Friday 10th April 2026

कविता: एकताको भावना – छन्द: स्रग्धरा -हरि शर्मा (गलकोटे कवि)


पानी सारा पखाल्यो सडक सडकमा पौरखी भावनाले
खोलानाला बढायो बखत बखतमा शुध्दता कामनाले
तिर्खा लाग्दा पिलायो कलकल तसरी प्यारको भावनाले
पाखाबारी रसायो प्रकृति प्रगतिको शान्तिको साधनाले ।१।🌷🙏🌺

पानी जस्तो बनेमा प्रियजन सबको प्यारले शान्ति ल्यायो
आशावादी भएमा दिनदिन जनको साथले कान्ति छायो
कोरोनाले पुर्‍यायो शहर कहरमा लोकमा भ्रान्ति ल्यायो
पाखण्डीले सतायो कुकृति विकृतिले चोकमा क्रान्ति ल्यायो ।२।🌷🙏🌺

खोल्साखोल्सी लुकेका असुर कपटका उद्यमी साधनामा
बाटाघाटा ढुकेका कपुत कलहका पारखी दुष्टतामा
सारै सस्तो बनाए अपयस जगमा तुच्छ्ता उच्चतामा
गुण्डा जस्तो लुकाए छल बल मनमा ताडना सत्यतामा ।३।🌷🙏🌺

आगो बाल्दै जलाए हतपत त्यसरी लेखनी पुस्तिकामा
कुत्ता बिल्ली बनेका सपुत कपुतको भूमिका पालनामा
राम्रो मात्रै गरौँला अनुसरण भनी भन्दछिन् भावनाले
पूजा गर्दा खुशी भै सबल सफलता बाँड्दछिन् साधनाले ।४।🌷🙏🌺

टुक्राटाक्री जुटाए हरबखत जुटी पौरखी साधनाले
टुक्क्रा पारी फुटाए झटपट पदको लोभको भावनाले
हामी सारा जुटेमा भरसक गतिलो मान्दछिन् एकताले
पानी जस्तै बनेमा अकपट रसिलो मान्दछिन् मान्यताले ।५।🌷🙏🌺

-हरि शर्मा (गलकोटे कवि)
मिशिगन, अमेरिका ।🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय स्रोतहरूका अनुसार, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पाकिस्तानमार्फत वाशिंगटनलाई १०-बुँदे प्रस्ताव पठाएको छ र अप्रिल १० मा इस्लामाबादमा प्रत्यक्ष…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भइरहेको बमबारी र आक्रमणको अभियानलाई स्थगित गर्ने घोषणा गरेका छन् । इरानले पठाएको १० बुँदे…

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

प्रतिकृयाहरू
...