Thursday 23rd July 2026

माधव नेपालले ओलीलाई बुझाए सात बुँदे स्पष्टीकरण


नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य माधवकुमार नेपालले संसदीय दलका नेता एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणमा सात बुँदे जवाफ फर्काएका छन्। नेपालका तर्फबाट सांसद रामकुमारी झाँक्रीले स्पष्टीकरण बिहीबार संसदीय दलको कार्यालयमा बुझाएकी हुन्।स्पष्टीकरणमा नेता नेपालले आफूले नयाँ दल खोलेको भन्ने ओलीको आरोप असत्य भएको दाबी गरेका छन्। आफूले एमालेको नवौं महाधिवेशनबाट पारित विधानअन्तर्गत काम गरिरहेको उल्लेख गर्दै उनले त्यसलाई आपराधिक क्रियाकलाप देख्नु ओलीको दृष्टि दोष भएको बताएका छन्।

‘सर्वोच्चको आदेशपछि एमालेको सम्पूर्ण संरचनाहरू र तिनका बैठक बस्नेलगायतका सबै क्रियाकलाप पूर्ववत हुनुपर्छ भन्ने मेरो स्पष्ट धारणा छ। मेरो यो धारणा सर्वोच्चको फैसलाको निर्देशन अनुरूप छ। तपाईंले यसलाई अनुशासनहीन, अराजक र आपराधिक क्रियाकलाप भनी लाञ्छित गर्नु नवौं राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशा, पार्टी विधान र पद्दतिका सम्बन्धमा तपाईं स्वंयमा उत्पन्न दृष्टिभ्रम र विचलनको द्योतक हो,’ नेपालले भनेका छन्,‘पार्टी विधानविपरीत कारबाही गर्ने, केन्द्रीय सदस्य थप्ने र महाधिवेशन आयोजक कमिटी बनाउने कुरा सच्याउनपुर्छ भन्ने मागलाई आपराधिक देख्नु पार्टीविरूद्धको आपराधिक चिन्तन होइन र?’नेपालले अलग पार्टी खोलेको भन्ने हाँस्यास्पद भएको बताएका छन्।

‘पार्टीको इतिहास, सिद्धान्त, कार्यक्रम, नीति र विधिको रक्षार्थ तपाईंले फागुन २८ गते गर्नुभएको पार्टी विधानविपरीतको निर्णय रद्द गर्ने माग गर्दा ‘अलग पार्टी खोलेको’ भन्नु आपत्तीजनक एवम् हास्यास्पद छ,’ नेपालको स्पष्टीकरणमा भनिएको छ,‘फागुन २८ गते गरेको निर्णयको आलोचना गर्नु मेरो कर्तव्य हो। यसलाई दल त्याग गरेको नयाँ दल गठन गरेको कुरासँग जोड्नु उचिन हुँदैन। मैले नयाँ दल खोलेको खोल्न लगाएको चलाएको वा चलाउन लगाएको पनि छैन।’

चैत ४ र ५ गते ललितपुरमा भएको भेला नवौं महाधिवेशनले पारित गरेको राजनीतिक मार्ग निर्देशन र विधानको प्रतिरक्षाका लगि थियो भन्ने नेपालको तर्क छ।उनले आफूमाथि ओलीले लगाएका सबै आरोप निराधार भएको उल्लेख गर्दै सरकारको नराम्रो कुराको आलोचना गर्नु सरकारविरूद्ध काम गरेको नहुने बताएका छन्।   कर्णालीमा प्रदेशमा भएको फ्लोर क्रसलाई आफ्नो निर्देशनमा भएको देख्नु ओलीको गुटगत दृष्टिको दोष भएको नेपालको भनाइ छ।  उनले नेकपा हुँदा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरूद्ध ओली समूहका यामलाल कँडेलले ल्याउन लागेको अविश्वासको प्रस्तावको पनि स्मरण गराएका छन्।

‘आफैंले छरेको बिउ उम्रिएको हो,’ उनले भनेका छन्। नेपालले स्पष्टीकरणका नाममा ओलीले प्रयोग गरेका शब्द वाक्य र आरोप झुठा, मर्यादाहीन र उत्तेजक भएको बताएका छन्।’अर्को दल खोलेको आरोपमा मलाई सांसदबाट हटाउनु संविधान र कानुनविपरीत हुन्छ,’ नेपालको स्पष्टीकरणमा भनिएको छ।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

अफ्रिकी राष्ट्र बुर्किना फासोका अन्तरिम राष्ट्रपति क्याप्टेन इब्राहिम ट्राओरे फेरि एकपटक विवादको केन्द्रमा आएका छन्। यसपटक उनको नयाँ मोर्चा कुनै…

बेलायतका नयाँ प्रधानमन्त्रीले बढ्दो महँगीबाट प्रभावित नागरिकलाई राहत दिने उद्देश्यले बिजुलीमा लाग्दै आएको भ्याट हटाउने र बस भाडा घटाउने घोषणा…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी १२ वर्षभन्दा बढी समयदेखि सत्तामा छन्। यस अवधिमा विपक्षी दलहरूले पटक–पटक विभिन्न मुद्दामा सरकारसँग छलफल र…

प्रतिकृयाहरू
...