तान्त्रिक प्रयोजनका लागि शरीरका अंग महँगो मूल्यमा बिक्री हुने भ्रमपूर्ण हल्लाको विश्वासमा परी एक समूहले कपिलवस्तुकी एक महिलाको हत्या गरेको प्रहरीले जनाएको छ ।लुम्बिनी साँस्कृतिक नगरपालिका–५ बुडन्तपुरस्थित माइतीघरमा विगत १२–१३ वर्षदेखि बस्दै आएकी सरजहाँ दर्जीको हत्या भएको हो । उनको शव हातका औंलाहरु नभएको अवस्थामा गत चैत १२ गते बेतिया नदीमा फेला परेको थियो ।
यो घटनामा संलग्न भएको आरोपमा शुद्धोधन गाउँपालिका–२ नन्दनगरका ३९ वर्षीय अब्दुल कलाम मुसलमान, बेलाल अहमद मुसलमान, शुद्धोधन गाउँपालिका–५ शिवालवाका ४५ वर्षीय कृष्ण कुर्मी, शुद्धोधन–५ बिसुनपुराका ५५ वर्षीय रामहरक यादव, रुपन्देही सैनामैना नगरपालिका–१ बनकट्टाका ६७ वर्षीय कर्णबहादुर सुनार र नवलपरासी मध्यबिन्दु नगरपालिका–७ घर भई हाल रुपन्देही बुटवल उपमहानगरपालिका–९ शिवनगर डेरा गरी बस्ने ६७ वर्षीय खेमबहादुर मल्ल छन् । उनीहरुको साथबाट हत्या गरिएकी महिलाका हातका औंलाहरु बरामद गरिएको कपिलवस्तु प्रहरीले जनाएको छ ।अब्दुल कलाम र बेलाल अहमदले फोन गरेर बोलाई बेतिया नदी छेउको चौरमा ती महिलाको घाँटी थिचेर हत्या गरेको प्रहरीको भनाइ छ । त्यसपछि शवलाई बोरामा राखेर नदीमा फालेको पाइएको प्रहरीले जनाएको छ ।
-अनलाइन खबरबाट