कविता :”म पागल हुँ”
-बद्री न्याैपाने “बैरागी”
म पागल हुँ
जस्ले तिमीलाई वर्षौ देखी
माया गर्दै आएको छ
तिम्रो एकोहोरो मायामा डुब्दै
पौडिदै आज सम्म बाँचेको छ
तिमी सँग बिताएका केही
तिता मिठा पलहरु बाँच्नको लागि
औषधिको रूपमा प्रयोग गर्ने
म पागल हु !!
तिमीले सधैं जसो बोलाउने
“ओए पागल”
भन्ने शब्द भित्र तिम्रो लागि
हाम्रो मायाको कैयौ
किताबहरु लेखेको छु
जुन तिमीले पढ्न छुटायौ
र त्यही पागल शब्दमा स्थिर भयौ
मैले चाहेर पनि तिमीलाई त्यो
किताब पढाउन सकिन
किन की
म पागल हु !!
मैले इमान्दारीको हिफाजत गरी रहँदा
“म झुक्दै नझुक्ने नेपालको छोरो”
नाराहरुमा, मेरो इमानमा
तिमी र देश उत्तिकै पुजेको हूँ
साह्रै डर लागि रहयो
के बिक्री हुन्छ ?
किताब या मेरो इमान र बहादुरी?
म पागल हुँ
किनकी सिमानामा मैले
आँगन गुमाएको पत्तै पाइन
जुन आँगनमा बसेर मेरा
पद चाप महसुस गर्ने हृदय
र क्षितिज नियाल्ने तिम्रा नजर
अडेको एउटा सानो स्वर्ग
लिपुलेक, लिम्पियाधुरा र कालापानी
जस्तै बनेकी छौ
जो आफ्नो भएर पनि मैले गर्बका साथ
मेरो हो भन्न सक्दैन
किन कि
म पागल हु !!