तोयानाथ उपेक्षित – काम पाईनस बुढी पोख्दै उठाउदै भने झै नेपालका नेताहरु पुनः सत्ताको वरिपरी रोएर बसेका छन । कसरी ओली सरकार ढाल्ने र अर्को नेतालाई सत्तारोहण गर्ने भन्ने राजनैतिक जुवाको खाल कहिले बालुवाटार त कहिले खुमलटार अनि कहिले सानेपामा शुरु भएको छ । कोही सत्ता पाएर मात्तिएका छन कोही नपाएर आत्तिएका छन । विचरा कांग्रेसले बोल्नै परेको छैन । उनीहरुको भाषा बोल्ने नेकपामा धेरै जोशिला नेताहरु जन्मिएका छन ।
यस्तो लाग्छ यिनीहरुलाई सत्ता भन्दा अरु कुनै कुराको पर्वाह नै छैन । विश्व कोरोनाले आक्रान्त छ । संसारभरी छरिएर तिनलाई रेमिटेन्स पठाउने नेपालीहरु हतास मनस्थितीमा छन । सवै देशको ध्यान ज्यानमारा महामारीलाई कसरी तह लगाउने र आफ्नो देशमा छिर्न बाट रोक्ने भन्नेमा छ तर हाम्रा गफास्टी नेताहरुको फिक्री सत्ताकै मात्र छ । आफै आफैमा गाड कोराकोर गरेर बसेका छन । एकले अर्कोलाई कसरी पछार्ने भनेर पासो थापेर हिडेका छन । यस्तो तमासा अन्त कहि शायदै होला ।
सर्पले समातेर आधा निलिसकेको भ्यागुत्ताले सामन्नेमा आएका फट्यांग्रा र झिंगालाई जिब्राले ताने झै यिनले सत्ता भने पछि अर्काले सिद्धयाउन लागेको पनि थाहा नपाउने रहेछन । आशाराम बापु र रामरहिमले सन्यासको भेषमा कन्याको शिकार गरे जस्तै यिनले जनतको नाममा राष्ट्रको दोहन गर्न कोहि आए पनि नचुक्ने रहेछन । ओली बा अपुत्रो मान्छे केही गर्लान भन्ने थियो तर कुपुत्रहरु पालेर उनी पनि दुर्गन्धित भईसके अब । विष्णु पौडेल र गोकुलको कारण उनको आदर्श च्युत भईसकेको छ । राष्ट्रियताको अडानबाट आफ्नो जीवनको उत्तरार्धमा उनले बनाएको कद अहिले कायम छैन । साधुलाई चौतारो भने झै अव उनलाई आराम गर्ने बाटो उनकै मानिसहरुले देखाई दिएका छन ।
सत्ताको लुछाचुडी छाडेर कोरोनाको व्यवस्थापन र नियन्त्रणमा यिनको ध्यान गएन भने जनताले यसरी सराप्ने दिन आउनेछ त्यो कोरोनाले तिनलाई नै पहिले लैजाओस भनेर सराप्ने छन । हो बास्तवमा कहि नभएको जात्रा हाँडीगाउ भने झै नेपाल बाहिरबाट हेर्ने नेपालीहरुलाई उनीहरुको दिनचर्या देखेर उदेग लाग्न थालेको छ । मंगोलियाका राष्ट्रपतिले एक दिन चिनको भ्रमण गर्दा आफै १४ दिने क्वारेन्टाईनमा बसेका छन । ईरानबाट मध्यपूर्वमा पसेको भाईरस बहराईनमा ३३ नाघेको छ । कुवेतमा ४५ पुगेको छ , ओमनमा ६, कतार मा १, युएईमा ११ पुगिसकेको छ । यसको नियन्त्रणका लागि यी देशहरु समेत अतालिएका छन । तर उनीहरुले विश्वभर रहेका आफ्ना नागरिकहरुलाई स्वदेशमा ओसारेर चेक जाँच गर्दै क्वारेन्टाईन पठाईरहेका छन तर नेपाल सत्तामा जुझिरहेको छ । बहुमतको सरकारलाई यस्तो घिन लाग्दो तमासा गर्न सुहाउछ ? दुनिया हसाउदैछन कम्युनिष्टहरुले । गिरिजा सरकारलाई बहुमत नफापेर फुटे जस्तै यीनले पनि विडो थाम्ने हुन की भन्ने संकेत देखाउन थालेका छन तर यो तमासा गर्ने बेला पटक्कै होईन ।
चीनबाट शुरु भएको कोरोनाले अहिले ५४ देश लाई गाजिसकेको छ । नेपाल झनै यसको उच्च जोखिममा छ भनेर अन्तर्राष्ट्रिय स्वास्थ्य संगठनले चेतावनी दिईरहदा समेत नेपालको विमानस्थलमा लापर्वाही भईरहेको समाचार आएका छन । भ्रमण वर्षमा अरबौ उडाईसकेको नेपालले बल्ल आज आएर अहमता र जिद्धी छाडेको छ तर यो पर्याप्त छैन । विश्वलाई दिएको निमन्त्रणले कोरोनाको स्वागत गरिरहेको देखिन्छ । यहाँ सम्मकी सन २००९ पछि को संसारको मन्दी यो बर्ष हुदैछ । विश्वको आर्थिक बृद्धिदर २ दशमलब ८ प्रतिशत को हुने अनुमान हुदैछ । यस्तो विश्व अर्थव्यवस्थाको विसम् परिस्थितीमा कोरोनाबाट मात्र मुलुक जोगाउन सके यो भ्रमण वर्षलाई अर्को उपलब्धी ठानेर चित्त बुझाउन सकिन्थ्यो तर हाम्रा नेताहरुले देश चलाउने योग्यता र त्याग पटक्कै देखाएनन ।
अब कोरोनाको कारण वैदेशिक रोगजारीमा गएकाहरुको स्वास्थ्य अवस्था त जोखिमपुर्ण छ नै । उनीहरुले यस्तो घिन लाग्दो राजनितीमा फसेको सरकार सँग के पो आशा गर्छन होला ? कमसेकम आफै बच र देशलाई बचाओ भन्ने आग्रह गर्लान त्यो पनि कसैले सुन्लान भनेर होईन बस आत्मा सन्तुष्टिका लागि ।
नेकपामा सत्ताका लागि माधब नेपाल र झलानाथ पनि अहिले जागेको अवस्था छ । एमसीसीले एक प्रकारले एमाले फुटाई सकेको अवस्था छ । यति ले सरकारको मति विगारयो । रतिले महरा को राजनिती खाई दियो । बालुवाटारको माटोमा विष्णुको सराप परयो । एमसीसीले पूर्व माओवादी नेताहरु पनि खेल्न थाले । भिम रावलहरुको अर्को गुट जम्मियो । बामदेवको सत्तारोहणको मृगतृष्णले पार्टी एकिकरण मा भाडभैलो मच्चियो । एककिरण भनेर थाकेका नेताहरुको मनमा भएको गुटगत ध्रुबीकरणले भनिरहेको छ की यिनीहरुमा चेत कहिले पनि नआउने रहेछ । “सिआइए” र “रअ” ले यिनीहरुमा खेल्न थालेको छ । सुविधाजनक बहुमतको सरकारका प्रम ओलीले मृगौला ढुक्कले र्फेर्न पाउने अवस्था समेत रहेन । यहाँ नैतिकता र मानवियता दुवै नभएको राजनिती शुरु भो । टालेर र टारेर टर्न सक्ने हो वा होईन त्यो त हेर्न बाकी छ तर नेकपालाई पनि सत्ताको अमत्याई चाही लागेको देखिंदैछ । सर्वसाधारणले बुझ्ने गरी यिनीहरुले जनताको विश्वासलाई अपमान गरिरहेका छन । मुलुकको चिन्ता गर्ने सवैले गंभिर भएर सोच्ने बेला भएको छ ।