Wednesday 18th February 2026

अपहरण तथा बलात्कारका दोषीलाई १९ वर्ष कैद


तितोपाटी-सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–४ मधवापुरका १८ वर्षीय युवकलाई अपहरण तथा शरीर बन्धक र जबर्जस्ती करणीको अभियोगमा १९ वर्ष ४ महिना कैद सजाय भएको छ ।

जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीको इजलाशले आरोपितलाई जबरजस्ती करणी अभियोगमा ८ वर्ष कैद, अपहरण तथा शरीर बन्धकतर्फ ४ वर्ष ८ महिना कैद र ४६ हजार ६४६ रुपैयाँ जरिवाना तथा थप सजायतर्फ ६ वर्ष ८ महिना कैद र ६६ हजार ६६६ रुपैयाँ जरिवाना तोकेको अदालतले जनाएको छ । आरोपितबाट पीडितलाई एकमुष्ठ ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने समेत फैसला भएको छ ।

सप्तरीबाट अपहरण गरी सुनसरीको इटहरी पुर्‍याइ १५ वर्षीया बालिकालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा अभियुक्तलाई अलग–अलग कसुर वापत कैद सजाय भएको हो ।

अदालतका स्रेस्तेदार कुमार मास्केका अनुसार आरोपितले क्षतिपूर्ति र जरिवाना पुरै बुझाउनु पर्ने हुन्छ । कैदको हकमा भने फैसला अन्तिम भएपछि कैद बस्नु पर्दा धेरै अपराध ठहर भएका मध्ये ठूलो अपराधमा कैद सजाय भोगेपछि सानो अपराधको कैद भोग्नु पर्दैन तर थप सजाय भने भोग्नु पर्ने हुन्छ ।

कसूरको गम्भिरता हेरी कानुनमा थप सजायको व्यवस्था गरिएकोले फैसला सदर ठहरिएका हकमा अभियुक्तले जबरजस्ती करणी अभियोगमा ८ वर्ष कैद र थप सजायतर्फ ६ वर्ष ८ महिना कैद सजाय भोग्नु पर्छ । कैद हदका कारण अपहरण तथा शरिर बन्धकतर्फको ४ वर्ष ८ महिना कैद सजाय भने भोग्नु पर्दैन् । तर आरोपित समेत बालबालिका भएकाले ठहर भएको कैदमध्ये दुई तिहाई कैद सजाय हुने ठहरिएको अदालतले जनाएको छ ।

अभियुक्तले ०७५ मङसिर २५ गते बालिकालाई अपहरण गरी सुनसरीको इटहरी पुर्‍याइ बलात्कार गरेको भन्दै पीडितका बुवाले जिल्ला प्रहरी कार्यालय सप्तरीमा ०७५ पुस ३ गते उजुरी दिएका थिए । आरोपितले गाउँघरबाटै पीडितलाई ललाईफकाई अपहरण गरी सुनसरीको इटहरी पुर्‍याइ बलात्कार गरेको पीडितले समेत बताइन् ।

पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ०७५ पुस ३ गते स्वास्थ्य परिक्षण भयो । जिल्ला प्रहरी कार्यालयले आरोपितलाई ०७५ पुस ४ गते पक्राउ गरी जबर्जस्ती करणी, अपहरण तथा शरीर बन्धकअन्तर्गत मुद्दा दर्ता गरेर कारबाही थालेको थियो । जिल्ला अदालतले ०७५ पुस २८ गते आरोपितलाई मुद्दा पुर्पक्षका लागि बालसुधार गृह पठाएको थियो ।

अन्नपूर्णपोस्टबाट


सम्बन्धित शीर्षकहरु

Bhubaneswar को सुन्दरपाडा क्षेत्रमा जनवरी २७ साँझ भएको शक्तिशाली विस्फोटको सीसीटीभी फुटेज सार्वजनिक भएको छ। फुटेजमा विस्फोटको तीव्रता स्पष्ट देखिन्छ,…

दक्षिण एसियाको पूर्वी भू–भाग फेरि एकपटक रणनीतिक र आर्थिक बहसको केन्द्रमा आएको छ। हालै Muhammad Yunus ले आफ्नो सम्बोधनमा “नेपाल,…

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र…

प्रतिकृयाहरू
...