Monday 19th January 2026

इजरायलमा पुन: कामदार पठाउने प्रक्रिया सुरु


तितोपाटी- वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि आकर्षक गन्तव्य मानिएको इजरायलमा पुन: कामदार पठाउने प्रक्रिया सुरु हुने भएको छ ।

नेपाल र इजरायलबीच सरकारीस्तरमा गत असोजमा इजरायलका लागि नेपालकी राजदूत अन्जान शाक्य र इजरायली परराष्ट्रमन्त्री गावी अस्केनाजीबीच श्रम सम्झौता भएको थियो । सोही सम्झौताका आधारमा सन् २०२१ को जनवरी देखि नेपालबाट श्रमिक छनोट गरेर पठाउने गरी प्रक्रिया अगाडी बढाएको वैदेशिक रोजगार विभागले जनाएको छ ।  नेपालबाट इजरायलले नर्सिङ क्षेत्र, अस्पताल, नर्सिङ होम, दिवा सेवा केन्द्र लागयतमा नेपाली केयर गिभरमा श्रमिक आपूर्ति गर्नेगरी सम्झौता भइसकेको छ । इजरायलमा कामदार पठाउनका लागि गत असोजमा भएको श्रम सम्झौतालाई गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले अनुमोदन गरेका कारण चाँडै कामदार पठाउन प्रक्रिया सुरु हुने वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दहालले जानकारी दिए ।
सन् २०१५ मा भएको श्रम सम्झौतालाई आधार मानेर दुई देशबीच गत असोजमा पुन : श्रम सम्झौता भएको छ । सोही आधारमा नेपालले कामदार पठाउन गरि प्रक्रिया सुरु गरेको विभागका महानिर्देशक दहालले बताए । ‘श्रम सम्झौतामा उल्लेख भएअनुसार पहिलो चरणमा ५ सय कामदार रोजगारीका लागि इजरायल जाँदैछन् । श्रम सम्झौताका आधारमा हिब्रु भाषा, अंग्रेजी र तालिम लिएका कामदारलाई परिक्षण प्रणालीबाट छनोट गरिन्छ,’ उनले भने, ‘श्रम सम्झौता अनुसार सरकारी तवरबाट नेपाली श्रमिक रोजगारीका लागि इजरायल जाने छन् । विगतका जस्तै प्रक्रिया हो । सरकारले पठाउने हो । इजरायल रोजगारीमा जानका लागि तालिम, इजरायली भाषा र अंग्रेजी समेत जानेको हुनुपर्छ ।’
नेपाली श्रमिकले इजरायली नागरिक सरहको सेवा सुविधा र संरक्षण समेत पाउने उनको भनाइ छ ।

नेपालका लागि इजरायली राजदूत हनान गोडरले सन् २०२१ देखि श्रम सम्झौतामा उल्लेख भएअनुसार कामदार लैजाने प्रक्रिया सुरु गर्ने बताउँदै आएका छन् । इजरायल सरकारले नेपाली कामदारलाई रोजगारीको अवसर दिइरहेको र तत्काल नेपालबाट नर्सिङ होमसँग केयर गिभरमा कामदार लैजाने उनको भनाइ छ । सन् २०१५ मा सरकारीस्तरमा नै कामदार आपूर्ति गर्ने विषयमा नेपाल सरकारसँग इजरायलले ‘पाइलट प्रोजेक्ट’का रुपमा श्रम सम्झौता गरेको थियो । तर, श्रम सम्झौता भएको ३ वर्षको अवधिमा नै नेपालीका लागि इजरायलको श्रम बजार बन्द भएको थियो ।

दुई चरणमा १ सय ६ इजरायल पुगे
सम्झौता भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ३ वर्षमा ३ सय कामदार आपूर्ति गर्ने समझदारी भए पनि यो अवधिमा १ सय ६ जना मात्र इजरायल पुगेको विभागको तथ्यांक छ । सम्झौतामा भनिए जति कामदार पनि इजरायल आपूर्ति हुन सकेन ।
इजरायल जानका लागि विभागले पहिलो चरणमा गरेको आवेदनमा ८ सय १८ जनाले दरखास्त दिएका थिए । त्यसबाट अन्तिम भाषा परीक्षामा १ सय सहभागी भएकोमा ५९ जना मात्रै छनौट भएर इजरायल पुगेका थिए ।

दोस्रो वर्ष करिब एक हजार जनाले आवेदन दिएका थिए । जसमा ६० जना अन्तिम छनोटमा परे पनि अन्त्यमा ४७ जना मात्र इजरायल पुगेको विभागको तंथ्याकमा उल्लेख छ । तेस्रो वर्ष इजरायलले कामदारको माग नै गर्न छाडेको थियो ।
मासिक लाखभन्दा धेरै कमाई
इजरायल सरकारले ८० प्रतिशत महिला र २० प्रतिशत पुरुष हुनुपर्ने शर्त राखेकाले नेपाली महिलाका आकर्षक गन्तव्य देशभित्र इजरायल परेको थियो । इजरायल जाने नेपाली कामदारले महिनाको १ लाख २० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेका छन् ।
श्रम सम्झौतामै केयर गिभरका लागि इजरायल जाने कामदारले न्यूनतम ९० हजार रुपैयाँ पारिश्रमिक तोकिएको हुन्छ ।
इजरायल जाने कामदारले स्वास्थ्य परीक्षण, बीमा हवाई खर्चसहित लगभग ९ सय ५० डलर खर्च लाग्ने गरेको छ । उनीहरूले ५ वर्षसम्म इजरायलमा रोजगारी पाउँछन् । तीन महिनाको ‘केयर गिभर’ तालिम लिएका वा नर्सिङ पढेकालाई इजरायल लैजान सकिने एमओयूमा उल्लेख छ । यसै अनुसार पहिलो र दोस्रो चरणमा कामदार छनोट गरिएको थियो । विशेष गरी वृद्धवृद्धालाई स्याहार गर्ने कामका लागि घरेलु कामदारका रुपमा इजरायलले केयर गिभर लिने गरेको छ ।
हाल इजरायलमा करिब ७ हजारभन्दा नेपाली महिलाहरु रोजगारीमा कार्यरत रहेको सरकारी अनुमान छ । ३ वर्षअघि नै इजरायल रोजगारीमा जान भनेर हिब्रु भाषा र केयर गिभरको तालिम लिएका करिब ३ हजार महिलाहरु रहेको विभागको अनुमान छ ।

साभार शिलापत्रबाट 


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...