Tuesday 27th January 2026

अष्ट्रेलिया छाडेर आएकी कुसुम गाउँमा बाख्रा पालेर लाख कमाउँदै


तितोपाटी- नेपाली युवायुवती आफ्नो रोजगारीको गन्तव्य विदेश सम्झन्छन् र विदेशिन निकै पहल पनि गर्ने गर्छन्। नेपालबाट रोजगारीका लागि दैनिकजसो विदेशिने युवायुवतीको लर्को नै लाग्छ।

इलामको माईजोगमाई –३ नयाँ बजारकी कुसुम दाहालले भने अष्ट्रेलियाको बसाई छोट्याएर आफ्नै गाउँमा बाख्रापालनबाट लोभलाग्दो आम्दानी गर्न सफल भएकी छन्।
‘घरपरिवारसँगै बसेर परम्परागत पेशा तथा व्यापार गर्दागर्दै दुई वर्षअघि अष्ट्रेलिया गएकी थिएँ’, दाहालले भनिन्, ‘अष्ट्रेलियाको कृषि र पशुपालन फार्म हेरेपछि आफ्नै गाउँमा बाख्रापालन गर्न मन लाग्यो।’
अहिले उनी यही व्यवसायमा संलग्न छन्। त्यस्तै निजी वनमा रुख हुर्काएर पनि बर्सेनि लाखौं आम्दानी गरेकी छन्। उनले गाउँमा र आफ्ना साथीको विदेश जाने लर्को लागेको देखेर अष्ट्रेलिया जान मन लागेको भन्दै केही वर्षअघि अष्ट्रेलिया गएको बताइन्।
sanimabidh lab box ad 5nbm box ad 4
‘उहाँ विदेशमा जत्तिको मेहनत गरे त गाउँमै रोजगारीसँगै आम्दानी पनि मज्जाले गर्न सकिने रहेछ’, दाहालले भनिन्।
दाहालले विदेशको व्यापार र रोजगारको अवसर हेरेपछि आफूले धेरै कुरा सिकेको बताइन्। विदेशमा कृषि र पशुपालनमा लाग्नेलाई, सीप, प्राविधिक ज्ञान र सरकारी सहयोग पाएको देखेको उनले बताइन्। भनिन्, ‘हामीले परम्परागतरुपमा बाख्रापालन गरिराखेको अवस्थामा प्राविधिक ज्ञान लिएर काम गर्दा आम्दानी बढ्छ भन्ने लागेर स्वदेश फर्किएँ।’
नेपाल फर्किएपछि दाहालले बाख्रापालनको तालिम लिइन्। तालिमपछि उनले आफ्नो माइतीमा रहेको ५४ रोपनी जग्गा ठेक्का लिएर बाख्राको खोर बनाउने काम सुरू गरिन्। पुरानो पेशा व्यापारलाई निरन्तरता दिएर माइजोगमाई– ३ स्थित लप्सीबोटेमा बाख्रापालन सुरू भयो। दुई वर्षअघि स्थापना भएको अन्नपूर्ण कृषि तथा पशुपालन फार्ममा अहिले ६० वटा उन्नत जातका बाख्रा छन्। फार्ममा साधन, बयर र स्थानीय जातका बाख्रा छन्।
बाख्रासँगै दाहालले स्थानीय जातको कुखुरा पनि पालेकी छन्। इलाम पर्यटकीय जिल्ला भएकाले आन्तरिक पर्यटकको पनि घुइँचो नै लाग्छ। यी स्थानीय जातका कुखुरा आन्तरिक पर्यटकका लागि नै खपत हुने गरेको र अधिकांश कुखुरा घरबाटै बिक्री हुने गरेको उनले बताइन्।
‘विदेशमा बसेर गर्ने दुःख नेपालमै गरे त रोजगारीसँगै आम्दानी बढ्ने रहेछ दाहालले भनिन्, ‘जग्गामा राम्रो उत्पादन हुने र घाँस प्रशस्त हुँदै आएको बारीमा चिया, अकबरे खोर्सानी र खोर बनाएर बाख्रापालन गरिएको छ।’
दाहालले चुला चौकाको काम भ्याएर भए पनि कृषि पेशा गर्न मन लागेको बताइन्। घरव्यवहार तथा अरु पनि कार्यभित्रैदेखि लगाव लगाएपछि गर्न सकिँदो रहेछ भन्ने अुनभव आफूले लिएको दाहालको भनाइ छ।
‘घरगाउँमा सबै कृषि पेशामै छन् विदेशमा पनि कृषिबाट करोडौं आम्दानी गरेको देखेका हामीले आधुनिक तरिकाले कृषि र पुशपालन गर्दा राम्रौ नै आम्दानी हुँदोरहेछ, उनले भनिन्।
करिब ५४ रोपनी क्षेत्रफलमा घाँस भएकाले उनलाई बाख्रा पाल्न गाह्रो भएको छैन। घाँस खेर जान नदिन मेसिनबाट कुटी काटेर बाख्रालाई दिने गरिएको छ।
दाहालको भनाइ छ, ‘आम्दानी पनि राम्रो छ, नाफासँगै सन्तुष्ट पनि छु। फार्ममा गाउँका दुई युवाले रोजगारी पाएका छन्।’
व्यवस्थापनका लागि बृहत् योजना बनाउने र लगानी जुटाउने काम भइरहेको भन्दै बिस्तारै खोरसँगै बाख्रा पनि थप्ने योजना रहेको उनको योजना छ। अहिले उनको फार्ममा बाख्राको सङ्ख्या वृद्धि गरी ठूलो बनाएर १० जनालाई रोजगारी दिने योजना छ।
‘प्रदेश एककै नमूना बाख्रा फार्मसँगै उन्नत जातका बाख्राको स्रोत केन्द्रका रुपमा आफ्नो फार्मको विकास गर्नेछ’, उनले सुनाइन्।
१२ लाख लगानीबाट व्यवसाय सुरू भएको र अहिले फार्ममा लगानी ३० लाख रूपैयाँ पुगेको छ। यो आर्थिक वर्षको छ महिनामा बाख्रा बिक्रीबाट १५ लाखभन्दा बढी आम्दानी गरेको दाहालको भनाइ छ।
‘पश्चिम नेपालबाट साधन जातको बाख्रा र पूर्वी नेपालको पहाडी जिल्लाबाट बोयर जातको बाख्राको माग उच्च रहेको छ’, उनले भनिन्।
व्यापारमा रमाइरहेको र उच्च शिक्षा हासिल गरेको मान्छेले बाख्रा किन पालेको भने पनि धेरैले गिज्याएको उनको अनुभव छ। तर आफूले हिम्मत नहारी बाख्रा र कुखुरापालनसँगै अकबरे खुर्सानीबाट आम्दानी राम्रो गरेको उनले बताइन्।
दाहालको बुझाइमा उच्च शिक्षा हासिल गरेका मानिसले कृषि पेशामा लागे बजारको भाउ बुझ्न, प्राविधिक ज्ञान लिन सजिलो हुने भएकाले व्यावसायिक कृषि पेशमा युवायुवती नै लाग्नुपर्ने हुन्छ। उच्च शिक्षा लिएको युवा कृषि र पशुपालनमा लाग्यो भने आफ्नो हातको मोबाइलबाटै प्राविधिक ज्ञान र बजारको अवस्था बुझ्न सकिने पनि उनको अनुभव छ।
‘बाख्राको बजार निकै राम्रो छ’, दाहालले भनिन्, ‘बोयर बाख्रा नयाँ जात भएकाले सबै किसानले फार्मबाटै एक दुई वटा गर्दै खरिद गर्दै आएका छन्।’
बोयर बाख्रा प्रतिकिलो एक हजार ५०० देखि तीन हजार ५०० मा बिक्री हुन्छ। पश्चिमतिर साधन जातको ब्राखाको माग रहेकाले पूर्वमा बोयर र पश्चिममा साधन जातको बाख्रा बिक्री गर्दै आएको उनले जानकारी दिए।
कुसुमको बाख्राको फार्मसँगै कुखुरापालन पनि छ। अहिले खोरमा ५०० स्थानीय जातका कुखुरा छन्। कुखुराको बजारको समस्या नभएको दाहालले सुनाइन्। उनको घरबाटै कुखुरा प्रतिकिलो ६०० मा बिक्री हुँदै आएको छ। कुखुरा गाउँघरदेखि शहरबजारका व्यक्ति पनि खरिद गर्न पुग्छन् दाहालको फार्ममा।
कुखुरा र बाख्राको प्रशस्त मल हुने भएपछि दाहालले अकबरे खुर्सानीको खेती गरेकी हो। दाहालले दुई रोपनी जमिनमा इलामको अकबरे खुर्सानी खेती गरेकी छन्। अकबरे खुर्सानी प्रतिकिलो ३०० मा बिक्री हुने गरेको छ। उनले यो वर्ष मात्रै ८० किलो खोर्सानी बिक्री गरेको बताइन्।-साभार सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौँ अधिवेशनबाट महेश कुमारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा…

प्रतिकृयाहरू
...