Sunday 12th July 2026

अढाइ करोड डोज खोप दिन रुस सहमत


रुसले नेपाललाई २ करोड ५० लाख मात्रा (डोज) कोरोना खोप उपलब्ध गराउने भएको छ । रुसको सरकारी स्वामित्वको ‘द रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड’ र नेपाली फर्मास्युटिकल्स वितरक कम्पनी ट्रिनिटीबीच भएको सम्झौताअनुसार रुसले हाल उत्पादन भइरहेको ‘स्पुतनिक भी’ नामक खोप नेपाललाई उपलब्ध गराउने भएको हो । सन् २०११ मा रुसी राष्ट्रपति र प्रधानमन्त्रीको नेतृत्वमा स्थापित फन्ड रुसमा विदेशी लगानी प्रवद्र्धन गर्न कार्यरत छ ।

सम्झौताअनुसार नेपालका ९० प्रतिशत जनसंख्याले यो खोप पाउने भएको अमेरिकी न्युज एजेन्सी पिआर न्युज वायरले मंगलबार जनाएको छ । तेस्रो तथा अन्तिम चरणको क्लिनिकल परीक्षणमा रुसी खोपको नकारात्मक प्रभाव नदेखिएको र यसले शतप्रतिशत सहभागीमा प्रतिरक्षात्मक प्रतिक्रिया दिएको जनाइएको छ । रुसको गामालेया नेसनल रिसर्च इन्स्टिच्युट अफ इमिडेमोलोजी एन्ड माइक्रोबायोलोजीले निर्माण गरिरहेको सो खोप रुसी स्वास्थ्य मन्त्रालयले दर्ता गरिसकेको छ । विधिवत् दर्ता भएको यो खोप विश्वमै कोरोनाविरुद्धको पहिलो हो ।

सेप्टेम्बर ४ मा मेडिकल जर्नल ल्यानसेटले यो खोपको पहिलो र दोस्रो चरणको परीक्षण नतिजा प्रकाशन गरेको थियो । जर्नलले परीक्षणमा सहभागीमा कुनै किसिमको गम्भीर नकारात्मक प्रभाव नदेखिएको र शतप्रतिशत सहभागीमा स्थिर प्रतिरक्षा प्रणाली विकास भएको जनाएको थियो । हाल ४० हजार स्वयंसेवकमा यो खोपको परीक्षण भइरहेको छ भने अरु ६० हजारले परीक्षणमा सहभागी हुन नाम दर्ता गरेको जनाइएको छ । यो परीक्षणको नतिजा आगामी अक्टुबर–नोभेम्बरमा प्रकाशित हुने तयारी छ । एसिया, मध्यपूर्व, ल्याटिन अमेरिका र युरोपका ५० देशले यो खोप माग गरेका छन् । फन्डले यसअघि नै मेक्सिकोलाई ३ करोड २० लाख, ब्राजिललाई ५ करोड, भारतलाई १० करोड र उज्वेकिस्तानलाई ३ करोड ५० लाख मात्रा दिने घोषणा गरिसकेको छ ।

रुसको गामालेया नेसनल रिसर्च इन्स्टिच्युट अफ इमिडेमोलोजी एन्ड माइक्रोबायोलोजीले निर्माण गरिरहेको खोप रुसी स्वास्थ्य मन्त्रालयमा दर्ता भइसकेको छ । विधिवत् दर्ता भएको यो खोप विश्वमै कोरोनाविरुद्धको पहिलो हो ।

‘मानवमा परीक्षण गरिएको यो खोपमा दीर्घकालीन नकारात्मक प्रभाव छैनन् र हामी एसियाका अन्य साझेदारसँग काम गर्न इच्छुक छौं,’ फन्डका प्रमुख कार्यकारी अधिकृत किरिल दिमित्रिभले बताए । उनले कोरोना भाइरस सबैको शत्रु रहेको र सबैको सहकार्यले यसलाई परास्त गर्न सकिने औंल्याए ।

ट्रिनिटी फर्मास्युटिकल्सका निर्देशक किशोर अधिकारीले रुसी फन्डसँगको सहकार्य घोषणा गर्न पाउँदा उत्साहित भएको बताउँदै थपे, ‘तेस्रो चरणको परीक्षण सफल भएपछि र नेपाल सरकारले यो खोपलाई अनुमोदन गर्नासाथ हामी नेपालमा उपलब्ध गराउनेछौं ।’ ट्रिनिटी स्वास्थ्य उपचारसम्बन्धी उत्पादन नेपाली बजारमा उपलब्ध गराउँदै आएको कम्पनी हो । अधिकारीले रुसी कम्पनीसँग तीन महिनाअघिदेखि नै छलफल भएको तथा नेपालस्थित रुसी राजदूत अलेक्साई ए. नोभिकोभको सहयोग महत्वपूर्ण रहेको बताए । प्रतिडोज खोपको कति पैसा पर्छ भन्ने अहिले नै निक्र्योल भइनसकेको उनले स्पष्ट पारे ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले केही साताअघि रुसी राजदूत नोभिकोभलाई भेटेर नेपालमा खोपको तेस्रो चरणको परीक्षण गर्ने विषयमा छलफल गरेका थिए ।

-नागरिक न्युजबाट

सम्बन्धित शीर्षकहरु

इरानले अमेरिकी अधिकारीहरूलाई हालैका केही समुद्री घटनाबारे स्पष्टीकरण दिँदै ती आक्रमणहरू जानाजानी नभई हतियार प्रणालीको एउटा “त्रुटिपूर्ण (errant) भाग” का…

अमेरिकाले इरानलाई परमाणु गतिविधि अघि बढाउनबाट रोक्न आवश्यक परे सैन्य विकल्प अझै खुला रहेको जनाएको छ। वासिङ्टनले तेहरानमाथि दबाब बढाउँदै…

गण्डकी प्रदेशसभाले औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई वैधानिकता दिने उद्देश्यसहित तयार गरिएको गाँजा खेती नियमन तथा व्यवस्थापन विधेयक…

प्रतिकृयाहरू
...