Wednesday 22nd July 2026

देउवाको इच्छा विपरीत आन्दोलनमा तानियो कांग्रेस


 सभापति शेरबहादुर देउवाको अनिच्छाका बाबजुद नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । मंगलबार पार्टी कार्यालय सानेपामा बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले तीन दिने प्रदर्शनको कार्यक्रम तय गरेको हो, जसअनुसार माघ १९ गते भ्रातृ संगठनको प्रदर्शन हुनेछ । २४ गते शुभेच्क्षुक संगठनले प्रदर्शन गर्नेछन् भने फागुन ३ गते जिल्ला कार्यसमितिले ७७ जिल्लामा प्रदर्शन र सभाहरु गर्नेछन् ।

बैठक अगाडि शीर्ष नेताहरुबीच छलफल भएको थियो । वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले काठमाडौं केन्द्रित ठूलो कार्यक्रम गर्नुपर्नेमा जोड दिएका थिए । तर, काठमाडौं केन्द्रित सभा गर्दा माघ मसान्तभित्रै सक्नुपर्ने क्रियाशील सदस्यता वितरण तथा नवीकरण प्रभावित हुन सक्ने सभापति देउवाको तर्क थियो । एक नेता भन्छन्, ‘कम्युनिस्ट पार्टीको दुई समूहसँग प्रतिस्पर्धाजस्तो पनि नहोस् भनेर अहिले काठमाडौं केन्द्रित कार्यक्रम घोषणा नगरिएको हो ।’

ती नेताका अनुसार फागुन ७ मा सातवटै प्रदेशमा जनसभा गर्ने विषयमा पनि छलफल भएको थियो । तर, ७ गते प्रजातन्त्र दिवसमा सरकारी कार्यक्रम नै हुने र ८ गते शनिबार परेकाले फागुन दोस्रो साता काठमाडौं केन्द्रित ठूलो सभा गर्न नेताहरु सहमत देखिएका छन् ।

पौडेलको प्रश्न : अलमल किन ?

केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले शीर्षनेताहरुबीच भएको सहमतिअनुसार आन्दोलनका कार्यक्रम प्रस्ताव गरे, जुन सर्वसम्मतरुपमा पास भयो ।

त्यसपछि नरहरि आचार्यले लिखितरुपमा आफ्नो धारणा राखे । उनले संसद विघटन असंवैधानिक भएको बताए भने पार्टीमा क्रियाशील सदस्य वितरण तथा नवीकरणको छानाविनका लागि छुट्टै समिति बनाउनुको सट्टा विधानअनुसार जान सुझाए ।

वरिष्ठ नेता पौडेलले भने पार्टीको निर्णय र नेताहरुले बोलीले बाहिर अलमलको सन्देश गएको भन्दै प्रश्न उठाए । कांग्रेसले पुस ५ मा प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेको स्मरण गर्दै उनले भने, ‘तर नेताहरुको प्रस्तुतीले अलमल सिर्जना गरेको छ । जबसम्म मोही माग्ने ढुंग्रो लुकाउने गर्छौं, तबसम्म अलमल नै रहन्छ ।’

पार्टीका हरेक कार्यक्रमको उद्देश्य हुने भन्दै पौडेलले अहिले घोषणा गरेको आन्दोलन केका लागि भन्ने प्रश्न गरे । उनले भने, ‘संसद विघटन असंवैधानिक छ, त्यसलाई सच्याउन हो । संवैधानिक बनाउने संसद पुनर्स्थापना गरेर हो, यसमा हामी सबै प्रष्ट हुनुपर्छ ।’

वरिष्ठ नेता पौडेलले सभापति देउवालाई नै संकेत गरे पनि देउवाले यसबारे बोलेनन् ।

एक नेताका अनुसार पौडेलले आचार्यद्वारा उठाइएको छानविन समितिका विषयमा पनि बोलेका थिए । विधानमा सभापति र दुई महामन्त्रीको छानविन समिति हुने व्यवस्था भए पनि धेरै ठाउँमा विधान मिचेपछि नयाँ सहमति भएको स्मरण गर्दै आचार्यलाई यसको नेतृत्व गर्न उनले सुझाए ।

तर, देउवाले ‘तपाईंले बस् भनेर हुन्छ’ भन्दै प्रतिवाद मात्र गरेनन्, विधानअनुसार सभापति र महामन्त्रीको समिति बनाउने बताए । पौडेलले भने पार्टी केन्द्रीय कार्यमितिले नयाँ निर्णय गरिसकेको भन्दै नयाँ प्रस्ताव ल्याएर त्यसलाई उल्टाउन चुनौती दिए ।

देउवाको नियति : चुनावतिर मन छ, निर्णय गराउन सक्दैनन्

कांग्रेस सभापति देउवा, प्रतिनिधिसभा विघटनसँगै घोषित मध्यावधि निर्वाचनमा भाग लिन चाहन्छन् भन्ने लुकेको छैन । उनले सार्वजनिक मञ्चहरुमै अदालतमा विचाराधीन मुद्दालाई लिएर आन्दोलन गर्न नहुने मत मात्र राखेका छैनन्, वैशाखमा चुनाव भए नेकपाको प्रचण्ड–माधव समूहसमेत सहभागी हुने धारणा राख्दै आएका छन् ।

उनलाई भेट्ने कांग्रेस नेताहरुका अनुसार वैशाखमै मध्यावधि चुनाव हुन्छ भन्नेमा उनी ढुक्कजस्तै देखिन्छन् ।

तर, पार्टीलाई निर्वाचनको पक्षमा उभ्याउन सकेका छैनन् । आन्दोलनको पक्षमा रहेका एक नेता भन्छन्, ‘आज केन्द्रीय कार्यसमिति सकिँदै गर्दा पनि हाम्रो निर्णय प्रतिनिधिसभा विघटन असंवैधानिक हो भन्ने नै छ । सभापति पटक–पटक त्यस विपरीत उभिएपनि आफूले चाहेजस्तो पार्टीबाट निर्णय गराउन सक्नुभएको छैन ।’

-अनलाइन खबरबाट


सम्बन्धित शीर्षकहरु

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी १२ वर्षभन्दा बढी समयदेखि सत्तामा छन्। यस अवधिमा विपक्षी दलहरूले पटक–पटक विभिन्न मुद्दामा सरकारसँग छलफल र…

भारतीय राजनीतिज्ञ, लेखक तथा कूटनीतिज्ञ शशि थरूरद्वारा लिखित Why I Am a Hindu समकालीन भारतमा हिन्दू धर्म, हिन्दुत्व र धर्मनिरपेक्षताको…

इरान–अमेरिका वार्तामा मध्यस्थको भूमिका निर्वाह गरेपछि पाकिस्तानले अमेरिकासँग १० अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहायता सुविधा (Exchange Stabilisation Support Facility)…

प्रतिकृयाहरू
...