Thursday 1st October 2026

‘कोभिड-१९ संक्रमणका कारण नेपाल बाहिर १८९ जना नेपालीहरुको निधन’


जीएनएन— कोरोना (कोभिड-१९) संक्रमणका कारण नेपाल बाहिर अहिलेसम्म १८९ जना नेपालीहरुको ज्यान गएको गैर आवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ।

संघको स्वास्थ्य समितिले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार नेपाल बाहिर विभिन्न मुलुकहरुमा बसोबास गर्ने १८९ जना र नेपालमा ५६ जना गरी २४५ जना नेपालीहरुको निधन भएको छ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण गत साता विश्वभर थप २८ जना नेपालीको ज्यान गएको संघले जनाएको छ । संघका अनुसार कोरोना संक्रमणका कारण भारतमा मात्रै अहिले सम्म २५ जना नेपालीको ज्यान गएको छ ।
एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाले भने, ‘अल इन्डिया इष्टिच्युट अफ मेडिकल साइन्सेज नयाँ दिल्लीमा कार्यरत डा. सागर पौडेलले दिएको जानकारी अनुसार भारतमा विभिन्न मितिमा ज्यान गुमाएका नेपालीको संख्या २५ पुगेको पुष्टि यो साता भएको हो । भारतको महाराष्ट्रमा रहेका नेपालीहरु बढी प्रभावित छन् ।’

यस्तै गत साता दक्षिण अफ्रिकामा पहिलो पटक एक नेपालीको मृत्यु भएको छ । यस्तै साउदी अरबमा दुई जनाको कोरोना संक्रमणकै कारण ज्यान गएको छ ।

लक्जेमबर्गमा ३५ नेपाली संक्रमित

यसैगरी युरोपेली मुलुक लक्जेमबर्गमा बसोबास गर्ने ३५ जना नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । एनआरएनए स्वास्थ्य समितिका अनुसार एक वैवाहिक वर्षगाँठमा सहभागीसहित ३५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये एक जनाको अवस्था गम्भीर छ ।

एनआरएनएका अनुसार अहिलेसम्म विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् । जापान, अमेरिका, भारत, रसिया, साउदी अरब, कतार लगायत मध्यपूर्वका केही देशमा रहेका नेपालीहरुमा अझै कोरोना भाइरसको संक्रमण रोकिएको छैन ।
यसैबीच नेपालमा पनि कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिएको छ । शनिबारसम्म नेपालमा २० हजार ८६ जनामा कोरोना संक्रमण देखिएको छ भने १४ हजार ४ सय ९२ जना कोरोना मुक्त भएका छन् ।
नेपालीलाई सचेत रहन आग्रह
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले विश्वभर कोरोना भाइरसको संक्रमणदर वृद्धि हुँदै गएपछि चिन्ता व्यक्त गरेको छ । समितिले स्पेन, बेल्जियम, बेलायत, अमेरिका लगायतका देशमा पुनः कोरोना भाइरसको संक्रमण वृद्धि हुन थालेपछि नेपाली समुदायलाई सचेत रहन आग्रह गरेको छ ।
समितिले कोरोना भाइरसको दोस्रो लहर सुरु हुनसक्ने सम्भावना बढ्दै गएको निष्कर्ष निकाल्दै सार्वजनिक यातायात तथा मानिसहरु भेला हुने अन्य स्थानमा मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गरेको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले अमेरिकी सेनाले इरानको नौसेना, वायुसेना, हवाई प्रतिरक्षा प्रणाली, सैन्य नेतृत्व तथा आणविक महत्वाकांक्षालाई गम्भीर रूपमा…

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

प्रतिकृयाहरू
...