च्याटबक्समा व्यस्त भैरहँदा फ्रेन्ड रिक्वेस्टको म्यासेज आयो।कस्ले रिक्वेस्ट गर्यो भनि मन कौतुहल भयो र हेरिहाँले ।
प्रोफाइलको तस्वीरमा आँखा पुग्यो । मोटो गाला,झुस्स दारी,मोटो शरीर । मनैले मनलाई भन्यो,छि:कस्तो कस्तो मान्छेको रिक्वेस्ट आउँछ।
उस्को रिक्वेस्ट डिलिट गर्न औला पुगीसकेको थियो,खै किन हो एकचोटी प्रोफाइल हेर्न मन लाग्यो । खोले प्रोफाइल र पल्टाउन थालें पानाहरु। हेर्दै जाँदा यति मिठा साहित्यिक रचनाहरु थिए कि एक मिनेटमै मन बद्लियो र तुरुन्त स्विकार गरे।
दिनहरु बित्दै जाँदा उस्का रचनाहरु मन पराएर पढ्थे र लाइक गर्थे । साँच्चै भनौ भने फेसबुक खोल्नासाथ मेरो मन र आँखाले उसैका रचनाहरु खोज्दथे।
समयको क्रमसँगै उस्को र मेरो कुरा हुन थाल्यो । साहित्यिक गफ हुन थाल्यो । दिनहरु रमाइलोसँग बितिरहेको थियो । यसैक्रममा एकदिन उस्ले मलाई प्रेमप्रस्ताव राख्यो,यति रिस उठ्यो कि अहिले नै ब्लक गर्न खोजे तर उसँग होइन उस्का सिर्जनासरुसँग मेरो कहिले प्रेम बसिसकेको थियो पत्तै पाइन । अत:उस्कै सिर्जनाहरुले मलाई,ऊस्लाई निःशेध गर्नबाट रोके ।
समयसँगै उस्को जिद्धी चलिरहेको थियो म भने उस्का रचनाहरुसँग पागल थिएँ । यसरी नै हाम्रो लुकामारी झैझगडा, मेलमिलाप चलिरहेको थियो ।
समयभन्दा वलवान के नै हुन सक्छ र! समयक्रमसँगै ऊ मबाट छुटेर क्षितिजपारी पुगीसकेको थियो । तबमात्र मलाई थाहा भयो कि उही मनै नपर्ने मान्छे, कहिले मेरो मनमा बास बसिसकेको थियो । मेरो मनले उस्लाई आफ्नो बनाइसकेको रहेछ । ऊ भने पराईको भैसकेको थियो मेरो नभएको “ऊ” तर म भने उसैकी भैसकेकी थिए, सँधैसँधैका लागि ।
पुष्पा नेपाल सुवेदी
इलाम