Saturday 27th April 2024

दलको नेता चुनिएपछि प्रचण्डले भने, ‘राजीनामा नदिए अविश्‍वास प्रस्तावबाट हटाउँछौं’


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय दलको नेता चयन गरेको छ। शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रचण्डलाई दलको नेता चयन गरेको हो। आफू दलको नेता बनेपछि पत्रकारसँग छोटो प्रतिक्रिया दिँदै प्रचण्डले प्रधानमन्त्री केपी ओलीको गुटमा रहेका सांसद र नेताहरुलाई भ्रममा नपरी आफ्नो समूहमा सहभागी हुन अपील गरे।

‘अहिले पनि जो मान्य सदस्य वा पार्टीका साथी भ्रममा हुनुहुन्छ र केपी गुटमा हुनुहुन्छ। उहाँहरुलाई गम्भीरतापूर्वक अपील गरेको छु, पार्टी यही हो। संसदीय दल भनेको पनि यही नै हो’, प्रचण्डले भने।

दलको नेता चयन भएपछि उनले यसलाई अवसर र चुनौती दुवैको रुपमा लिएको बताए। प्रचण्डले यो जिम्मेवारीलाई राजनीतिक मात्र नभएर वैधानिकसमेत भनेका छन्।

‘यो जिम्मेवारीलाई अवसर र चुनौतीको रुपमा लिएको छु’, पत्रकारको प्रश्नको जवाफ दिँदै उनले भने, ‘यो मैले राजनीतिक मात्र होइन, वैधानिक ढंगले जिम्मेवारी प्राप्त गरेको छु।’

उनले आफू दलको नेता भइसकेको र आधिकारिक पार्टीसमेत आफ्नो समूह भएको भन्दै प्रधानमन्त्री ओलीलाई राजीनामा दिन अनुरोध गरेका छन्। उनले ओलीले राजीनामा गरे देशका लागि सहज हुने बताए। ओलीले राजीनामा नदिए संवैधानिक प्रक्रिया अनुसार उनलाई हटाउने उनको भनाइ छ।

‘अबिलम्ब राजीनामा दिनु उहाँ (प्रधानमन्त्री ओली) को लागि र देशका लागि पनि सहज हुन्छ’, प्रचण्डले पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै भने, ‘अब उहाँले राजनीनामा दिनु भएन भने हामी संविधान, नियम, कानुन र प्रक्रिया अनुसार संसदबाट नै समाधान खोज्छौँ।’

२५ प्रतिशतको माग अनुसार ज्येष्ठ सदस्यको अध्यक्षतामा बसेको बैठकमा ११५ जना सांसद रहेको दाबीसमेत प्रचण्डले गरेका छन्। प्रतिनिसिभा विघटनविरुद्ध आन्दोलनमा सक्रिय भएका दलसँग मिलेर सरकार बनाउनेसमेत प्रचण्डले बताए। प्रधानमन्त्री कसलाई बनाउने भन्ने विषयमा छलफल भइरहेको उनको भनाइ छ।

प्रतिनिधिसभा विघटनपछि सत्तारुढ नेकपा दुई समूहमा विभाजित भएको छ । एउटा समूहको नेतृत्व प्रचण्ड र माधवकुमार नेपालले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रधानमन्त्री ओलीले गरेका छन्।

पुस ५ गते ओलीले विघटन गरेको प्रतिनिधिसभालाई फागुन ११ गते सर्वोच्च अदालतले पुनस्र्थापना गर्दै १३ दिनभित्र पहिलो बैठक बोलाउन आदेश दिएको थियो । साेही आदेश अनुसार २३ गते प्रतिनिधिसभाको बैठक बस्दै छ ।

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

इलाम-२ मा प्रतिनिधिसभा र बझाङको प्रदेश सभाको उपनिर्वाचनको मतदान शुरु भएको छ । निर्वाचन आयोगले बिहान ७ बजेदेखि मतदान शुरु…

तान्जानियामा सातादेखिको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी १५५ जनाको मृत्यु भएको छ । तान्जनियाको सरकारका अनुसार सो…

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदै छ। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते…

प्रतिकृयाहरू
...