सपना बोकेर
-राम भण्डारी
छुट्ने बेला आमाको हातले,
कपाल सुम्सुम्याउदै
बाबु “आफ्नो ख्याल गरेस है”भनेको ।
आफ्नो मुटु लाइ गाँठोपारी
आँसु पुछ्दै
प्राणप्यारीले हिक्क हिक्क गर्दै
हाम्रो पुन्टेको हात तानेको ।
ताजै छ मानसपटलमा,
देखुन्जेल बारीको डिलबाट हात हल्लाउँदै
“बा छिट्टै आउनुहोस् है” भन्दै गरेको ।
सपनीमा बर्बराउँछु रे
बृद्ध मेरी आमाको ख्यालमा
सम्झना मै डुबिरहन्छु आफ्नो गाउँ,
आफ्नै माटोको यादमा ।
हर प्रहर उनकै झझल्को, अनि हरेक दशैंमा
आमा “यसपाली टिका थाप्न आउला है” भनेको ।
समय पनि कति तन्कि तन्कि
कति लामो लामो भएको
उफ्! यो मरुभूमिमा मुटु छुने चिसो रातहरु
दिन अागोको फिलुङ्गा जस्तै ।
बितेर गए सारा जवानी अनि जोसहरु
यहिँ परदेशमै बस्दा बस्दै
सपना पनि राम्रो छैन मेरो
कोही आईरहन्छ कालो लामो केसमा
हुनसक्छ अनिष्ट निम्तिदै छ कि कसो यो
हाम्रै परिवेशमा ।
केहिदिनमै फर्किने निधो थियो,
सिमा नै थिएन खुसीको
मेरो खुशी क्षणभरमै मेटियो,
सुनेन पुकार यो दुःखीको ।
सुरु भैसकेछ त्यो अनिष्ट,
कोभिड-१९ भन्ने माहामारीको भेषमा
सुन्छु गाउँमा पनि कहर छ
ठुलो त्रास सहित समग्र प्यारो देशमा ।
हत्तारो छ टेक्न मेरो माटोमा,
जुटेर कोभिड बिरुद्ध सबैको साथमा
ईच्छा मेरीआमाको काखमा माथ राखी
पियारी समेत भै चुमेर पुन्टेको हातमा ।