Monday 26th January 2026

१ सय ६१ नेपाली महिला श्रीलंका हुँदै कुवेत कसरी पुगे ?


तितोपाटी- मानव तस्करले १ सय ६१ जना महिलालाई वैदेशिक रोजगारीका लागि श्रीलंकाहुँदै कुवेत पुर्‍याएका छन् । श्रीलंकाको विमानस्थल कोलम्बो हुँदै ती महिलालाई कुवेत पुर्‍याएको सूचना आएको कुवेतस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

श्रीलंकाहुँदै कुवेत पुगेका ती महिला भारतको रुट भएर तस्करमार्फत कुवेत भित्रिएको दूतावासले जनाएको छ । श्रीलंका हुँदै नेपाली महिला कसरी कुवेत आइपुगे भनेर अध्ययन भइरहेको र परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित निकायलाई जानकारी गराइएको दूतावास स्रोतले बताएकाे छ ।

सरकारले नेपालबाट भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृति महिला कामदारका हकमा कडाइ गर्न थालेपछि भारतहुँदै नेपालीलाई घरेलु रोजगारीका लागि खाडीका देश र मलेसिया पुर्‍याउन थालिएको छ ।
पछिल्लो समय वैदेशिक रोजगारीका नाममा महिलासँगै पुरुष कामदारकाे पनि तस्करी भइरहेको छ । तस्करहरूले वैदेशिक रोजगारीको प्रलोभन देखाएर पैसा असुली विभिन्न देश पुर्‍याएर अलपत्र पार्ने गरेकाे वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दहालले बताए ।

विभागले दिउँसो मात्र होइन, रातिसमेत रोजगारीका नाममा भइरहेको मानव तस्करी नियन्त्रण गर्न प्रयास गरिरहेको महानिर्देशक दहाल बताउँछन् । उनी भन्छन्, ‘वैदेशिक रोजगारीका नाममा मानव तस्करी बढिरहेको छ । यसलाई नियन्त्रण र रोक्न प्रयास भइरहेको छ ।’

२०७२ साल चैतदेखि सरकारले खाडीका ६ देश र मलेसियामा घरेलु काममा जाने कामदारलाई श्रम स्वीकृति जारी नै गरेको छैन । घरेलु कामदारका रूपमा वैदेशिक रोजगारीमा जान सरकारले प्रतिबन्ध लगाएको छ । तर, घरेलु रोजगारीका लागि नेपाली महिला कामदार तेस्रो देश र व्यक्तिगत श्रम स्वीकृतिमा मानव तस्करले ओसार्ने काम गरिरहेका छन् ।
वैधानिक रूपमा विदेश जाने बाटो बन्द भएपछि अवैधानिक रूपमा तेस्रो मुलुकको बाटो हुँदै खाडीलगायतका मुलुकमा जाने महिलाको संख्या बढ्दै गएको छ ।  –साभार शिलापत्रबाट


सम्बन्धित शीर्षकहरु

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौँ अधिवेशनबाट महेश कुमारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा…

प्रतिकृयाहरू
...