Friday 26th April 2024

अमेरिकामा हिमआँधीको कारण कम्तिमा २१ जनाको मृत्यु, विद्युत, पानी तथा ग्यासको समस्याले जनजीवन कष्टकर


तीतोपाटी – अमेरिकाको दक्षिणी भेगमा केही दिनदेखि जारी हिमआँधीमा परेर कम्तीमा २१ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन् । यतिखेर अमेरिकाको टेक्साससहितका धेरै राज्यहरूमा हिमआँधीले वितण्डा मच्चाएको छ । गत आइतबारदेखि शुरू भएको हिमआँधीले त्यहाँको जनजीवन अस्तव्यस्त भएको छ । विद्युत प्रसारण बन्द हुनु खानेपानीको पाइपलाइनमा पानी जमेर पानी उपलब्ध नहुनु तथा ग्यास केन्द्रहरूमा खाना बनाउने ग्यासको उपलब्ध नहुँदा त्यहाँको जनजीवन कष्टकर बनेको छ ।

टेक्सासहितको केही राज्यमा घण्टौँदेखि बिजुली पनि बन्द भएको छ। केन्टुकी, मिजौरी, नर्थ क्यारोलाइनालगायतका राज्यमा आँधीको ठूलो असर परेको छ । यसले त्यहाँका बासिन्दालाई ठूलो विपत्ति निम्त्याएको छ। त्यहाँको परिस्थिति अन्धकार बनेको छ। सबैभन्दा खराब स्थिति टेक्सासको छ। त्यहाँ लगभग ६५ लाख घरहरु अन्धकारको सामना गरिरहेको सिएनएनले जनाएको छ । यसमा व्यवसायिक संस्थाहरूका घरहरू समेत समावेश छन् ।

भारी हिमपातका कारण खोप प्रक्रिया पनि प्रभावित भएको त्यहाँका सञ्चार माध्यमहरुले जनाएका छन्। मेडिकल सेन्टर र अस्पतालहरूमा समस्याहरू बढेका छन्। देश भर ३ हजार उडानहरू रद्द गरिएको छ । टेक्सासको उर्जा आपतकालिन अवस्थालाई ध्यानमा राख्दै राष्ट्रपति जो बाइडेनले सकेसम्म सहयोग पुर्‍याउने आश्वासन दिएका छन्।

राष्ट्रिय मौसम सेवा (एनडब्लूएस) का अनुसार दक्षिण–पश्चिम टेक्सासदेखि उत्तर–पूर्वी म्यासाचुसेट्ससम्मको क्षेत्रमा ठूलो हिमआँधी आएको हो । टेक्सास, लुजिआना, केन्टुकी, नर्थ क्यारोलिना र मिजोरी राज्य सबैभन्दा बढी प्रभावित भएका छन् । केही दिनभित्र अर्को आँधी आउने बताउँदै एनडब्लूएसले १५ करोड जनसंख्या रहेका ती क्षेत्रमा चेतावनी जारी गरेको छ । टेक्सासको तापक्रम ३ दशकयताकै कम अर्थात् माइनस १८ डिग्री सेन्टिग्रेट पुगेको छ । गभर्नर ग्रेग अब्बोटले अवस्था निकै भयावह भएको जनाएका छन् ।

सुगरल्यान्ड सहरमा घरभित्र बालेको आगो फैलिएपछि मंगलबार बिहान ३ बालबालिकासहित एक महिलाको मृत्यु भएको छ । त्यस्तै ह्युस्टन सहरमा पनि कम्तीमा ४ जनाको मृत्यु भएको जनाइएको छ । त्यसैगरी, ह्युस्टनकै राजमार्ग छेउमा २ जनाको शव भेटिएको छ । प्रहरीले उनीहरूको चिसोका कारण मृत्यु भएको जनाएको छ । नर्थ क्यारोलिनामा कम्तीमा ३ जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् । दक्षिणी टेनेसीमा पनि एक जना १० वर्षीय बालकको चिसोका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।…

सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल…

तिमी सँगको मेरो माया दिलमा बस्छ होला मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला तिमी सँग परिचय भएपछि कुराकानि भयो कुरा…

प्रतिकृयाहरू
...