Wednesday 22nd July 2026

विदेश जाने क्रम ठप्प हुँदा पनि कसरी बढ्यो रेमिट्यान्स ?


चालु आर्थिक वर्षको पहिलो महिना साउनमा विदेशमा बस्ने नेपालीले ९२ अर्ब ७१ करोड रुपैयाँ रेमिट्यान्सका रुपमा नेपालमा पठाए । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा आएको यो रकम अघिल्लो वर्षको साउन महिनाको भन्दा २३ प्रतिशतले बढी हो ।अघिल्लो वर्षको साउनमा विप्रेषण आप्रवाह जम्मा २ प्रतिशतले बढेको थियो । राष्ट्र बैंकका अनुसार गत महिनामा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.७ प्रतिशतले बढेको थियो ।

साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९९.२ प्रतिशतले घटेका थिए । अर्थात् यो अवधिमा कामका लागि विदशे जाने क्रम ठप्प थियो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १९.० प्रतिशतले घटेको थियो ।राष्ट्र बैंकका अनुसार वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.३ प्रतिशतले घटेको थियो ।यो अवधिमा विदेश जानेको संख्या घटेपनि रेमिट्यान्सले भने उछाल हानेको छ ।महामारीका बीचमा पनि रेमिट्यान्स आप्रवाहमा गत आर्थिक वर्ष २०७६/७७मा ०.५ प्रतिशतको गिरावट आएको थियो । आर्थिक वर्ष २०७५/७६ मा १६.५ प्रतिशतले बढेको रेमिट्यान्स गत आर्थिक वर्ष २०७६/७७ मा ०.५ प्रतिशतले घटेको थियो, जुन अपेक्षित भन्दा राम्रो अंक थियो ।

विश्व बैंकले कोभिड-१९को महामारी सुरु हुनासाथै भनेको थियो, नेपाल आउने रेमिट्यान्समा १४ प्रतिशतसम्म गिरावट आउन सक्छ । नेपाल राष्ट्र बैंकले पनि ५ देखि १० प्रतिशतशसम्म रेमिट्यान्स आप्रवाह घट्ने अनुमान गरेको थियो ।तर, गत वर्ष ८ खर्ब ७५ अर्ब ३ करोड रुपैयाँ रेमिट्यान्स नेपाल आएको थियो । त्यसभन्दा अघिल्लो वर्ष ८ खर्ब ७९ अर्ब २७ करोड रेमिट्यान्स भित्रिएको थियो ।चैतमा नेपालमा लकडाउन भएपछि रेमिट्यान्स आप्रवाह नसुस्ताएको हैन । गत वैशाखमा ५३ अर्बमात्रै रेमिट्यान्स आएको अवस्थामा जेठमा ९४ अर्ब रेमिट्यान्स भित्रिएको थियो । असारमा त्यो क्रम बढेर १ खर्ब १ अर्ब रुपैयाँ पुगेको थियो  ।वैदेशिक रोजगारीमा जानेको संख्या गिरावट आउँदा पनि साउन महिनामा रेमिट्यान्स नघट्नुले प्रक्षेपण गरिएजस्तो ठूलो संख्यामा विदेशमा कार्यरत नेपाली श्रमिक प्रभावित नभएको देखिने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

कसरी बढ्यो रेमिट्यान्स ?

राष्ट्र बैंकका प्रवक्ता गुणकरण भट्ट महामारीको बीचमा पनि रेमिट्यान्स आप्रवह गत वर्षकै हाराहारीमा रहनु सकारात्मक मान्छन् । चैतमा कोभिड महामारी ब्यापक रुपमा फैलिरहँदा विदेशमा रहेका ८ लाख नेपालीले रोजगारी गुमाउने अनुमान थियो ।

यसले गर्दा ठूलो संख्यामा नेपालीहरु स्वदेश फर्किने र त्यसले गर्दा रेमिट्यान्स आगमन खुम्चिने प्रक्षेपण थियो । तर, जब नेपालका प्रमुख श्रम गन्तब्य मुलुकहरुमा कोभिड-१९को लागि लकडाउन भयो, त्यसपछि पनि सीमित आर्थिक गतिविधि चलायमान रहे । प्रक्षेपण गरिएकोजस्तो ठूलो संख्यामा नेपालीहरु कामविहीन भएनन् । सेवा क्षेत्रमा प्रभाव परेपनि अन्य क्षेत्रमा धेरै श्रमिकले खासै काम गुमाउनुपरेन ।चीनमा कोभिड-१९ फैलिने त्यसले विश्व तेल बजारमा ठूलो गिरावट आउने अनुमान थियो । तर, चीनले समयमै महामारी नियन्त्रणमा लिएपछि पनि खाडीका देशले ठूलो समस्या भोग्नुपरेन । जसले गर्दा त्यहाँ कामदार कटौति पूर्वानुमान गरिएभन्दा कम हुन पुग्यो ।

कोभिड-१९ पनि पछि नेपालीका प्रमुख श्रम गन्तब्य मुलुकमा ठूलो आर्थिक प्रभाव नपरेको र ती देशमा सेवा क्षेत्रबाहेक कृषि, औद्योगिक तथा ब्यापारिक क्षेत्र चलायमान हुन थालेको राष्ट्र बैंकका प्रवक्ता भट्ट बताउँछन् । त्यहाँ फेरि अर्थतन्त्र चल्मलाउन थालेकाले अनुमान गरिएभन्दा कम श्रमिकले काम गुमाएर स्वदेश फर्किने जस्तो अवस्था देखिएको उनको भनाइ छ ।‘लकडाउनपछि देशमा आयात घट्यो, आयात घटेपछि अवैध रुपमा आयातमा हुन्डीमार्फत प्रयोग हुने रकम पनि बैंकिङ च्यानलबाट नेपाल आएको हुनसक्छ,’ उनी भन्छन्,’अहिले हुन्डी प्रयोग गर्नेहरु पनि बैंकिङ च्यानलमा आउन बाध्य भएकाले पनि रेमिट्यान्समा कम प्रभाव देखिएको हुन सक्छ ।’

विदेशमा रहेका नेपालीसँग विदेशी मुद्रा लिएर हुने तस्करी पनि अहिले बन्दाबन्दीका कारण प्रभावित भएको अनुमान कतिपयको छ । सुन, लागूऔषधजस्ता अवैध तस्करीको भुक्तानीका लागि हुन्डीमार्फत उठाइने पैसा उपयोग हुन्छ । तर, विश्वब्यापी रुपमा लकडाउन गरिएपछि त्यस्तो तस्करी पनि घटेको छ ।त्यसैगरी खाडीबाट फर्किनेहरुले घर फर्किनुअघि जम्मा गरेको पैसा पनि पठाएको हुनाले रेमिट्यान्स आप्रवाह बढेको अनुमान छ । कतिपय नेपालीहरुले घरमा संकट परेका बेला आफूसँग भएको पैसा पठाएको प्रभाव पनि यसमा देखिएको हुनसक्ने राष्ट्र बैंकको अनुमान छ ।

‘विश्व बैंकले पनि सुरुमा कोभिड-१९का कारण विश्वभर नै रेमिट्यान्समा जुन किसिमको प्रभाव पर्ने पूर्वानुमान गरेको थियो, अहिले त्यसलाई संशोधन गरेको छ,’ उनी भन्छन्,’विदेशी श्रमिकमा भर पर्ने दशेमा अनुमान गरिएको जस्तो आर्थिक प्रभाव नपरेकाले यस्तो भएको हुनसक्छ ।’अब भविष्यमा रेमिट्यान्स कति घट्छ वा बढ्छ भन्ने अहिले अनुमान गर्न गाह्रो हुने प्रवक्ता भट्टले बताए । खाडी देश तथा मलेसियामा आर्थिक गतिविधि अघि बढ्दै जाने भएकाले रेमिट्यान्समा तत्कालै ठूलो प्रभाव नदेखिने आकलन राष्ट्र बैंकको छ ।तर, करिब ७ महिनादेखि विदेश जाने क्रम ठप्प भएको र रोजगारी गुमाएर फर्किने क्रम जारी रहेकाले त्यसको नकारात्मक असर एक वर्षभित्रै रेमिट्यान्समा प्रष्ट देखिने अर्थविदहरु बताउँछन् ।

-अनलाइन खबरबाट


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षामन्त्री पिट हेगसेथ (Pete Hegseth) ले इरानसँग जारी युद्धका क्रममा अमेरिकाको सैन्य खर्च अहिलेसम्म ३७.५ अर्ब अमेरिकी डलर पुगेको…

कुवेतको विद्युत्, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालय ले ऊर्जा तथा पानी आपूर्ति प्रणालीलाई स्थिर राख्न आपतकालीन प्रयास तीव्र बनाएको छ।…

अमेरिका–इरानबीच बढ्दो तनावका बीच अमेरिकाका B-1 Lancer रणनीतिक बमवर्षक विमानहरू बेलायतबाट मध्यपूर्वतर्फ प्रस्थान गरेको विभिन्न रिपोर्टहरूले जनाएका छन्। यी विमानहरू…

प्रतिकृयाहरू
...