमा भेन्टिलेटरको बन्दोबस्त मिलाएपछि परिवारले ५ लाख ९० हजार खर्चिएर लगेका हुन् । हेलिकप्टर र अस्पतालमा बेड पाउनका लागि दुई दिन मिहिनेत गर्नुपरेको छोरी कल्पना गुरुङले बताइन् ।
सोमबार पनि फुङलिङ–९ हाङदेवा सिद्धिडाँडाकी ४२ वर्षीया महिलालाई हेलिकप्टरबाटै काठमाडौं लगिएको थियो । ज्वरोले चाप्न थालेपछि अस्पताल आएकी उनको संक्रमण पुष्टि नहुँदै लगिएको हो । जिल्लामा एन्टिजेन किट सकिएको र पीसीआरको नतिजा तीन/चार दिनमा मात्रै आउने भएकाले अस्पतालले लक्षणअनुसारको उपचार सुरु गरेको थियो । भेन्टिलेटर र आईसीयूसहितको अस्पताल भएको झापाको बिर्तामोड पुर्याउन गाडीमा कम्तीमा आठ घण्टा लाग्ने भएकाले हेलिकप्टर रोजेको परिवारका सदस्य बताउँछन् ।
परीक्षणको ८० प्रतिशतसम्म संक्रमण
बागलुङको ढोरपाटन–९ बोबाङका ५६ वर्षीय पूर्वगाविस अध्यक्ष शेरमान घर्तीको गत साता कोरोना संक्रमणबाट मृत्यु भयो । सास फेर्न अप्ठ्यारो भएर धौलागिरि अस्पताल भर्ना भएपछि मात्रै उनको पीसीआर गरिएको थियो । पोजिटिभ रिपोर्ट आएको सात दिनमै उनको ज्यान गयो । दुई दिनको अन्तरमा गम्भीर बिरामी भएपछि अस्पताल ल्याएको दिनमै ढोरपाटन–४ की ७१ वर्षीया पनि बितिन् । उनको मृत्युपछि मात्रै कोरोना पोजिटिभ पुष्टि भयो ।
स्वास्थ्य कार्यालयको टोलीले गत शनिबार ४३ जनाको पीसीआर परीक्षण गरेकामा ३५ जनाको पोजिटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए । ‘पालिकामा भएको भीटीएम पनि प्रयोगमा ल्याइएको थिएन, अहिले बल्ल परीक्षण सुरु भयो,’ उनले भने, ‘घरघरमा संक्रमण पुगिसक्दा हामी परीक्षणमा पछाडि परेका छौं ।’
बागलुङमा अहिलेसम्म २८ जनाले ज्यान गुमाएका छन् । वैशाख पहिलो सातादेखिको निषेधाज्ञा पालना नहुँदा संक्रमण फैलिएको स्वास्थ्यकर्मीको टिप्पणी छ । ‘महिना दिनमा चेनब्रेक होला भन्दा झन् फैलियो,’ स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले भने, ‘भोजभतेर र विवाहले बित्यास पारेको छ ।’ परीक्षण गरिएकामध्ये ८० प्रतिशतसम्म संक्रमित भेटिएको उनले बताए ।
विवाह भोज खाएका बडिगाड–४ का एकै घरका चार जनाले १० दिनको फरकमा ज्यान गुमाइसकेका छन् । मृत्यु हुने अन्य पनि अधिकांश भोजभतेरमा गएकाहरू हुन् । ग्रामीण क्षेत्रमा अझै पनि मानिस जम्मा हुने, क्यारिम बोर्ड, जुवातास र अन्य खेल खेल्ने गरेकाले संक्रमण बढेको स्वास्थ्यकर्मीले बताए । बुधबारसम्म बागलुङमा ९ सय ४३ सक्रिय संक्रमित छन् । सातादेखि परीक्षण गरिएकामध्ये ६० देखि ८० प्रतिशतसम्म संक्रमित भेटिएको बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चूडामणि कँडेलले बताए । ‘संक्रमण त भुसको आगोझैं भित्रभित्रै फैलिएको छ,’ धौलागिरि अस्पतालका मेसु डा. शैलेन्द्र पोखरेलले भने, ‘अस्पतालमा गरिएको परीक्षणमा एक–दुई जनाबाहेक सबैको पोजिटिभ आएको छ ।’
म्याग्दीमा बुधबार मात्रै ७२ जना कोरोना संक्रमित थपिए । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएकामा हाल ४ सय ५० सक्रिय संक्रमित छन् । अझै ८ सय १३ स्वाबको रिपोर्ट आउन बाँकी छ । बस्तीमा भने विवाह, व्रतबन्ध, चौरासी पूजा, मृत्यु संस्कारजस्ता जमघटले कोरोनालाई घर–घर पुर्याएको ठहर जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रले गरेको स्वास्थ्य कार्यालय प्रमुख एकनारायण लम्सालले बताए । म्याग्दीमा कोरोनाबाट २१ को मृत्यु भइसकेको छ ।
गोरखामा चुमनुब्री गाउँपालिकाबाहेक अरू सबै १० वटा स्थानीय तहमा कोरोना संक्रमण देखिएको छ । अहिले ८ सय ८४ जनामा संक्रमण पुष्टि भइसकेको छ । संक्रमण देखिएकामध्ये १ सय ७८ जना निको भएका छन् । स्वाब संकलन गरिएकामध्ये १ हजार ५ सय ७० जनाको रिपोर्ट आउनै बाँकी छ । संक्रमित अधिकांश ग्रामीण भेगका छन् । भीमसेन थापा गाउँपालिकामा मात्र झन्डै २ सय जनाभन्दा बढीमा संक्रमण देखियो ।
वैशाख ५ बाट जेठ ५ को एक महिनाको अवधिमा ८ सय ८४ मा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाका महामारी फोकल पर्सन नारायणबाबु अर्यालले बताए । अजिरकोट गापाका स्वास्थ्य शाखा प्रमुख सुरेश दवाडीले भने, ‘भारत, काठमाडौंबाट आउनेहरू सिधै घर पुगे, यसो हुँदा पनि संक्रमण बढ्यो ।’ तनहुँमा दोस्रो लहरको कोरोना संक्रमितको संख्या ८ सय ५१ पुगेको छ । कोरोनाबाट तनहुँमा हालसम्म २३ जनाको मृत्यु भएको छ ।
पर्वतमा वैशाख १७ मा १४ जनामा संक्रमण देखिएपछि कुश्माको केही वडामा निषेधाज्ञा लगाइएको थियो । त्यति बेलासम्म जिल्लाभर कोभिडका बिरामीको संख्या ६० पनि नाघेको थिएन । वैशाख २८ देखि जिल्लाभर निषेधाज्ञा लगाइयो । जिल्लामा पूरै निषेधाज्ञा लगाएको एक साताभित्रै सक्रिय संक्रमितको संख्या ५ सय नाघिसकेको छ ।
हिमाली जिल्लामा बिजोग
कर्णालीका हिमाली जिल्लामा कोरोना संक्रमण बढ्दै गए पनि उपचार तथा प्रतिकार्य योजना प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन । पीसीआर परीक्षण, अक्सिजन र स्वास्थ्य संस्थामा उपचारको भरपर्दो व्यवस्था नहुँदा संक्रमित भएका व्यक्तिसमेत त्रसित छन् । संक्रमण बढेपछि मुगुमा तीन सातादेखि निषेधाज्ञा छ ।
गमगढी, सोरुकोट, गम्थामाझचौरलगायत बजार क्षेत्रमा निषेधाज्ञामा कडाइ गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले बताए । ‘भीडभाडकै कारण संक्रमणको जोखिम देखियो,’ उनले भने । मुगुमा बुधबारसम्म १ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए । तीमध्ये २० जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
जिल्लामा पीसीआर मेसिन नहुँदा एन्टिजेन विधिबाट कोरोना परीक्षण भइरहेको छ । दैनिक सरदर ७ जना संक्रमित थपिइरहेका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमित बढ्न थाले पनि अक्सिजन र भेन्टिलेटर अपुग भएको छ । अहिले जिल्ला अस्पतालमा २५ थान मात्र अक्सिजन सिलिन्डर मौज्दात छ । निमित्त जिल्ला स्वास्थ्य सेवा व्यवस्थापक ज्ञानसिंह बुढाले भने, ‘बिरामीको गम्भीर समस्या देखिए रेफर गर्नुको विकल्प छैन ।’ डोल्पामा लक्षणसहितका संक्रमित धमाधम बढेका छन् । भरपर्दो उपचार नहुँदा बिरामीले जिल्ला अस्पतालकै आइसोलेसनमा ज्यान गुमाइरहेका छन् । त्रिपुरासुन्दरी नगरकी ४५ वर्षीया संक्रमितले मंगलबार ज्यान गुमाइन् । त्यसको १२ घण्टा नबित्दै ५५ वर्षीय अर्का संक्रमितले ज्यान गुमाए । दुवैको जिल्ला अस्पतालको आइसोलेसनमा मृत्यु भएको हो ।
अस्पतालमा एक वर्षअघि जडान गरिएको भेन्टिलेटर अझै प्रयोगमा आएको छैन । निमित्त स्वास्थ्य सेवा व्यवस्थापक अमरसिंह शाहीले दक्ष जनशक्ति नहुँदा भेन्टिलेटर अहिलेसम्म प्रयोगमा आउन नसकेको बताए । अस्पतालमा अरू उपकरण, औषधि र स्वास्थ्य सामग्रीको समेत अभाव छ । अस्पतालमा अहिले ६ वटा मात्रै अक्सिजन सिलिन्डर मौज्दात छ । ‘न अक्सिजन पर्याप्त छ न अरू उपकरण नै,’ उनले भने, ‘जटिल अवस्थाका बिरामी आए हेलिकप्टर चार्टर गरेर बाहिर पठाउनुपर्ने बाध्यता छ ।’ जिल्ला अस्पतालमा अहिले ७ जनाको उपचार भइरहेको छ । जिल्लामा २८ जना सक्रिय संक्रमित छन् ।
गाउँगाउँमा ज्वरो र रुघाखोकीका बिरामी बढेपछि हुम्लामा समुदायस्तरमा कोरोना परीक्षण गर्न स्थानीयले माग गरेका छन् । जिल्ला स्वास्थ्य सेवा कार्यालयका अनुसार हुम्लामा ८१ जनामा संक्रमण पुष्टि भएको छ । स्थानीय तहले बेलैमा तयारी नथाल्दा समुदायस्तरमै कोरोना संक्रमण बढेको सर्केगाडका महेश शाहीले बताए । ‘बाहिरबाट फर्किएकालाई चेकजाँच नगरी घर पठाइयो,’ उनले भने, ‘अहिले गाउँगाउँमा बिरामी बढेका छन्, अझै स्थानीय तहले ध्यान नदिए स्थिति भयावह हुन्छ ।’ संक्रमण देखिएपछि एक साताका लागि गाउँ सिल गरिएको सर्केगाड–६ का वडाध्यक्ष खडकनन्द बुढाथोकीले बताए । ‘गाउँमा दक्ष स्वास्थ्यकर्मी र यातायात सुविधा छैन,’ उनले भने, ‘वडा सिल गरिएपछि संक्रमणको जोखिम केही घटेको छ ।’
उनका अनुसार सदरमुकाम पुग्न एक दिन पैदल हिँड्नुपर्ने भएकाले जटिल समस्या देखिए हेलिकप्टर चार्टर गर्नुको विकल्प छैन । हुम्लामा जेठ १५ गतेसम्म निषेधाज्ञा छ । संक्रमणको जोखिम बढेपछि हवाई सेवासमेत तीन सातादेखि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । जहाजले खाद्यान्न मात्र ओसार्ने गरेका छन् ।
साभार-ईकान्तिपुर -वीरेन्द्र केसी (अर्घाखाँची), माधव अर्याल (पाल्पा), हरि गौतम (रुकुम पूर्व), काशीराम डाँगी (रोल्पा), आनन्द गौतम (ताप्लेजुङ), कुम्भराज राई (ओखलढुंगा), विप्लव भट्टराई (इलाम), दीपेन्द्र शाक्य (संखुवासभा), प्रकाश बराल (बागलुङ), घनश्याम खड्का (म्याग्दी), हरिराम उप्रेती (गोरखा), सम्झना रसाइली (तनहुँ), अगन्धर तिवारी (पर्वत), राजबहादुर शाही (मुगु), हरि गौतम (रुकुम पश्चिम) र छपाल लामा (हुम्ला)