Friday 10th January 2025

के छ खबर परदेशीको ?


तितोपाटी- विश्वका १८६ देश पुगिसकेको कोरोना भाइरसले विश्वलाई चिन्तित बनाएको छ । नेपालमा अहिलेसम्म यो रोगको संक्रमण देखिएको छैन ।

तर, विदेशमा संक्रमण फैलिँदा त्यहाँ रहेका नेपालीको स्वास्थ्यको विषयमा देशमा चिन्ता बढेको छ । परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय र गैरआवासीय नेपाली संघ (एनआरएनए) को तथ्यांकअनुसार भारतमा १५ लाख र तेस्रो मुलुकमा ३५ लाख नेपाली छन् ।परदेशिएका नेपाली उच्च शिक्षा र रोजगारीमा सक्रिय मात्र छैनन्, वर्षमा नौ खर्ब रेमिट्यान्स पठाएर जन्मभूमिको अर्थतन्त्र धानेका छन् । गत आर्थिक वर्ष उनीहरूले आठ खर्ब ७९ अर्ब रेमिट्यान्स पठाएका थिए । यो अभूतपूर्व विपत्मा तिनको अवस्था के छ ? देशले सोध्ने वेला भएको छ ।विदेशमा हालसम्म चार नेपालीलाई कोरोना पोजेटिभ देखिएको छ । अस्ट्रेलिया र बहराइनमा एक–एक तथा संयुक्त अरब इमिरेट्स (युएई) मा दुईजनामा देखिएको हो । परराष्ट्र मन्त्रालयका अनुसार अस्ट्रेलियामा संक्रमित भएका उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

बहराइनमा संक्रमितलाई त्यहाँको सरकारले आइसोलेसनमा राखेर उपचार गरेको छ । युएईमा पनि २० र २३ वर्षका दुई नेपाली युवाको उपचार भइरहेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले भने, ‘यीबाहेक अरू देशमा नेपालीलाई कोरोना भाइरसको संक्रमण देखिएको जानकारी नेपाल सरकारलाई प्राप्त भएको छैन ।’पछिल्ला दिन कोरोना संक्रमणले युरोपको इटाली सबैभन्दा बढी प्रभावित भएको छ । इटालीमा करिब पाँच हजार नेपाली छन् । तर, त्यहाँ नेपाली सुरक्षित रहेको पौड्यालले बताए । एनआरएनएका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हेमन्त दवाडीका अनुसार इटालीको उत्तरी भेगका मिलान र लम्बाडी सहरमा नेपालीको बसोवास छ ।
कोरोना भाइरसको संक्रमण पनि त्यही क्षेत्रमा बढी देखिएको छ । अधिकांश नेपाली होटेल, रेस्टुरेन्ट क्षेत्रमा कार्यरत छन् । तर, युरोपमा नेपालीको बसोवास निश्चित भेगमा मात्र सीमित नरहेको दवाडीले बताए ।‘एउटा ठाउँमा भनेर गएका नेपाली युरोपका अर्को ठाउँमा बसेर काम वा व्यापार व्यवसाय गरेका छन् । तर, जहाँ रहे पनि एनआरएनएको समन्वयमै छन्,’ उनले भने ।बेल्जियममा पनि अहिलेसम्म नेपालीमा संक्रमण नदेखिएको रिपोर्ट छ । युरोपियन युनियन एवं बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापाले बेल्जियममा अहिलेसम्म नेपालीमा संक्रमण नदेखिएको बताए ।
‘दूतावास नेपालीको सम्पर्कमा रहेको र अवस्था सामान्य रहेको पाइएको उनले बताए । परराष्ट्र मन्त्रालयको युरोप–अमेरिका डिभिजनले त्यहाँका नेपाली समुदाय र सम्बद्ध सरकारसँग समन्वय गर्न दूतावासहरूलाई निर्देशन दिएको छ ।
सरकारले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाउँदै आफ्ना नागरिकलाई हाल भएकै स्थानमा रहन भनेको छ । प्रधानमन्त्री केपी ओलीले आवश्यक परे सम्बन्धित मुलुकको दूतावाससँग सम्पर्क गर्न आह्वान गरिसकेका छन् । परराष्ट्रको मध्य–पश्चिम एसिया तथा अफ्रिका डिभिजनसम्बद्ध अधिकारीका अनुसार भिसाको म्याद सकिएर अप्ठ्यारोमा परेको गुनासो आएको छैन ।
खाडी मुलुकमा कार्यरत नेपालीलाई सम्बन्धित कम्पनीले नै सरकारी नीति कार्यान्वयन गर्न सहयोग गरिरहेका छन् । समस्यामा देखिएमा नेपालीलाई सम्बन्धित सरकारसँग समन्वय गरेर सहयोग गर्न परराष्ट्र मन्त्रालयले दूतावासहरूलाई निर्देशन दिएको छ । उडान प्रतिबन्ध लागेको अवस्थामा नेपालीले सम्बन्धित देशमा सुरक्षित रूपमा बस्नुपर्नेबाहेक अरू विकल्प नभएको परराष्ट्रका अधिकारीको भनाइ छ ।
अमेरिका र अस्ट्रेलियामा नेपाली विद्यार्थी समस्यामा पर्न सक्ने सरकारको बुझाइ छ । भिसा अवधि सकिएकाको हकमा समस्या नपर्ने गरी व्यवस्थापन गर्न लागेको अस्ट्रेलियाको क्यानबेरास्थित नेपाली दूतावासका उपनियोग प्रमुख दुर्पदा सापकोटाले बताइन् ।
‘हामीले सम्बन्धित सरकारी अधिकारीहरूसँग कुराकानी गरेका छौँ । उनीहरूले भिसा अवधि सकिएकाका लागि पनि अवधि लम्ब्याइदिन्छौँ भनेर आश्वस्त पारेका छन् । नेपालीलाई समस्या हुँदैन भन्नेमा विश्वस्त छौँ,’ सापकोटाले भनिन्, ‘नेपाली विद्यार्थीले स्वदेश फर्किने इच्छा व्यक्त गर्दै दूतावासमा सम्पर्क गरेको तर त्यो संख्या न्यून रहेको पनि सापकोटाको भनाइ छ । उनले थपिन्, ‘अहिलेसम्म यहाँको नेपाली समुदाय सुरक्षित छ ।’
वैदेशिक रोजगार विभागका अनुसार चीन, इटाली, जापान, दक्षिण कोरिया, फ्रान्सका लागि पछिल्लो चार वर्षमा १७ हजार नेपालीले श्रम स्वीकृति लिएका छन् । चीनका लागि एक हजार एक सय ६६, दक्षिण कोरियाका लागि चार सय १२, इरानका लागि २३ र इटालीका लागि एक सय १८ ले श्रम स्वीकृति लिएका छन् ।
त्यस्तै, जापानका लागि ११ हजार एक सय दुई, फ्रान्स ९०, अमेरिका एक हजार चार सय ४९, हङकङ आठ सय १७, थाइल्यान्ड एक सय ३४, अस्ट्रेलिया चार सय ५१ र फिलिपिन्सका लागि १७ जनाले श्रम स्वीकृति लिएका छन् ।-साभार आजको नयाँ पत्रिकाबाट


सम्बन्धित शीर्षकहरु

च्याट जीपीटी निर्माता ओपनएआईका सीईओ साम अल्टम्यानलाई उनकी बहिनीले यौन शोषणको आरोप लगाएकी छन्। यस मामिलामा सामकी बहिनी एन ओल्टम्यानले…

कुवेत: कुवेतले HH अमिर शेख मेसल अल-अहमद अल-जाबेर अल-सबाहको निर्देशनद्वारा निर्देशित महिला सशक्तिकरणको लागि आफ्नो प्रतिबद्धतालाई सुदृढ गर्दै 2024 को…

नेपाल सरकार ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ९ बुँदे स्पष्टीकरण सोध्दै उनलाई पदबाट हटाउने कसरत शुरू…

प्रतिकृयाहरू
...