Wednesday 1st May 2024

विदेशबाट आएका व्यक्तिले ‘होम क्वारेन्टाइन’मा बस्नुपर्ने


होम क्वारेन्टाइनका लागि मापदण्ड तोकियो, घरमा मापदण्ड नपुगे मात्रै सार्वजनिक क्वारेन्टाइनमा बसालिने

लकडाउन खुलेसँगै अब विदेशबाट आएका व्यक्तिले ‘होम क्वारेन्टाइन’मा बस्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम क्वारेन्टाइनसम्बन्धी मापदण्ड जारी गरेको छ । कोभिड–१९ प्रभावित देशहरूबाट नेपाली फर्किने क्रम जारी छ । नेपाल फर्किने व्यक्तिले अब १४ दिन होम क्वारेन्टाइनमै बस्नुपर्नेछ । त्यसका लागि सरकारले तोकेका मापदण्ड पालना गर्नुपर्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । यदि घरमा सरकारले तोकेको मापदण्ड पूरा नहुने भए सार्वजनिक क्वारेन्टाइनमा बस्नुपर्नेछ । त्यस्ता व्यक्तिका लागि स्थानीय सरकारले सार्वजनिक क्वारेन्टाइनको व्यवस्था गर्ने मापदण्डमा उल्लेख छ । होम क्वारेन्टाइनमा बस्नका लागि पनि सम्बन्धित स्थानीय सरकारको सहमति र प्रत्यक्ष निगरानी रहने जनाएको छ ।

होम क्वारेन्टाइनमा बस्दा हावा खेल्ने तथा पर्याप्त प्रकाश आउने छुट्टै कोठामा बस्ने व्यवस्था हुनुपर्छ । त्यस्तै, सकेसम्म स्नान घर र शौचालयको छुट्टै व्यवस्था मिलाउने र सामूहिक रूपमा प्रयोग गर्नुपर्ने अवस्था भएमा प्रयोगपछि राम्रोसँग सफा गरेपश्चात् मात्रै अन्य सदस्यले प्रयोग गर्ने व्यवस्था मिलाउनुपर्छ । ‘होम क्वारेन्टाइनमा बस्दा पनि अनुहारको टी क्षेत्र (आँखा, नाक र मुख)लाई अनावश्यक रूपमा छुनुहुँदैन,’ डा. अधिकारीले भने । होम क्वारेन्टाइनमा बसेका व्यक्तिले घरका सदस्य वा आफन्तसँग भेटघाट गर्दा दुई मिटरको दूरी अनिवार्य रूपमा कायम गर्नुपर्छ । त्यस्तै, अत्यावश्यक अवस्थामा बाहेक कसैसँग भेटघाट गर्नुहुँदैन । होम क्वारेन्टाइनमा बस्ने व्यक्ति र उनको परिवारका सदस्यले भेटघाट वा कुराकानी गर्दा अनिवार्य रूपमा मेडिकल मास्क वा तीन तहको कपडाको मास्क प्रयोग गर्नुपर्नेछ । कपडाको मास्क प्रयोग गर्दा प्रयोगपश्चात् धोएर राम्रोसँग सुकाएपछि मात्रै पुनः प्रयोग गर्नु उपयुक्त हुने डा. अधिकारीले बताए ।

होम क्वारेन्टाइनमा बस्दा अपनाउनुपर्ने आधारभूत मापदण्ड

– अनावश्यक वस्तु तथा सतहहरू नछुने ।

– अनुहारको टी क्षेत्र (आँखा, नाक र मुख)लाई अनावश्यक रूपमा नछुने । 

– खोक्दा वा हाछ्युँ गर्दा रुमाल वा टिस्युपेपरले मुख छोप्ने, यो सम्भव नभएमा कुहिनाले छोप्ने ।

– जथाभावी नथुक्ने ।

– सम्भव भएसम्म नोटभन्दा विद्युतीय कारोबार गर्ने । 

– प्रयोग गरिएका भाँडाहरू सुरक्षित रूपले सफा गर्ने र राम्रोसँग सुकेपछि मात्रै पुनः प्रयोग गर्ने ।

– हात धुने बेसिनहरू संक्रमणको स्रोत हुन सक्ने भएकाले दाँत माझ्ने ब्रसलगायतका सामानहरू राख्न छुट्टै बेसिनको प्रयोग गर्ने ।

– धेरै प्रयोग हुने चिजहरू जस्तै ढोका, मेसिनका ह्यान्डल, टेबल तथा अन्य सामग्रीहरू डिसइन्फेक्टन्ट प्रयोग गरी नियमित सफा गर्ने ।

– हात धुने साबुन र पानीको उचित व्यवस्था गर्ने र सबै सदस्यहरूले समय–समयमा साबुनपानीले कम्तीमा २० सेकेन्डसम्म मिचिमिची हात धुने ।

जोखिम समूहको सुरक्षा सम्बन्धमा

बढी जोखिममा रहने समूहहरू जस्तै दीर्घरोगीहरू (उच्च रक्तचाप, मुटु रोगी, दम वा श्वास–प्रश्वाससम्बन्धी समस्या, क्यान्सर, मिर्गाैला रोगलगायतका स्वास्थ्य समस्या भएका), ६० वर्षमाथिका ज्येष्ठ नागरिकहरू, गर्भवती तथा सुत्केरी महिलाहरूलाई सम्भावित संक्रमितको सम्पर्कबाट टाढा राख्ने र सम्भव भएसम्म छुट्टै कोठामा राख्नुपर्ने ।

बढी जोखिममा रहने समूहहरूको पोषण, औषधि, विशेष स्याहारलगायतका व्यवस्था परिवारका अन्य सदस्यहरूले गर्नुपर्ने ।

यस्तो भए स्वास्थ्यकर्मीलाई सम्पर्क गर्ने 

– ज्वरो र श्वास–प्रश्वासमा कठिनाइ भएमा ।
– ज्वरो र खोकी लागेमा ।
– छाती दुखेमा वा भारी महसुस भएमा ।
– अन्य कुनै जटिल अवस्था देखिएमा ।

-नयाँपत्रिका दैनिकबाट


सम्बन्धित शीर्षकहरु

उत्तराखण्ड सरकारले योगगुरु बाबा रामदेवको आयुर्वेद कम्पनी पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज गरेको छ । सरकारले सर्वोच्च अदालतलाई यस्तो बताएको…

बंगलादेशको उच्च अदालतले गर्मीका कारण सोमबार देशभरका विद्यालय बन्द गर्न आदेश दिएको छ । अदालतले आगामी आइतबारसम्म विद्यालय बन्द गर्न आदेश…

उत्तरी पेरुको पहाडी सडकबाट एउटा बस खाल्डोमा खस्दा कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएको स्थानीय…

प्रतिकृयाहरू
...