Wednesday 19th February 2025

९ हजार नेपालीलाई भिजिट भिसामा कसले पुर्‍यायो यूएई?


तितोपाटी- कोरोना भाइरस (कोभिड-१९) का कारण बन्द भएको अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनमा आएयता झण्डै ९ हजार नेपाली भिजिट भिसामा यूएई पुगेका छन् । अध्यागमन विभागका अनुसार गत १६ भदौयता अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनमा आएपछि ८ हजार ९ सय ६४ नेपाली भिजिट भिसामा यूएई गएका हुन् ।

यो अवधिमा विभागले भिजिट भिसामा यूएई जान प्रक्रिया नपुगेका ५ सय ७६ जनालाई राेकेको छ ।भिजिट भिसामा जाने व्यक्तिलाई कडाइ गर्न थालेको र प्रक्रिया नपुगेका व्यक्तिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइरहेको अध्यागमन विभागका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए । अध्यागमन विभागले आफ्नो क्षेत्राधिकार र आवश्यक कागजात राम्ररी जाँच गरिरहेको उनको भनाइ छ ।
भिजिट भिसाकै आवरणमा मानव तस्करी भइरहेको भन्ने गुनासोपछि याे विषयमा गहन तरिकाले अनुसन्धान भइरहेको उनले बताए । विभागले भिजिट भिसाका लागि सेटिङ मिलाउन सहयोग गरेको आशंकामा २५ जना कर्मचारीसमेत सरुवा गरेको छ ।
नेपालबाट भिजिट भिसामा यूएई जानका लागि ५ हजारभन्दा धेरै प्रक्रियामा रहेको सूचना आएको वैदेशिक रोजगार विभागले जनाएको छ । भिजिट भिसामा म्यानपावरले कामदार पठाइरहेका छन् । विभागले भिजिट भिसामा जाने व्यक्तिको क्षमता र आर्थिक अवस्था कस्तो छ भनेरसमेत अध्ययन गरिरहेको जनाएको छ ।
एयर अरेबिया र अध्यागमनका कर्मचारीले भ्रमणको उद्देश्य नखुले पनि भिजिट भिसामा भएकालाई बोर्डिङ पास र प्रस्थान अनुमति (डिपार्चर) दिँदै आएको छ । यसरी भिजिट भिसामा जाने कामदारलाई सेटिङमा राति २ बजेको एयर अरेबियाको उडानमार्फत पठाउने गरेका छन् ।
भिजिट भिसामा यूएई जाने व्यक्तिसँग टिकटसहित सेटिङका लागि प्रतिव्यक्ति २ लाख ५० हजार रुपैयाँ म्यानपावरसँग एजेन्टले उठाउँदै आएका छन् ।
भिजिट भिसामा कामदार पठाउने म्यानपावर र एजेन्ट
म्यानपावर, कन्सल्टेन्सी, ट्राभल र एजेन्टले सबैभन्दा धेरै भिजिट भिसामा यूएई नेपाली पठाइरहेको पाइएको छ । यूएईसँग खाडीका अन्य देशमा समेत ट्राभल एजेन्सी, कन्सल्टेन्सी, म्यानपावर कम्पनी र तिनैका प्रतिनिधि एजेन्टले भिजिट भिसाका नाममा रोजगारीमा कामदार पठाइरहेको पाइएको हो ।
NCell
एचएमटी म्यानपावर ओभरसिज, ओम ओभरसिज प्रालि, सिनामंगलस्थित स्काई अफ द वोड, इम्पावर ह्युमेन रिसोर्सेज म्यानेजमेन्ट प्रालि, रोयल एचआर प्रालि, सुर्खेत ओभरसिज प्रालि र स्काई ब्लू इन्टरनेसनल ओभरसिज प्रालिले भिजिट भिसामा कामदार यूएई पठाइरहेकाे विभागले जनाएको छ । विभागका अनुसार मल्टिपल ट्राभल एण्ड टुर्स प्रालिले समेत भिजिट भिसामा कामदार पठाइरहेका छन् ।
यस्तै, धादिङका रमेश सुचिकार, रामलाल बोहरा, दिलीप श्रेष्ठ, कविता परिवार, काभ्रेका मदन मगर, पर्साका जीवन महताे र केही यूएईमा रहेका एनआरएनएसमेत संलग्न रहेको उजुरी परेको विभागले जनाएको छ । यूएईमा बसेर संगीता राई, राजन क्षत्री, विकास शाह, प्रदीप कुमार र केही भारतीय नागरिक भिजिट भिसामा कामदार ओसार्ने सेटिङ मिलाउन काम गरिरहेको उजुरी परेकाे स्रोतले जनाएको छ ।
विदेशमा बसेर कतिपय व्यक्तिले भिजिट भिसामा कामदार पठाउनका लागि नेपालमा एजेन्ट राखेर काम गर्ने गरेको पीडितले विभागमा उजुरी गरेका छन् । भिजिट भिसामा कामदार पठाउन म्यानपावर र व्यक्तिगत एजेन्टको खोजीसमेत गरिरहेको विभागका महानिर्देशक दहालले जानकारी दिए ।
विभागले भिजिट भिसाका नाममा युएई कामदार पठाउने म्यानपावर, ट्राभल र कन्सल्टेन्सीको केही महत्त्वपूर्ण कागजात जफत गरेको समेत महानिर्देशक दहालले बताए । ‘विभागले भिजिट भिसामा यूएई जान म्यानपावर, एजेन्ट, ट्राभल र कन्सल्टेन्सीमा राहदानी बुझाएका व्यक्ति सम्पर्कमा आउन आग्रह गरेको छ । विभागमा भिजिट भिसाका नाममा ठगिएका व्यक्ति उजुरी लिएर आइरहेका छन्,’ उनले भने, ‘भिजिट भिसाका नाममा मानव तस्करी गर्ने व्यक्ति र संस्थामाथि कानुनी कारबाही हुन्छ । हाल विभागले भिजिट भिसामा कामदार पठाइरहेका व्यक्ति र म्यानपावरमाथि कारबाही प्रक्रियाअगाडि बढाएको छ । मानव तस्करी र वैदेशिक रोजगार ऐनअनुसार उनीहरूलाई कारबाही हुन्छ ।’
विभाग म्यानपावर र ट्राभलले भिजिट भिसामा कामदार पठाउन प्रयोग गरेको राहदानी र केही महत्त्वपूर्ण कागजात भेटाएको छ । ट्राभल एजेन्सी, कन्सल्टेन्सीले समेत भिजिट भिसामा कामदार पठाइरहेको तथ्य फेला परेको थियो । ट्राभल एजेन्सी र कन्सल्टेन्सीले भने कार्यालयभन्दा बाहिर बसेर भिजिट भिसामा कामदार पठाउँदै आएको तथ्य फेला परेको महानिर्देशक दहालको भनाइ छ ।
यूएई हुँदै खाडीका अन्य देश
एजेन्ट र म्यानपावरले भिजिट भिसामा यूएई पठाइएका महिलालाई भने खाडीका अन्य देश पुर्‍याउने गरेका छन् । भिजिट भिसामा यूएई पठाइएका महिलालाई खाडीका अन्य देशमा घरेलु काममा लगिन्छ । भिजिट भिसामा यूएई भनेर कुवेत, ओमान, इराक, बहराइन, इरानलगायत खाडीका देशमा घरेलु काममा लगाइने गरेको भिजिट भिसामा गएका महिलाले नै उजुरी गरिरहेकाे विभागको उजुरी शाखाले जनाएको छ ।
विभागका अनुसार यूएई भनेर गएका महिला खाडीका अन्य देशबाट विभागको हटलाइन र फेसबुक पेजमार्फत उजुरी गरिरहेका छन् । म्यानपावरसँग मिलेर व्यक्तिले सामाजिक सञ्जालमा रोजगारीको विज्ञापन गरेर कामदार पठाइरहेका छन् । यसरी सामाजिक सञ्जालमा भिजिट भिसामा कामदार पठाउने प्राय: म्यानपावरका एजेन्ट र वैदेशिक रोजगारीमा गएका नेपाली रहेका छन् । भिजिट भिसामा कामदार पठाउने सञ्जाल यूएईदेखि नेपालको गाउँसम्म रहेको विभागले जनाएको छ ।

यो समचार शिलापत्रमा रमेश भरतीले लेखेका छन।


सम्बन्धित शीर्षकहरु

जेरुसेलम: शीर्ष अमेरिकी कूटनीतिज्ञ मार्को रुबियो र इजरायली नेता बेन्जामिन नेतान्याहूले हमास र इरानप्रति आफ्नो दृष्टिकोणमा संयुक्त मोर्चा प्रस्तुत गरेपछि…

पश्चिम अफ्रिकी देश मालीमा शनिबार अवैध सुन खानी भत्किँदा ४० जनाभन्दा बढीको ज्यान गएको छ जसमा अधिकांश महिला छन् ।…

कल्याणकारी नेपाली युवा समाज कुवेतको चौथो अधिवेशन आगामी ४ अप्रिल २०२५ मा हुने भएको छ । संस्थाको गत शुक्रबार बसेको…

प्रतिकृयाहरू
...