Sunday 21st June 2026

विदेशबाट १८ हजारको उद्धार, नेपालबाट साढे १२ हजार बाहिरिए


लकडाउनपछिको सय दिनमा २ सय ६१ अन्तर्राष्ट्रिय उडान

लकडाउनयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ २ सय १४ उडानमार्फत साढे ३० हजार यात्रुले सेवा लिएका छन् । लकडाउनको एक सय दिनसम्ममा विदेशमा अलपत्र १८ हजार १ सय ९७ नेपाली उद्धार उडानमार्फत नेपाल फर्किएका छन् । नेपालमा रोकिएका १२ हजार ४ सय ८ विदेशी नागरिक स्वदेश फर्किएका छन् ।

सरकारले असार २१ गतेसम्म आन्तरिक र अन्तर्राष्ट्रियतर्फका व्यावसायिक उडानलाई बन्द गरेको छ । यो बन्द आगामी साउन १७ सम्म पुर्‍याउने तयारी छ । चैत ९ गतेयता सातौँपटक निर्णय गर्दै सरकारले कोभिड–१९ संक्रमण नियन्त्रण गर्न भन्दै उडानमा रोक लगाउँदै आएको छ । विदेशमा अलपत्र नेपालीको उद्धार उडान भने जेठ ३२ गतेदेखि सुरु गरेको थियो । पहिलो चरणमा असार ११ सम्म २४ हजार नेपालीको उद्धार गर्ने भने तापनि हालसम्म १८ हजारको मात्रै उद्धार गरिएको छ । सरकारले असार १६ गतेबाट उद्धार गर्ने भने तापनि अहिले केही समय थप गरेर असार २६ सम्मका लागि पुर्‍याएको छ । सरकारले असार २६ सम्म २४ हजार नेपाली नेपाल ल्याउने योजना बनाएको छ ।

नेपाल सरकारले नियमितभन्दा झन्डै दोब्बर भाडामा चार्टर गर्ने तयारीपछि व्यापक आलोचना भएको थियो । आलोचनापछि सरकारले दुईपटक भाडा घटाएको थियो । हाल नेपालबाट नेपाल वायुसेवा निगमका ४ जहाज र हिमालय एयरलाइन्सका ३ जहाजमार्फत चार्टर उडान भइरहेको छ । यता विदेशी एयरलाइन्सहरूले पनि चार्टर गरिरहेका छन् ।

विभिन्न १७ मुलुकबाट नेपालीहरू उद्धार उडानमार्फत स्वदेश फर्किएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । कार्गोसहित लकडाउनमा २ सय ६१ चार्टर उडान भएका छन् । जसमा नेपाल वायुसेवा निगमका ९८, हिमालय एयरलाइन्सका ६२, बुद्ध एयरका ४ र श्री एयरलाइन्सका ६ उडान गरी १ सय ७० वटा चार्टर उडान विभिन्न मुलुकमा भएका छन् ।

विमानस्थलमार्फत एक सय दिनमा ४७ वटा कार्गो उडान भएका छन् । ४७ कार्गो उडानमार्फत ८ सय ९१ टन कार्गो नेपाल भित्रिएको छ । त्यसैगरी, ४ सय ४७ टन कार्गो बाहिरिएको छ ।लकडाउनको एक सय दिनमा आन्तरिक उद्धार उडानतर्फ ६१ हेलिकोप्टरका चार्टर उडान भएका छन् भने जहाजतर्फ पनि ६१ चार्टर उडान भएका छन् । त्यसैगरी, ३ सय ५ वटा उडान आन्तरिकतर्फको कार्गो उडान भएको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए ।

नयाँपत्रिका दैनिकबाट 


सम्बन्धित शीर्षकहरु

अमेरिकी उपराष्ट्रपति J. D. Vance ले इजरायली मन्त्रिपरिषद्का केही सदस्यहरूलाई सार्वजनिक रूपमा दिएको चेतावनी सामान्य कूटनीतिक टिप्पणी मात्र होइन, अमेरिका–इजरायल…

इरानले दिवंगत सर्वोच्च नेता Ayatollah Ali Khamenei को अन्त्येष्टि कार्यक्रम जुलाइ ४ देखि ९ सम्म सञ्चालन हुने घोषणा गरेको छ।…

युक्रेनले बिहीबार बिहान मस्कोको कपोत्न्या क्षेत्रमा रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण गरेको छ, जुन एक साताभित्र दोस्रो…

प्रतिकृयाहरू
...