Saturday 8th February 2025

४ महिनादेखि बन्द होटल तथा रेष्टुराँ खुले


तितोपाटी- कोरोनाका कारण ४ महिनादेखि बन्द तारे तथा पर्यटकीय होटल र रेष्टुँरा आजदेखि खुलेका छन्।

सरकारले कोरोना जोखिम न्यूनीकरणका लागि भन्दै चैत ११ गतेबाट लकडाउन जारी गरेसँगै बन्द होटल तथा रेष्टुँरा साउन १५ बाट खुलेका हुन्।

सरकारले केही दिन अगाडिमात्रै साउने १५ बाट होटल तथा रेष्टुँरा खोल्न दिने निर्णय गरेको थियो। यससँगै सबै सुरक्षा मापदन्ड लागू गर्दै होटल खुल्ला गरिएको एयरपोर्ट होटलका सञ्चालक तथा होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले जानकारी दिए।
सुरक्षित तवरबाट कोरोना संक्रमण फैलन नदिने गरी सेवा सुरु गर्ने उनको भनाइ छ।
सरकारले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०१९ मा मात्रै तारे र पर्यटकीय होटेलमा ३ हजार १ सय ४३ वटा बेड थपिएका छन्। नेपालमा सन् २०१८ मा तारे होटेलको कूल संख्या १२९ रहेकोमा २०१९ मा यो बढेर १३८ पुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।
सन् २०२० मा सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ नेपाल भ्रमण वर्ष घोषणा गरेको थियो। यसैलाई लक्षित गरी व्यवसायीले लगानी बढाएका थिए। त्यसैको प्रतिफलस्वरुप सन् २०१९ मा धेरै होटेल बनेका हुन्। सन् २०१८ मा पर्यटकस्तरीय होटेलको संख्या ११२५ रहेकोमा सन् २०१९ मा बढेर ११ सय ५१ पुगेका छन्। यसरी एक वर्ष अवधिमा थपिएका होटेलमा कुल ३ हजारभन्दा बढी बेड भएका छन्।
यसअघि सन् २०१८ मा बेड संख्या ४० हजार ८ सय ५६ थियो। होटेलमा दैनिक औसत ५० प्रतिशत कोठा भरिदाँमात्र सञ्चालन खर्च उठ्छ। तर, नेपालका होटेलले फागुनपछि नै पाहुना पाएका थिएनन्।
नेपालको होटेल उद्योगमा पछिल्लो समय करिब ८१ अर्बको नयाँ लगानी आएको छ। केही समय अगाडि नेपाल पर्यटन बोर्डले गरेको एक अध्ययन अनुसार नयाँ आएका २ सय ७१ वटा होटेलमा मात्र ८१ अर्ब ३ करोड रुपैयाँको लगानी देखिएको थियो। यो रकम बोर्डले होटेलले सर्भेमा उपलब्ध गराएको विवरणका आधारमा निकालेको हो। भ्रमण वर्षलाई लक्षित गरी १ खर्बभन्दा माथिको नयाँ लगानी आएको व्यवसायीहरु बताउँछन्। त्यसमध्ये कतिपय होटेल अहिले पनि निर्माणाधीन छन्। तिनकाे काम कोरोना महामारीसँगै रोकिएको छ।
व्यवसायीहरुका अनुसार अहिले होटेलले मात्र करिब १० लाख प्रत्यक्ष रोजगारी सिर्जना गरेको अनुमान छ।

नेपालको पर्यटन क्षेत्रमा होटल व्यवसायको एक प्रमुख स्थान छ। हालसम्म नेपालमा तारेस्तरका १३८ र पर्यटकस्तरका १ हजार १५१ गरी जम्मा १ हजार २ सय ८९ होटल छन्। ती होटलमा रहेको बेड संख्या ४४ हजारभन्दा बढी छ।
नेपाल होटल संघबाट प्राप्त तथ्यांकअनुसार नेपालमा यस व्यवसायमा करिब १४ खर्ब ३० अर्ब लगानी छ। होटल व्यवसायमा विभिन्न वाणिज्य बैंकहरुको ऋण लगानी १३ अर्ब ८७ करोड छ भने होटलले तिर्ने मासिक ब्याज ५४ करोड ४४ लाख रहेको छ।
यस व्यवसायमा कार्यरत मजदूरको मासिक रुपमा तलब सुविधा वापत ८५ करोड २२ लाख खर्च हुने गरेको तथ्यांक छ। नेपालमा घरबहालमा लिएर सञ्चालित भएका होटलहरूले मासिक रूपमा १९ करोड ५७ लाख घरभाडा तिर्ने गरेका छन्।
नेपालका होटलहरूको सन् २०१९ मा अकुपेन्सी ७५ प्रतिशत (पहिलो ८ महिनामा ७२ प्रतिशत, पछिल्लो ४ महिनामा ८० प्रतिशत) थियो। यस्तो अकुपेन्सी सन् २०१९ को जनवरीमा ५८ प्रतिशत, फेब्रुअरीमा २० प्रतिशत र मार्चमा ८२ प्रतिशत थियो। सन् २०२० को अवस्था हेर्दा जनवरीमा ५० प्रतिशत, फेब्रुअरीमा २० प्रतिशत र मार्च १५ सम्म २० प्रतिशतमात्र रहेको थियो।

निर्माणाधीन दर्जनौं ठूला होटलको लगानी जोखिममा
कोभिड-१९ का कारण सञ्चालनमा रहेका होटलहरुमा १ खर्ब लगानी जोखिममा रहेको आँकलन भइरहेका बेला निर्माणाधीन होटलहरु अझै समस्यामा पर्ने अवस्था देखिएको छ।
निर्माणका चरणमा पाँचतारे, चारतारेसहित डिलक्स रिसोर्टहरुमा सन् २०२० लाई केन्द्रित गरेर लगानी भएका थिए। अधिकांश होटलहरु सन् २०२१ को सुरुवात र सन् २०२० को मध्यसम्म ल्याउने तयारीमा थिए। नयाँ होटलहरुमा बैंकहरुको लगानी नै ४० अर्बभन्दा बढी रहेको छ।
नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउने र २० लाख पर्यटक भित्र्याउने लक्ष्य राख्दै निजी क्षेत्रलाई लगानी गर्न दुई वर्षअगाडि नै आह्वान गरेको थियो। सोही अनुसार साना र ठूला लगानीकर्ताले होटल क्षेत्रमा लगानी गरेका थिए। काठमाडौंसहित पोखरा, चितवन, भैरहवा, विराटनगर, नेपालगञ्ज क्षेत्रमा समेत सयौको संख्यामा होटलहरु निर्माणका चरणमा छन्। काठमाडौंमा अन्तिम चरणमा रहेको हायात प्यालेस गत अप्रिल महिनाबाटै सञ्चालनमा ल्याउने योजना थियो। तर कोभिड-१९ को असरबाट आगामी अक्टोबरसम्मका लागि लम्बिएको छ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा उद्योग विभागमा ४६ वटा होटल तथा रेष्टुराँ दर्ता भएका छन्। दर्ता भएका होटलको कुल लगानी ११ अर्ब ५६ करोड रुपैयाँ रहेको छ। यी होटलले कुल १९ सय ९३ जनालाई रोजगारी दिने उल्लेख गरेका छन्। दर्ता भएका होटलमध्ये ६ वटा ठूला आकार छन्, मझौला ३० वटा र साना १० वटा रहेका छन्। कुल होटलमध्ये ३८ वटा होटल शतप्रतिशत विदेशी लगानीका छन्।
होटल क्षेत्रमा अहिलेको बजार मूल्यअनुसार १० खर्ब लगानी रहेको अनुमान गरिएको छ।
चालु आर्थिक वर्षको आठ महिनासम्ममा होटलमा बैकिङ क्षेत्रको लगानी (कर्जा प्रवाह) १ खर्ब ६ अर्ब ९५ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा १७ दशमलव १ प्रतिशत अर्थात् १५ अर्ब ६५ करोड १६ लाख रुपैयाँले बढी हो।
यो अघिल्लो आवको सोही अवधिको तुलनामा १७ दशमलव १ प्रतिशतले बढी हो। गत आर्थिक वर्ष २०७५/७६सम्म होटलमा बैंकको लगानी ९१ अर्ब ३० करोड रुपैयाँ थियो। जुन आव २०७४/७५को भन्दा ३५ दशमलब १ प्रतिशत अर्थात् २३ अर्ब ७१ करोडले बढी भएको राष्ट्र बैंकको तथ्यांक छ।


सम्बन्धित शीर्षकहरु

ईजरायल विरुद्ध हावी बनेको अन्तराष्ट्रिय फौजदारी अदालतका विरुद्धमा राष्ट्रपति डोनाल्ड ट्रम्प खरो रुपमा उत्रिएका छन । उनले ईजरायली राष्ट्रपति बेन्जामिन…

उमा कता छौ? पानी ल्याउन कस्तो प्यास लागेको। गर्मी चढिसक्यो नि बाबू अब त। आमाले गिलासमा पानी ल्याइदिईन्। तपाईं त…

साहित्यिक पत्रकार , अग्रज साहित्यकार, जनमत राष्ट्रिय मासिकका प्रधानसम्पादक मोहन दुवाललाई पाल्पा साहित्य समाजले सहिद दिवसको अवसरमा पाल्पाको तानसेनमा सम्मान…

प्रतिकृयाहरू
...