Monday 26th January 2026

नेपालको अँध्यारो युग समाप्त भयो, अब देशमा चौतर्फी विकास हुन्छ – प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी ओलीले नेपालको अँध्यारो युग समाप्त भएको दाबी गरेका छन् । ‘१०५ वर्षअघि फर्पिङबाट चन्द्रज्योति भनेर सुरु गरिएको पिलपिले बत्तीको सुरुवात भयो, त्यो पिलपिले बत्ती माथि उठ्न नसकेर देशलाई १८ घन्टासम्म अन्धकार बनायो,’ धनुषाको ढल्केबरस्थित सबस्टेसनको उद्घाटन गर्दैै ओलीले भने, ‘अँध्यारो युग समाप्त भयो, अब देशमा चौतर्फी विकास हुन्छ ।’

कृषिमा आधुनिकीकरण, सिँचाइ, उद्योग, व्यवस्थित बसोवास, सहरीकरणको यात्रा सुरु भइसकेको उनको भनाइ छ । मधेसमा उद्योग कलकारखानाको ठूलो सम्भावना रहेको पनि उनले बताए । उनले भने, ‘यहाँ कृषिमा आधारित विभिन्न उद्योगहरू चलाउन सकिन्छ, तपाईंहरू बजारबाट नक्कली जुस ल्याएर खानुहुन्छ, त्यसमा आँपको तत्व हुँदैन, फ्लेभर मात्र हुन्छ । तपाईंलाई आँपको जुस खाने इच्छा छ भने सीधा रूखबाट पिटेर, मेसिनमा पिँधेर खानुस्, त्यसले स्वास्थ्यकाा लागि राम्रो हुन्छ ।’

को मधेसविरोधी ? 
आफूहरूलाई मधेसविरोधी भन्नेहरू आफैँ ठूलो मधेसविरोधी रहेको प्रधानमन्त्री ओलीको दाबी छ । उनले भने, ‘मलाई मधेसविरोधी भन्नेर तपाईंको कानकानमा पु¥याए होला, मलाई मधेसविरोधी भन्ने यहाँका नेताहरूले भ्रम छरेका मात्रै हुन् ।  उनीहरू मधेसभित्रै रहेका विभिन्न गरिब, विपन्न तथा पछाडि पारिएका डोम, मुसहर, चमारसँग विभेद गर्छन्, डोम चमारलाई छुइँदैन, उनीहरूलाई हेप्छन् । तर, उनीहरूले उत्पादन गर्ने सामग्रीहरू भने प्रयोग गर्छन् ।’

आफूले मधेसमा सडकदेखि विभिन्न विकास निर्माणका ठुल्ठूला योजना निर्माण गरेको उनले दाबी गरे । विरोधीहरूलाई लक्षित गर्दै ओलीले भने, ‘तपाईंहरूलाई मधेसको विकास गर्न कसले रोकेको छ र रोकेको थियो ?’
क्षेत्रीयताको कुरा गर्नुको औचित्य समाप्त भएको ओलीको दाबी छ । उनले भने भने, ‘क्षेत्र, जात र धर्मको आधारमा विभेद होइन, हामी सबैले आफ्नो देश, आफ्नो समाज आफैँले बनाउनुपर्छ ।’

आफ्नै पार्टीका नेताले सहनै नसक्ने उपद्रो गरे 
ओलीले नेकपाकै नेताहरूले उपद्रो गरेकोसमेत बताए । ‘पार्टीभित्रैबाट ठूलो उपद्रो गरिरहेका थिए, टेलिभिजन तथा सार्वजनिक रूपमै मविरुद्ध खेदो खन्ने काम भइरह्यो,’ ओलीले भने, ‘सुरुमा उनीहरूले मेरो मृत्युको प्रतीक्षा गरिरहेका थिए, तर मलाई अमर देखेर विभिन्न जालझेल गरेर मलाई साइड लगाउने काम गरिरहेका थिए, उनीहरूलाई साइड लगाएर बल्ल पार्टीलाई सीधा बाटोमा ल्याएको छु ।’ एक–दुईजनाले पार्टी छोड्दैमा केही नहुने ओलीको दाबी छ ।

देशकै ठूलो सबस्टेसनको उद्घाटन 
प्रधानमन्त्री ओलीले देशकै ठूलो धनुषाको ढल्केबरस्थित सबस्टेसनको सोमबार उद्घाटन गरेका गरेका छन् । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको लगानीमा निर्मित चार सय केभीको सबस्टेसनको ओलीले उद्घाटन गरेका हुन् ।

प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले ढल्केबर सबस्टेसन हाल सञ्चालनमा रहेकामध्ये सबैभन्दा ठूलो भएको बताए । ‘पूर्व–पश्चिम र ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइन ढल्केबरमा चार्ज हुन्छ,’ तिम्सिनाले भने, ‘४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् पनि ढल्केबरमा चार्ज हुन्छ ।’
प्राधिकरणले सुक्खायाममा नेपालमा विद्युत्को उत्पादन कम भएको अवस्थामा ढल्केबर स्टेसनमार्फत भारतबाट थप एक सय मेगावाट विद्युत् ल्याउन सहज हुने जनाएको छ । सात सय मेगावाटसम्म भारतबाट आयात गरिँदै आएकोमा आवश्यक परे आठ सय मेगावाटसम्म विद्युत् आयात गर्न सकिने उनले बताए ।

-नयाँपत्रिका दैनिकबाट


सम्बन्धित शीर्षकहरु

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौँ अधिवेशनबाट महेश कुमारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा…

प्रतिकृयाहरू
...